साप्ताहिक संवाददाता
सन् २०१९ को पहिलो ६ महिना बितिसकेको छ । बलिउडमा प्रदर्शन हुने चलचित्रको व्यापारको दृष्टिकोणले बितेका ६ महिनालाई दशककै उत्कृष्ट पहिलो ६ महिना मानिएको छ । यो अवधिमा बलिउडका ६ वटा चलचित्र सय करोड क्लबमा इन्ट्री भए । ती सय करोड क्लब चलचित्रको औसत व्यापार लगभग अढाई सय करोड रुपैयाँभन्दा बढी रहेको छ ।
उरी : द सर्जिकल स्ट्राइक
वर्ष २०१९ को पहिलो सुपरहिट चलचित्र उरी : द सर्जिकल स्ट्राइकले ४ सय करोडरुपैयाँ बराबरको कारोबार गर्यो । विक्की कौशल तथा यामी गौतम अभिनीत यो चलचित्र भारतीय सेनाद्वारा पाकिस्तान नियन्त्रित काश्मिरमा गरिएको सर्जिकल स्ट्राइकको कथामा आधारित छ ।
कबिर सिंह
साहिद कपुर तथा कियारा आडवाणीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र कबिर सिंह पछिल्लो ६ महिनाकै उत्कृष्ट चलचित्रमा दरिएको छ । बक्स अफिसमा सवा ३ सय करोडभन्दा बढीको व्यापार गरिसकेको यो चलचित्र तेलुगु चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक हो ।
भारत
सलमान खान तथा क्याट्रिना कैफ अभिनीत भारत इदको अवसरमा प्रदर्शन भएको थियो । यो चलचित्रले हालसम्म सवा ३ सय करोड रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । चलचित्र निर्माणको लागत उच्च रहेकाले कतिपय समीक्षकले यो चलचित्रको व्यापारलाई औसत मानेका छन् ।
केसरी : द ब्याटल अफ सारागढी
अक्षयकुमारको मुख्य भूमिका रहेको यो चलचित्र तत्कालीन पन्जाबको सारागढी किल्ला बचाउन २१ जना सिख सैनिकले १० हजारभन्दा बढी अफगान सैनिकसँग गरेको प्रतिकारको कथामा आधारित छ । यो चलचित्रले २ सय ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
टोटल धमाल
अनिल कपुर, अजय देवगन तथा माधुरी दीक्षितद्वारा अभिनित कमेडी जनराको टोटल धमालले समालोचकहरूको नकारात्मक टिप्पणीका बावजुद २ सय ५० करोड रुपैयाँजतिको व्यापार गरेर सबैलाई चकित तुल्याएको थियो ।
गली ब्वाय
जोया अख्तरले निर्देशन गरेको चलचित्र गलीब्वायमा रणविर सिंह तथा आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । चलचित्र गली ब्वायले चलचित्र समीक्षक एवं दर्शक सबैबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो । यो चलचित्रले सवा २ सय करोड रुपैयाँ बराबरको व्यापार गरेको बताइन्छ ।