साप्ताहिक संवाददाता
फेसबुकले संसारलाई एक आपसमा जोड्ने मात्र होइन, अब कुनै पनि स्थानमा लेनदेन सहज बनाउन डिजिटल मुद्रा ‘लिब्रा’ सार्वजनिक गर्दैछ । फेसबुकले अर्को वर्ष उक्त मुद्राको कारोबार प्रारम्भ गर्ने योजना सार्वजनिक गरेको छ । फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन् ।
मानिसले पैसाको बचत, लेनदेन एवं खर्च मोबाइलमा म्यासेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूले चाहेको फेसबुकले बताएको छ । कुनै पनि सामान किनबेच गर्दा र एक अर्कासँग लेनदेन गर्दा लिब्रा प्रयोग गर्न सकिनेछ । यद्यपि यसले वैधानिकता प्राप्त गर्न अझै बाँकी छ र त्यसमा विभिन्न कठिनाइ पनि छन् । यसभन्दा अघि डिजिटल भुक्तानीका लागि बिटक्वाइनले निकै चर्चा पाएको थियो, तर विभिन्न कठिनाइ र वैधानिकताका कारण बिटक्वाइन आमप्रयोगमा आउन सकेको छैन । लिब्रा भने दैनिक जीवनमा प्रयोग गर्न सकिने धेरैको अनुमान छ ।
के हो लिब्रा ?
लिब्रा फेसबुकको डिजिटल मुद्रा वा क्रिप्टो करेन्सी हो । यो विश्वका सबै स्थानमा सहज तरिकाले मानिसहरूबीच एक–अर्कासँग कारोबार गर्न सकिने मुद्रा हो । यसका लागि स्थायी रूपमा पेमेन्ट नेटवर्क निर्माण गर्नुपर्ने हुन्छ भने त्यसका लागि विभिन्न कम्पनी फेसबुकसँग जोडिनुपर्छ ।
कसरी बन्छ बजार ?
हामीले प्रयोग गरिरहेको ई–सेवा, खल्ती, भिसा कार्ड जस्तै लिब्रामार्फत पनि एक–अर्कासँग कारोबार गर्न सकिन्छ । यसले मोबाइल पेमेन्ट जस्तै कार्य गर्ने बताइएको छ । यसबाट मानिसले बैंक पुगिरहनुपर्ने
आवश्यकता हुनेछैन ।
फाइदा के ?
यदि कुनै ब्यक्ति अर्को देशमा जान्छ वा अर्को देशबाट उसको पैसा आउँछ भने विदेशी मुद्रा परिवर्तन गर्नुपर्ने हुन्छ, तर लिब्रामा मुद्रा परिवर्तन गर्नुपर्ने छैन । यसलाई फेसबुक चल्ने जुनसुकै देशमा सहज रुपमा चलाउन सकिनेछ ।
भुक्तानी शुल्कको समस्या
लिब्रालाई व्यवहारिक रूपमा लागू गराउन भुक्तानी शुल्क निर्धारण गर्नु आवश्यक हुन्छ । अर्को देशको मुद्रा परिवर्तन गर्दा कति भुक्तानी शुल्क लिने भन्ने कुरा विश्व बैंकले निर्धारण गर्नुपर्छ । यसमा लिब्राको शुल्क कति हुने र कसरी भुक्तानी गर्ने अझै तय भएको छैन, तैपनि फेसुबकले उक्त शुल्क एकदमै कम अर्थात नभए बराबर हुने बताएको छ ।
लक्ष्यमा भारत र अफ्रिकी देश
फेसबुकले लिब्रा प्रयोगका लागि विशेष गरी भारत जस्तो धेरै जनसंख्या भएको तथा पिछडिएका अफ्रिकी देशहरूमा ध्यान केन्द्रीत गरेको छ । अफ्रिकी देशहरूमा परम्परागत बैंक खाताको तुलनामा मोबाइल अनलाइन वा एपको प्रयोग बढी भैरहेको छ । त्यसैले अफ्रिकी मुलुकहरू लिब्राका लागि उपयुक्त मानिएका छन् । त्यसैगरी भारतको जनसंख्या निकै धेरै छ, तर भारतले क्रिप्टो करेन्सीलाई मान्यता दिएको छैन ।
वैधानिकताको प्रश्न
लिब्राको प्रयोगबाट देश–विदेशमा भुक्तानी सहज हुने भए पनि यसको वैधानिकता र स्थिरताका बारेमा भने व्यवसायीहरूमा समेत अन्यौल छ । हाल कुनै पनि क्रिप्टो करेन्सीलाई कुनै पनि देशको केन्द्रीय बैंकले मान्यता दिएको छैन, तैपनि आफ्नो ठूलो प्लेटफर्म र ब्रान्डप्रति फेसबुकलाई पूर्ण भरोसा छ । त्यसैले फेसबुक आगामी दिनमा लिब्रालाई व्यवहारिक रूपमा प्रयोग गर्न सकिने कुरामा ढुक्क देखिन्छ ।
के हो क्रिप्टो करेन्सी ?
क्रिप्टो करेन्सी एक प्रकारको डिजिटल मुद्रा हो । यसलाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमार्फत लेनदेन गर्न सकिन्छ । यसलाई देख्न नसकिने तर अनुभव गर्न सकिने भएकाले आभासी मुद्रा पनि भनिन्छ ।