साप्ताहिक संवाददाता
अभिनेत्री जसिता गुरुङले अभिनय गरेका दुई चलचित्रमध्ये एउटा चलचित्र व्यवसायिक रूपमा सफल भयो भने अर्को असफल । चलचित्र लिलिबिलीमा जसिता र प्रदीप खड्काको जोडीको प्रशंसा समेत भयो । उनीहरूकै जोडीको दोस्रो चलचित्र लभ स्टेसनलाई भने दर्शकले त्यति रुचाएनन् ।
यो चलचित्रमा उनीहरूको जोडीले दर्शकको मन जित्न सकेन । केमेष्ट्री मिले पनि चलचित्रको कथा विदेशी चलचित्रसँग मिलेको प्रसंग सार्वजनिक भएपछि दर्शकले उक्त चलचित्रप्रति त्यति रुचि देखाएनन् । लभ स्टेसनपछि प्रदीप खड्का चलचित्र प्रेमगीत–३ को तयारीमा जुटे भने प्रदीप खड्का खाली भइन् । उनलाई अशोक शर्माले चलचित्र ‘रातो टीका निधारमा’ का लागि प्रस्ताव नराखेका होइनन् । यद्यपि, पारिश्रमिकमा कुरा नमिलेपछि जस्सिताको हातबाट उक्त चलचित्र उम्कियो ।
साम्राज्ञी राज्यलक्ष्मी शाहले उनलाई प्रस्ताव गरिएको भूमिकामा अभिनय गरिन् । अहिले आएर जस्सिता चलचित्रविहीन जस्तै भएकी छिन् । उनलाई नयाँ चलचित्रबाट प्रस्ताव नआएका त होइनन्, तर उनले पर्याप्त सोचेरमात्र नयाँ चलचित्रमा सहभागी हुने योजना बनाएकी छिन् । यसबीच, जस्सितालाई रेनशा वान्तवा राईले नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’ मा अनुबन्ध गर्ने सम्भावना बढेको बताइन्छ ।