साप्ताहिक संवाददाता
अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दै रजतपटमा भित्रिएका दुई अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह तथा उपासना सिंह ठकुरी । साम्राज्ञीले ‘ड्रिम्स’ बाट रजतपटमा पाइला राखेकी थिइन् भने उपासना अनमोलको पछिल्लो चलचित्र ‘क्याप्टेन’ बाट अभिनयमा पदार्पण गर्ने अभिनेत्री हुन् । दुवै अभिनेत्रीले पहिलो चलचित्रबाटै आफूलाई प्रमाणित गरे । साम्राज्ञीले त ड्रिम्सपछि थुप्रै चलचित्रमा अभिनय गरिसकिन् भने अधिकांश चलचित्रबाट उनले प्रशंसा नै पाएकी छिन् ।
साम्राज्ञी अहिले चलचित्र ‘मारुनी’ मा व्यस्त छिन् । उपासनाले भने क्याप्टेनपछि दोस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा मात्र अभिनय गरेकी छिन् । रामबाबु गुरुङको यो चलचित्रमा उनले दयाहाङ राईसँग स्क्रिन सेयर गरेकी छिन् । यहाँ चर्चा गर्न लागिएको प्रसंग साम्राज्ञी र उपासनासँग सम्बन्धित छ ।
यी दुवै अभिनेत्रीले अभिनय गरेका चलचित्र एकै दिन प्रदर्शनमा आउने भएका छन् । मारुनी र कबड्डी–३ एकै दिन प्रदर्शन हुने भएपछि यसलाई दुई सुन्दर अभिनेत्रीबीचको प्रतिस्पर्धाका रूपमा समेत हेर्न थालिएको छ । यद्यपि, दुवै चलचित्रको विधा र विषयवस्तु बिल्कुलै पृथक भएकाले दुवै चलचित्रबीच सोझो टक्कर भने नहुने बताइन्छ ।