साप्ताहिक संवाददाता
हल्क मोक्टेल
हलिउड क्यारेक्टर हल्कको शरीरको रंग हरियो छ भने यो मोक्टेलको रंग पनि हरियै छ । त्यसैले यसको नाम हल्क मोक्टेल राखिएको हो । यो मोक्टेल बनाउन २ वटा किबीको बोक्रा छोडाई सुगर सिरप हालेर ब्लेल्ड गर्ने वा कुनै गिलासमा हालेर पेल्ने । पेलेको किबीलाई डिजर्ट गिलासमा हाल्ने अनि त्यसमा थोरै एप्पल जुस तथा रेड बुल मिसाउने । त्यसमा आइस क्युव हालेर फेरि गिलासको आकारअनुसार रेड बुल तथा एप्पल जुस थप्दै चलाउने । डिजर्ट ग्लासमा एउटा कागतीको रस हालेर चलाउने र किबीको स्लाइस गरिएको टुक्रालाई गार्निस गरेर सर्भ गर्ने । यो मोक्टेलको रंग हरियो भएका कारण पिउँदा शीतल महसुस गराउनुका साथै यसमा प्रयोग भएको इन्टिग्रेन्टले समेत शीतलता प्रदान गर्छ ।
माटाडोर
माटाडोरलाई क्लासिक ककटेल ड्रिंक्स मानिन्छ । यो मार्गरिटाभन्दा केही कम मात्र लोकप्रिय ककटेल हो । मेक्सिकन एक्सपर्टले निर्माण गरेको यो ककटेल बनाउन टकिला ६० एमएल, लाइम जुस २० एमएल, पाइनएप्पल जुस ८० एमएल, आइस तथा गार्निस गर्न फुल आवश्यक हुन्छ ।
ग्लासको आधा भागमा आइसक्युव राख्ने । त्यसमा २० एमएल लाइम जुस नभए कागतीको रस ४–५ चम्चा हाल्ने, त्यसमा ६० एमएल टकिला हाल्ने, त्यसपछि पाइनएप्पल जुस ८० एमएल हाली चलाउने । यसलाई फूलले सजाएर वा पाइनएप्पल गार्निस गरेर सर्भ गर्नुपर्छ ।
यो टकिला चिसो र भुइँकटहरको स्वादको हुन्छ भने यसले महिला–पुरुष दुवैलाई आनन्द प्रदान गर्छ ।
लाइम रिक्की
यो ककटेलको नाम अमेरिकाका कर्नेल जोय रिक्कीको सम्झनामा समर्पण गरिएको छ । सन् १८८३ को अमेरिकी गृहयुद्धताका महत्वपूर्ण योगदान दिएका रिक्की खाने–पिउने मामिलामा सौखिन भएकै कारण एक बारटेन्डरले उनको नाममा यो ककटेलको निर्माण गरेका हुन् ।
यो ककटेल बनाउन ६० एमएल जिन, १५ एमएल कागतीको रस, १५ एमएल सिरप तथा मिनरल वाटर भएपुग्छ । डिजर्ट ग्लासमा आइसक्युब राख्ने । त्यसमाथि ६० एमएल जिन तथा १५ एमएल सिरप हालेर चलाउने । त्यसपछि १५ एमएल कागतीको रस हाल्ने र माथिबाट मिनरल वाटरले गिलास भर्ने अनि चलाउने । माथिबाट कागतीको टुक्राले सजाउने ।