अर्पणको ‘घर’ : कति छ डर ?

- रामजी ज्ञवाली

श्रावण २, २०७६

हरर जनरा नेपाली चलचित्र उद्योगमा खासै निर्माण हुने जनरा होइन । वार्षिक १ सयको हाराहारीमा चलचित्र निर्माण हुन्छन्, त्यसमा एकाध चलचित्र यस जनरामाथि बनेका छन् । चलचित्र उद्योगमा अहिलेसम्म कति हरर चलचित्र बने ? त्यसको आधिकारिक तथ्यांक त कोहिसँग छैन । तर, हरर जनरामा निर्माण भएका जति चलचित्र निर्माण गरिएका छन्, अधिकांश फ्लप छन् ।

किन ? भोली देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘घर’ का निर्देशक तथा अभिनेता अर्पण थापा भन्छन्, ‘नेपाली दर्शकले हरर मुभीलाई अझै एसेप्ट गर्नुभएको छैन, अन्य किसिमका चलचित्र जस्तै यो किसिमका चलचित्र मुल बाटोमा आउन केहि बर्ष पक्कै लाग्छ ।’

प्रियंका कार्की स्टारर ‘आवरण’ फ्लप भयो । केकी अधिकारीको मसान होस् अथवा अर्पणकै अघिल्लो पटक प्रदर्शन भएको चलचित्र सुनकेशरी । अथवा, त्यसभन्दा अघि–पछि प्रदर्शन भएका जुनसुकै हरर चलचित्र होस्, खर्लप्पै थामिनसक्नु भिड लागेको रेकर्ड छैन । अभिनेता अर्पण भन्छन्, ‘मैले हरर चलचित्रको इतिहासमा सुनकेशरीमा बाहेक अरुमा खासै दर्शक भेटेको छैन, सोहि कारण पनि मेरा लागी सुनकेशरी उत्कृष्ट चलचित्र हो ।’ उनका अनुसार सुनकेशरी तिनदिनसम्म हाउसफुल थियो, १ करोड कलेक्सन गरेको थियो । उनले एउटा कुरा चै स्विकारे, त्यो चलचित्रबाट जति अपेक्षा थियो, त्यो भने पुरा हुन सकेन ।

अभिनेताको बाटो भएर निर्देशन विधामा पनि जमेका अर्पण हरर सिनेमाप्रति विशेष लगाव राख्छन् । यो चलचित्रको प्रदर्शनपछि उनले दोस्रो भाग पनि निर्माण गर्दैछन् ।

त्यसो त नेपाली चलचित्रको क्वालिटीका विषयमा निरन्तर प्रश्न उठिरहन्छ । त्यसमध्ये हरर चलचित्रलाई त अझ दर्शकले पत्याएकै छैनन् ।

खासमा हरर जनराका चलचित्र कस्तो किसिमको हुनुपर्ने हो ? किन अरु चलचित्रको तुलनामा कम मात्रामा चलचित्र बन्छन् ?

अर्पण भन्छन्, ‘यस्ता किसिमका चलचित्रले दर्शकलाई डराउन दिन सक्नुपर्छ, तर्साउन सक्नुपर्छ र यि दुई कुरा भन्दा धेरै मनोरन्जन दिएर बाध्न सक्नुपर्छ ।’ नेपालमा हरर जनराका चलचित्र निर्माण गर्न उत्कृष्ट टेक्निकल टिम पनि छैन ।

उनले फेरी थपे, ‘चलचित्र घरबाट दर्शकले यि तिनवटै कुरा पाउनुहुन्छ भन्ने पुर्ण विश्वास लिएको छु ।’ यो चलचित्रको नाफा–घाटाको हिसाव किताब आगामी एकहप्तामै थाहा होला । यद्यपी, यो चलचित्रलाई लिएर अर्पणको मनमा डर भने उत्तिकै छ ।

संसारभरका कुनैपनि चलचित्र सफल हुन्छन् भनेर पुर्वानुमान गर्न सकिन्न । डर सबैलाई लाग्छ । त्यो पनि कम दर्शक भएको नेपाली चलचित्र उद्योगमा हरर जनराका चलचित्रबाट डर मान्नु स्वभाविकै हो । अर्पण भन्छन्, ‘घरदेखि डराएको त छु, त त्यो भन्दा धेरै एक्साइटेड पनि छु ।’ सुनकेशरीले धेरै कुरा सिकाएको छ, त्यो घरमा लागु भएको छ, उनले भने ।

भर्सटायल अभिनेताको रुपमा परिचित उनी अभिनय गरेर मात्रै ज्यान पाल्न सक्छन् । तर, उनको रुचि अभिनयसँगै निर्देशनमा पनि छ । मुखौटा, आधा लभ, सुनकेशरी, घर, द डिजाइनर लगायतका चलचित्र निर्देशन गरिसकेका उनी तिन दर्जनजति चलचित्रमा देखिएका छन् । नढाटेरै भन्नेहो भने उनले काम गरेका धेरै चलचित्र फ्लप छन् । यद्यपी सबैजसो चलचित्रबाट उनले तारिफ पाएका छन् । 

अनावश्यक प्रशंसा नरुचाउने अर्पण भन्छन्, ‘आफुले के कति सफलता पाइएको छ, दर्शकले देखाइसकेको कुरा हो ।’ अर्पण निरन्तर हरर चलचित्र निर्माण गर्छन् कि घरपछि उनका पाइलाले अर्कै बाटो समात्छ ? 

उनले भने, ‘हरर जनरामा निर्माण गरिएका चलचित्रले ओस्कार एवार्ड समेत जितेका छन्, संसारका उत्कृष्ट निर्देशकको परिचय बनाएका सबैले एक–दुईपटक हरर चलचित्र बनाएको इतिहास छ ।’ यो अन्य चलचित्रको विधा भन्दा अझ रोचक विधा हो, एकपटक यस्ता किसिमका चलचित्र हेर्न खर्लप्पै दर्शक आएको देख्ने सपना छ, उनले भने ।

प्रकाशित :श्रावण २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्