साउन र रतिराग

- साप्ताहिक संवाददाता

श्रावण २, २०७६

पोहोर तिम्रो नाम हत्केलामा लेख्नु थ्यो, अनि पो लाग्या थ्यो साउन । यसपालि जिन्दगीमै 

नाम लेखियो, अब जुनसुकै महिना आउन् । 

                                                                  - ऋचा भट्टराई

मौसममा देखिने गरम मिजासका कारण साउन महिनाको आफ्नै महिमा छ । यो महिना मानिसमा देखिने उत्ताउलोपनलाई नियन्त्रणमा राख्न हिन्दू धर्मका कतिपय मान्यताले यो महिनामा यौनसम्बन्ध राख्न बर्जित गरेको पाइन्छ । यद्यपि पानीमा रुझेको शरीर कामकलाका दृष्टिकोणले त्यसै पनि मादक वा उत्तेजक मानिन्छ । साउन महिनामा झरी परिरहने र त्यस्तो झरीमा चाहेर वा नचाहेर पनि भिझ्नैपर्ने बाध्यता आइलाग्छ । यस्तो बेला विपरीतलिंगीको आकर्षण भिजेको शरीरप्रति हुनुलाई विज्ञानसम्मत नै मानिन्छ ।

त्यसैले होला, साउनको झरीका बारेमा अनेकन रोमान्टिक गीत–संगीत रचिएका छन् । तिनै गीत–संगीत क्रमशः चलचित्रमा दृश्यांकन हुँदै जाँदा मानिसमा साउनको एउटा बेग्लै रोमान्टिक छवि स्थापित पुगेको हो । त्यसैको प्रभाव मान्नुपर्छ बलिउडका साथै कतिपय नेपाली चलचित्रमा समेत पानीमा रुझेको शरीरलाई मादकताको प्रतीकका रूपमा प्रस्तुत गरिएको पाइन्छ । 

हिन्दू धर्मशास्त्रले साउनलाई यौन बर्जित समयका रुपमा व्याख्या गर्नुका केही वैज्ञानिक कारण छन् । सामान्यतः हिन्दूहरू वसन्त ऋतुमा विवाह गर्छन् । अहिले पनि हाम्रो समाजमा अधिकांश विवाह माघदेखि वैशाखसम्मको समयमा भएको पाइन्छ । विवाहपछिको मैथुन समागम वा रतिरागपूर्ण सम्बन्धबाट गर्भधारण गरेका अधिकांश महिलाहरूको गर्भ साउनसम्म आइपुग्दा ४ देखि ६ महिना पुगेको हुन्छ । वैज्ञानिक वा मानव शरीरको दृष्टिकोणले ४ देखि ६ महिनाको गर्भलाई संवेदनशील समय मानिन्छ ।

सम्भवतः यही कारणले यो समयमा शारीरिक सम्पर्क बर्जित गरिएको हुनुपर्छ । यही वैज्ञानिक आधारमा टेकेर हिन्दू मान्यताले नवविवाहित जोडीलाई एकअर्कासँग अलग भएर बस्नुपर्ने प्रचलन प्रारम्भ गरेको बताइन्छ । अहिले पनि हाम्रो समाजमा नवविवाहिताहरू विवाहपछिको पहिलो साउनमा श्रीमान्सँग केही दिन अलग बस्छन् । पहिले–पहिले यो प्रचलन पूरै साउनभरिका लागि लागू हुन्थ्यो तर अहिले यो प्रचलनमा निकै कमी आइसकेको छ । 

साउनलाई मानव समाजले मात्र यौन बर्जित नमानेर जीवजन्तुले समेत यौन वर्जित नै मानेको पाइन्छ । अधिकांश चराचुरुंगी एवं पशुहरूको मैथुनिक काल पनि वसन्त ऋतुलाई नै मानिन्छ । वसन्त ऋतुमा हुने मैथुनिक प्रक्रियाको परिणाम पशुपन्छीमा समेत साउन महिनामै देखिन्छ । यति बेला अधिकांश पशुपन्छी आफ्ना नवजातसँग हुन्छन् वा चल्ला कोरल्ने अवस्थामा हुन्छन् । त्यसैले साउन महिनामा पशुपन्छीको सिकार गर्दा त्यस्ता नवजात पशु वा भर्खर कोरलिएका पन्छीको बिजोग हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा त फुल पारिरहेका पन्छी वा गर्भधारण गरेका पशुसमेत सिकार हुने अवस्था सिर्जना हुन्छ ।

यस्तो स्थितिले हाम्रो पारिस्थितिकी प्रणालीमा गम्भीर असन्तुलन ल्याउन सक्ने भएकाले हिन्दू धर्मशास्त्रले साउन महिनामा मांसाहार नगर्नु भनेको हो । साउन महिनामा मांसाहार नगर्नुका पछाडि वैज्ञानिक कारण पनि छ । यो महिना अत्यधिक गर्मी हुने वा मौसममा आर्द्रताको अधिकता हुने हुँदा सिकार गरिएको मासु चाँडै बिग्रिन्छ । त्यस्तो बिग्रिएको मासु जानेर वा नजानेर खाइँदा शरीरमा कतिपय विकार देखा पर्न सक्छ । त्यस्ता विकारबाट जोगिन पनि साउन महिनामा मासु नखानु भनिएको हो । 

प्रकाशित :श्रावण २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्