भीमबहादुर दाइको जन्मजयन्ती यसै साता परेको थियो । नीतिका ढुंगानाले फेसबुकमा नलेखेको भए धेरैले थाहा पाउने थिएनन् यो कुरा । कांग्रेस पार्टीले त यो कुरा थाहै पाएन । अचेल कांग्रेसका संचालकहरूको सम्झनाबाट मूल्य, मान्यता र आदर्शका कुरा हट्दै गएका छन् । भीमबहादुर तामाङ मूल्य–मान्यता र आदर्शका प्रतीक थिए । भीमबहादुर दाइसँग २०२६ सालको जाडो मौसममा जनकपुरधामको ब्रह्मपुरीमा भेट हुँदा नेपालको प्रजातान्त्रिक राजनीतिमा उनी एक प्रकारको मिथक बनिसकेका थिए । त्यतिबेलाको युवापुस्ताले उनलाई गुरिल्ला युद्धका जानकारका रूपमा चिन्थ्यो । सधैं सामान्य पहिरनमा देखिने भीमबहादुर दाइको काँधमा एउटा झोला हुन्थ्यो । चे ग्वेभारा र फिडेल कास्क्रोका त्रान्तिको मोहनीमा लट्टू भएका हामी केटाहरूका लागि बोलिभियाको जंगलबाट चेले नेतृत्व गरेको क्रान्तिकथाको विवरण दिन्थे भीमबहादुर दाइ ।
चिनजानसँगै म घनिष्ठ भएको थिएँ भीमबहादुर दाइसँग । एक दिन उहाँले आफ्नो झोलाबाट चे ग्वेभाराको डायरी र रेगिस देब्रेको पुस्तक ‘रेभोल्युसन अफ दि रेभोल्युसन’ झिकेर देखाएका थिए । उनले मलाई चे ग्वेभाराको डायरी पढ्न दिएपछि म गद्गद भएको थिएँ । त्यो पुस्तक मैले अत्यन्त लगावका साथ, त्यहाँ प्रयोग भएका अंग्रेजी शब्दहरूको भार्गव डिक्सनरीमा अर्थ खोजी–खोजी पढेको थिएँ । रेगिस देब्रेको पुस्तक पढ्ने आँट आएन । फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद गरिएको त्यो राजनीतिक–दर्शनको पुस्तक मेरा लागि हाडे ओखरसरह भएको थियो । झन्डै दुई दशकपछि मात्र मैले त्यो पुस्तक बुझेर पढें ।
अजीवका थिए भीमबहादुर दाइ । हामी दुवैका प्रेरक पुरुष एकै हुनुहुन्थ्यो– सहिद सरोजप्रसाद कोइराला । नेपाल विद्यार्थी संघ गठनको सिलसिलामा दमन ढुंगाना र स्वर्गीय शंकर घिमिरेले मलाई जनकपुर पठाएका थिए । त्यतिबेला काठमाडौं आन्दोलित थियो । म भर्खर जेलबाट छुटेको थिएँ । जनकपुर मेरा लागि नयाँ ठाउँ थियो । भारतीय रेलको बाटोबाट मात्र पुगिन्थ्यो त्यहाँ । सुवर्णशमशेरले सुरु गर्नुभएको राजालाई सहयोग गर्ने अभियानअन्तर्गत ०१७ सालपछि भारतमा निर्वासित कांग्रेसजनहरू स्वदेश फर्कंदै थिए । त्यही क्रमको पछिल्लो लटमा सरोज कोइराला पनि स्वदेश फर्कनुभएको थियो ।
सरोज कोइरालाको क्रियाशील राजनीतिक जीवनका अभिन्न सहयोगी थिए भीमबहादुर दाइ । उनले कति पढेका थिए र परिवार कहाँ थियो ? त्यो हामीलाई थाहा थिएन । भीमबहादुर दाइ भनेपछि भीमबहादुर दाइ । त्यही क्रममा सरोज कोइरालाले स्थानीय जन–आकांक्षा साप्ताहिक पत्रिकालाई प्रजातान्त्रिक आन्दोलनको मुखपत्रका रूपमा सञ्चालन गर्ने योजना बनाउनुभयो । त्यसका लागि म खटिएँ प्रधान सम्पादक माधव आचार्यलाई सघाउन । भीमबहादुर दाइ त्यतिबेला जनकपुरमै थिए । उनले हामीलाई पत्रिकाको ले–आउटको आधारभूत ज्ञान दिए । पत्रिका निस्कियो । त्यसको खास हैसियत र लक्ष्य देखियो । जनकपुरधामको सानो ट्रेडिल प्रेसबाट निस्किएको पत्रिका जति राम्रो हुन सक्थ्यो त्यति भयो, तर त्यसले नियमित हुन पाएन । प्रशासनिक कोपको सिकार भयो जन–आकांक्षा ।
