साप्ताहिक संवाददाता
यो साता हरर चलचित्र ‘घर’ प्रदर्शनमा आउँदैछ । हरर चलचित्र ‘सुनकेशरी’का निर्देशक अभिनेता तथा निर्देशक अर्पण थापाले नै यो चलचित्रको निर्देशन गरेका हुन् । अर्पण थापा, बेनिशा हमाल तथा सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र घरमा दर्शकले आत्मा र मानिसबीचको द्वन्द्व हेर्न पाउनेछन् । निर्देशक थापाका अनुसार चलचित्रको छायांकन काठमाडौंको भंगालस्थित एक घरमा गरिएको छ ।
‘त्यो घरमा तर्साउँछ भनेर स्थानीय बासिन्दाबीच पहिलादेखि नै चर्चा चलेको हुन्छ । त्यही घरभित्र बस्ने पात्रहरू चिनिएपछि उनीहरूबीच हुने द्वन्द्वलाई चलचित्रमा देखाएका छौं’, अर्पणले भने, ‘यो चलचित्र एक दम्पतीले घर किनेर बसाइँ सरेपछि उत्पन्न हुने आत्मा र मानिसबीचको अस्वाभाविक द्वन्द्वमा केन्द्रित छ । चलचित्र हेरुन्जेल दर्शकमा डरसँगै उत्सुकता पनि पैदा हुन्छ ।’ यो चलचित्र झन्डै २० दिन लगाएर छायांकन गरिएको हो ।
चलचित्रमा अभिनेत्री सुरक्षालाई विवाहित महिलासँगै तर्साउने चरित्रमा प्रस्तुत गरिएको छ । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्र घरमा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन तथा विकास खनालले समेत अभिनय गरेका छन् । शर्मिला पाण्डे निर्माता एवं सन्तोष अधिकारी सहनिर्माता रहेको यो चलचित्रमा अर्पणकै कथा, सूर्य थोकरको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन एवं निरज कँडेलको छायांकन हेर्न पाइन्छ ।