साप्ताहिक संवाददाता
लोकदोहोरी गायनमार्फत चर्चामा छिन्– शान्ति श्री परियार । केही समयअघि सार्वजनिक भएको गलबन्दी गीतबाट उनको बेग्लै पहिचान बनेको छ । उनी औपचारिक रुपमा विगत ८ वर्षयता सांगीतिक क्षेक्रमा सत्रिय छिन् । ५ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी परियारसँग अनामनगरमा साप्ताहिककर्मी महेश तिमल्सिनाको जम्काभेट :
केमा व्यस्त हुनुहुन्छ हौ ?
अहिले त गीतसंगीतमै व्यस्त छु । गलबन्दी गीत सार्वजनिक भएपछि त व्यस्तता अझ बढेको छ ।
लोकदोहोरी क्षेत्रमा चर्चाको शिखरमा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
म गीतसंगीतमा लागेको करिव १२ वर्ष भयो, तर औपचारिक रूपमा लागेको चाहिँ ८ वर्ष पूरा हुँदैछ । मैले गीत–संगीतमा स्थापित हुन धेरै नै संघर्ष गरेकी छु । म अहिले जहाँ छु त्यो मेरो संघर्ष र दर्शक–श्रोताहरूको मायाको प्रतिफल हो ।
बोलमाया र गलबन्दी आउनुभन्दा अघि र पछिको दैनिकीमा कस्तो परिवर्तन आएको छ ?
बोलमाया र गलबन्दी अघि पनि मैले धेरै गीत गाएको थिएँ । पहिलो एल्बम ‘घर छ तीनतले’ र दोस्रो गीत ‘एक तर्फी मायाले’ नै मलाई लोकदोहोरी क्षेत्रमा चिनाएको हो । त्यसपछि पनि मेरा धेरै गीत हिट भएका थिए । यद्यपि अहिले बोलमाया र गलबन्दी आइसकेपछि भने असिमित दर्शक श्रोताको माया पाइरहेकी छु । गलबन्दी पछि त लोकदोहोरी नरुचाउने दर्शक–श्रोताहरूसम्म पनि पुग्न सफल भएकी छु । दैनिकीमै परिवर्तनभन्दा पनि दर्शक श्रोताको माया बढेको आभास भैरहेको छ ।
गलबन्दी पछि कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
राम्रो भएपछि सबैले राम्रो नै भन्नुहुन्छ । सबैबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु । त्यसैले आफूले गरेको कामप्रति गर्व गरिरहेकी छु । त्यसमाथि पनि महिला दिदीबहिनीहरू मेरो काम देखेर गर्व गर्नुहुन्छ । उहाँहरू एउटा विकट गाउँबाट आएकी एउटी महिलाले यति राम्रो काम गर्नुभएको छ भन्नुहुन्छ । उहाँहरूको यस्ता प्रतिक्रिया सुन्दा काम गर्ने उत्साह बढेको छ ।
तीजका गीतका लागि कस्तो तयारी छ ?
तीजका लागि अरुको ३/४ वटा गीत गाइसकेकी छु, तर विगत चार वर्षयता मैले आफ्नै एउटा तीज गीत सार्वजनिक गर्दै आएकी छु । यसपाली पनि गीत ल्याउने सोंच त बनाएकी छु, तर देश–विदेशका कार्यक्रमको व्यस्तताले गर्दा तयारी भने गर्न पाएकी छैन ।
भनेपछि, देश–विदेशका कार्यक्रमको ओइरो नै लागेको छ ?
ओइरो नै त होइन । पहिलेको तुलनामा अलि बढेको छ ।
विदेशको एउटा कार्यक्रममा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ?
यति नै नभनौं । जे होस् राम्रै लिन्छु ।
अहिलेसम्म कतिवटा देश पुग्नुभयो ?
१४ वटा देश पुगिसकें । एउटै देशमा दुई तीन पटक पनि पुगेकी छु । त्यसैले पासपोर्टको पाना सकिएर अर्को पासपोर्ट बनाउने तयारीमा छु ।
अहिले महिनामा कतिवटा गीत गाउनुहुन्छ ?
त्यस्तो धेरै छैन, महिनामा ३० वटाजति पुग्छ । तीजका बेलामा अलि बढी हुन्छ ।
एउटा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ?
१० हजार ।
तपाईं अभिनयमा खासै देखिनुहुन्न नि ?
मलाई अभिनयमा खासै रुची छैन । म गाउनमै स्पेसल छु जस्तो लाग्छ ।
तपाईंको गीत छान्ने मापदण्डचाहिँ के हो ?
त्यस्तो खासै मापदण्ड छैन । यद्यपि समाजमा नपच्ने गीत गाउँदिनँ भन्ने प्रण गरेकी छु ।
व्यस्तता बढेपछि घरपरिवारको गुनासो त आउला नि ?
घरपरिवारले मेरो पेसालाई बुझ्नुभएको छ त्यसैले मलाई त्यति गाह्रो छैन ।
आफ्नो स्वरमा ताजगी ल्याउन के गर्नुहुन्छ ?
नियमित हार्मोनियममा रियाज गर्छु ।
सौन्दर्य स्याहारमा कत्तिको ध्यान दिनुहुन्छ ?
म त्यति धेरै राम्री छैन । सामान्यतः लिपस्टिक तथा गाजल लगाउँछु ।
नेपाली सांगीतिक क्षेत्रमा के भैदिए हुन्थ्यो भन्ने लाग्छ ?
गीतमा सेन्सरसिप छैन । सेन्सर सिस्टम लागू भैदिए सबै अनुशासित र नियमबद्ध हुन्थे कि ?