त्यसफछि राजनीतिक क्रियाशीलताका त्रममा धेरै हुनु नपर्ने घटना भए । सरोज कोइरालाको हत्या भयो । कांग्रेसले सशस्क्र त्रान्ति सुरु गर्यो । प्रजातान्त्रिक राजनीति अँध्यारो खाडलतर्फ धकेलियो । भीमबहादुर दाइ हराए । त्यो कालखण्डमा मेरो उनीसँग गौशालामा भेट भयो । गोधूलि साँझको समय थियो । उही स्वाभाविक भीमबहादुर दाइ । शिरमा कालो टोपी । उही पहिरन र काँधमा उस्तै झोला । बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर काठमाडौं आउने अघिल्लो दिन । भीमबहादुर दाइ भूमिगत थिए – पुलिसको लिस्टमा मोस्ट वारेन्टेड पर्सन । हामीले हतार–हतार चिया पियौं । हतार–हतार थोरै कुरा गर्यौं । त्यसपछि उनी हराए ।
बीपी फर्किइसक्नुभएपछि भीमबहादुर दाइसँग नियमितजस्तै भेट हुन थाल्यो । जनमत–संग्रहका बेला बीपी राजनीतिक बहसमा सक्रिय हुँदा भीमबहादुर दाइ जयवागेश्वरीस्थित कोइराला निवासमा फूल गोडिरहेका देखिन्थे । उनलाई यी बहसहरूमा मानौं कि कुनै चासो नै थिएन । मानिसहरू आउने–जाने गरिरहेका हुन्थे । उनी फूलसँगै मस्त हुन्थे । फूलको स्याहार–सम्भार र गोडमेल उनको सबैभन्दा रुचिकर विषय थियो । अलिकति माटो पायो कि खोस्रिएर गोडमेल गरिहाल्ने । आफूले गर्न लागेको काममा यतिविघ्न एकाग्र मानिस निकै थोरै देखेको छु ।
भीमबहादुर दाइको व्यक्तित्व निकै रहस्यमय थियो धेरैका लागि । उनको निजी जीवनका बारेका थाहा पाउने मानिसको संख्या पक्कै पनि कम थियो । उनको निजी जीवनका बारेमा थाहा पाउनैपर्ने त्यस्तो खास कुरा केही थिएन । एउटा सरल र सहज जीवन, जसका आवश्यकताहरू अत्यन्त सीमित थिए, सम्पत्तिको नाममा जोसँग देखाउनु र लुकाउनुपर्ने केही थिएन, जसका आशक्तिहरू थिएनन् र जसको कुनै पनि खराब आदत थिएन । नेपाली कांग्रेसका नेताहरूमा किशुनजी र भीमबहादुर दाइ नै दुई यस्ता व्यक्तित्व हुन् जो लोभ र मोहबाट विरत रहे ।
भीमबहादुर दाइमा प्रखर राजनीतिक चेतना थियो र उनी तीक्ष्ण राजनीतिक विश्लेषणमा खप्पिस थिए । उनमा कूटनीतिक दक्षता पनि उत्तिकै थियो । खास गरेर साथीभाइहरूसँग गफगाफमा बस्दा उनी अरूको विचार ध्यानपूर्वक सुन्थे । आफूलाई टिप्पणी गर्न मन नलागेको विषय पर्यो भने निदाएको बहाना गरिदिन्थे । त्यसबाहेक भीमबहादुर दाइमा अन्य कुनै प्रकारको राजनीतिक कलाकारिता थिएन । साहित्यमा गहिरो रुचि थियो । नेपाली साहित्यका कतिपय कथा र आख्यानहरूको विवेचनामा रमाउने भीमबहादुर दाइ क्यामु, सार्त्र र डीएच लरेन्सका रचनाधर्मिताको चर्चा गर्थे ।
दोलखा उनको पुर्ख्यौली थलो थियो । दोलखेलीहरू उनको माया र सत्कार गर्थे । जिरीका कतिपय जिरेल तन्नेरीहरूलाई उनले प्रगतिपथमा अघि बढाइदिएका थिए । राजनीतिमा धेरै कम व्यक्तित्वले मात्र सर्वमान्यता प्राप्त गर्न सक्छन् । दोलखेलीहरूले उनको नाम राखेका थिए पानीमुसा । बिरालाहरूबाट जोगिँदै उनी आफ्नो राजनीतिक यात्रामा निरन्तर खटिन्थे । जसले जति बेला चाह्यो त्यहीं पुग्ने चटकी शैली थियो उनको ।
चुनावको परिणाम माक्र व्यत्तिको लोकप्रियताको कसी हुँदैन । भीमबहादुर दाइले चुनाव जिते पनि र हारे पनि । चुनाव जित्दा र हार्दाको दुवै स्थितिमा भीमबहादुर दाइ मानिसले सक्नेजति निरपेक्ष रहे ।
‘गोबुलढोक’ यो शब्दको अर्थ मलाई थाहा छैन । भीमबहादुर दाइको प्रिय शब्द थियो यो । कुनै पनि बेढंगे काम गर्ने व्यक्तिलाई मायालु पाराले ‘कस्तो गोबुलढोक रहेछ’ भन्ने गोबुलढोक भीमबहादुर तामाङलाई लोकले बिर्सन सक्दैन । उनका साथी र सहयोगीहरूको मनमा सम्झनाका पहाडहरू होलान् । नेपाली राजनीतिमा यो एउटा यस्तो मानिस पनि थियो भन्ने उदाहरणका रूपमा प्रस्तुत हुने सत्पात्रका रूपमा अब भीमबहादुर दाइ मानिसका स्मृतिमा थुपुक्क बसेका छन्, नेपाली लोकतान्त्रिक इतिहासको सिरानी हालेर ।