साप्ताहिक संवाददाता
श्रावण १, २०७६
पूर्व टेनिस स्टार एना इभानोभिच फेरि एकपटक चर्चामा छिन् । यसपटक उनी खेलका कारण होइन, आमा बन्ने समाचारले चर्चामा आएकी हुन् । एनाले गत शनिबार इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको समाचार सार्वजनिक गरेकी थिइन् ।
उनले चार जोडी जुत्ताका साथ लेखेकी छिन्, ‘हाम्रो मन खुसीले भावविभोर भएको छ । हाम्रो परिवारमा एउटा सानो पाहुना आउने भएको छ ।’ पूर्व नम्बर एक महिला खेलाडी इभानोभिचले २००३ मा प्रोफेसनल करियर प्रारम्भ गरी २०१६ को डिसेम्बरमा टेनिस संसारलाई अलविदा गरेकी थिइन् ।
३१ वर्षीया इभानोभिचले दुई वर्षको डेटिङ पश्चात २०१६ मा जर्मन फुटबलर बास्टियन स्वेंग्सटिरसँग विवाह गरेकी थिइन् । गत वर्षको मार्च महिनामा उनीहरूका छोरा लुकाको जन्म भएको थियो । फुटबलर बास्टियनले पनि यही कुरा दर्शाउने पोष्ट इन्स्टाग्राममा राखेका छन् ।