साप्ताहिक संवाददाता
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा प्रारम्भ गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालक आबद्ध समाजले यात्रुहरूको सुविधाका लागि प्रविधिमा आधारित यो ट्याक्सी सेवा सुरु गरेको हो ।
प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरूलाई प्रदान गर्ने सेवाको परीक्षण गर्दै आएको थियो । अब भने समाजले इजीट्याक्सी नेपालमार्फत प्रविधिमा आधारित रहेर सेवा लिन सकिने घोषणा गरेको छ ।
इजी ट्याक्सी नेपाल काठमाडौं उपत्यकाभरी सञ्चालनमा आइसकेको छ । यसका लागि ’इजी ट्याक्सी नेपाल एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि कस्टमर लगइन रजिस्टर उपलब्ध हुन्छ भने त्यसमा लगइन गरेपछि रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ जसबाट आफ्नो गन्तव्य छनौट गर्नुपर्छ ।
यात्रुले एप्समा गरेको अनुरोधका आधारमा उक्त क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत अनुरोध स्विकार गर्छन् र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा पुगी सेवा दिन्छन् । पहिलो चरणमा २७ सयभन्दा बढी ट्याक्सीमा यो सेवा उपलब्ध छ भने अन्य ट्याक्सी पनि यो एप्समा जोडिँदै छन् । हालका लागि यात्रुले यो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमै भुक्तानी गर्नु पर्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा गराएको छ ।
यात्रुले दिउँसो र राति दुवै सिफ्टमा सेवा प्राप्त गर्नेछन् भने यो एप्समा आबद्ध चालक तथा यो एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ । समाजले इजी ट्याक्सी नेपाललाई अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ । इजी ट्याक्सी नेपाल एप्स हाल एन्ड्रोइड प्ले स्टोरमा मात्र उपलब्ध छ भने निकट भविष्यमा यो एप्पलको एपस्टोरमा समेत उपलब्ध हुने बताइएको छ ।