एउटा फोटोले ल्याएको फिल्मी तरंग

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७६

सरोज खनाल प्रकरणमा चलचिक्र विकास बोर्डको वत्तव्यपछि तपाईंको धारणा के छ ?

कलाकार राष्ट्रका गहना हुन् भन्ने कुरा किताबमा मात्र सीमित नहोस्, व्यवहारमा पनि लागू होस् । 

अर्जुन तिवारी, छायाँकार 

दुवै पक्षले अबका दिनमा एक–अर्कालाई सम्मान गर्न सक्नुपर्छ । 

सविन श्रेष्ठ, अभिनेता 

स्रष्टाको सम्मान भन्नु नै कलाको सम्मान हो र कलाको सम्मान गर्नुनै राष्ट्रको सम्मान गर्नु हो । हामीले यो कुरा कहिले बुझ्ने हो ? सरोजजीको अभिव्यक्ति सही छ । 

सचिन रौनियार, गायक 

धेरै कुरा थाहा पाएर पनि बोल्न मिलेन वारि पनि आफ्ना पारी पनि आफ्ना । 

केदार घिमिरे, अभिनेता 

म जस्तै एवार्डमा नजाने, दिए घरमा ल्याएर राख्दिने, नदिए मतलबै नगर्ने । 

दीपकराज गिरी, अभिनेता 

सरोज खनालजस्ता टप सेलिब्रिटीले राष्ट्रपतिको सम्मान गर्नुपर्छ । राष्ट्रप्रमुखको बेइज्जत गर्ने काम गर्नु सरोज खनाल जस्तो व्यक्तित्वका लागि सुहाउने काम होइन । आफू ट्वाइलेटको कमोडमा बसेर अरूलाई फोटो खिच्न लगाउनु पक्कै पनि शोभनीय छैन । 

सुप्रिया कटवाल, मोडल 

सर्वप्रथम त यो राष्ट्रले दिने सम्मान हो । यस्तो सम्मान सबै चलचित्रकर्मीको उपस्थितिमा राष्ट्रपति निवासभन्दा बाहिर दिएको राम्रो हुन्थ्यो, त्यो हुन सकेन । अर्को कुरा हामीमा पनि कमजोरी छ । एउटा राष्ट्रिय स्तरको कलाकार भएपछि जसरी राष्ट्रपतिको एउटा सेड्युल हुन्छ त्यसरी नै मैले पनि कति बेला के गर्ने, कहाँ बस्ने, कस्तो प्रस्तुति दिने पहिले नै फिक्स गरेर जानुपर्थ्यो । त्यो पनि भएन । नेपालमा जे पनि चल्छ भन्ने चलनले बिगारेको हो सबैलाई ।

वसन्त सापकोटा, संगीतकार 

बोर्डले आफ्नो कमीकमजोरी मानेर समस्त कलाकारसँग माफी माग्नुपर्छ । गल्ती गर्ने अनि अझ ठूलो कुरा गरेर उल्टो नियोजित भन्नु बोर्डको नालायकीपन हो ।

आमिर गौतम, कलाकार

राष्ट्रियस्तरको यस्तो कार्यक्रममा व्यवस्थापन राम्रो हुनै पर्थ्यो तर त्यो कार्यक्रममा भएको कमीकमजोरी आमजनतामाझ ल्याउँदा त्यसबाट पर्ने नकारात्मक असरका सम्बन्धमा पनि सोच्नुपर्थ्यो कि ?

वसन्त अधिकारी, निर्देशक

कला र कलाकारितामा जीवन समर्पण गरेको सम्मानित कलाकारले कुनै पीडा नभई सामाजिक सञ्जालमा यसरी आफ्नो कुरा व्यक्त गर्दैन । सरोज खनाल प्रकरणमा चलचित्र विकास बोर्डले आफ्नो काम र जिम्मेवारीमा भएको गल्ती स्विकार नगरी ऊल्टै आरोप लगाउनु तमाम कलाकारको अपमान गर्नु हो । यसबाट गरिमामय संस्थामा कार्यरत व्यक्तिको कार्य क्षमतामा शंका गर्नुपर्ने हुन्छ ।

किशोर भण्डारी, निर्देशक/कलाकार

अग्रज कलाकार सरोज खनाल प्रकरणमा विकास बोर्डले वक्तव्य त निकाल्यो, तर पनि देशको यति ठूलो कलाकारले आफू अपमानित भएको समाचार बाहिर ल्याउँदा त्यसको सत्यताको छानबिन गर्नु आवश्यक छ । यदि त्यस्तो भएको हो भने सार्वजनिक रूपमै गल्ती स्वीकार गर्नुपर्छ र भविष्यमा त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु जरुरी छ । 

आदित्य बुढाथोकी, निर्देशक/कलाकार

विज्ञप्ति निकाल्ने भन्दा पनि व्यक्तिगत रूपमा बोलाएर छलफल गर्ने विषय थियो त्यो । सरोज खनालले पनि कार्यक्रम स्थलको प्राविधिक कठिनाइ बुझेर त्यस्तो फोटो पोस्ट नगरेकै भए हुन्थ्यो ।

दीपेन्द्र लामा, निर्देशक

त्यो एवार्ड नभई गेटटुगेदर हो । अगाडि बस्ने ठाउँमा सबैजना मजाले बसेर हेर्छन् । पछाडि प्रस्तुति दिने मान्छेलाई कति दुःख हुन्छ, मैले पनि भोगेकी छु । सरोज खनालले आवाज उठाउनुभयो, राम्रो गर्नुभयो । यसरी स्टेज पर्फमेन्स गर्नेहरूलाई राम्रो पारिश्रमिक पनि छैन, उनीहरूलाई राम्रो सुविधा पनि छैन ।

अनु शाह, अभिनेत्री 

यो आफू भाइरल हुन गरेको कामजस्तो लाग्यो । ट्वाइलेटमै बस्नु र फोटो रिलिज गर्नु आवश्यक थिएन । आराम गर्न ट्वाइलेट बाहेक पनि अरू ठाउँ पनि थिए होलान् । उहाँ जस्तो सिनियर मानिसले व्यवस्थापनबाट गल्ती भए पनि पूरै राष्ट्रको बेइज्जत हुने गरी तस्बिर पोस्ट गर्न नहुने हो । उजुरी गर्ने अरू धेरै बाटा थिए । 

हसन रजा खान, अभिनेता

विज्ञप्तिको पाँचवटा बुँदा पढ्दा अचम्म लाग्यो । राष्ट्रपति ओहोदा राष्ट्रको इज्जत हो । देशले मानेको सरोज खनाल जस्तो वरिष्ठ कलाकारले सानोतिनो कुरालाई लिएर राष्ट्रको बेइज्जत हुने गरी क्रियाकलाप गर्नु भनेको उहाँका लागि नै घातक परिस्थितिको सिर्जना गर्नु हो । त्यति ठूलो राष्ट्रपति भवनमा उहाँका लागि बस्ने सिट नै नभएको कुरा सुन्दा मुन्द्रेको कमेडी क्लब हेरे जस्तो लाग्यो ।

तेन्जिङ शेर्पा, इभेन्ट म्यानेजर

सरोज खनाल नेपालका वरिष्ठ कलाकार हुनुहुन्छ । उहाँ सरल र एकदम असल मान्छे हुनुहुन्छ । देशको यति ठूला कलाकारलाई कहीँ केही नराम्रो भयो होला र नै, उहाँले आफ्नो पीडा पोख्नुभयो । उहाँले जे गर्नुभयो, ठीक गर्नुभयो किनभने कलाकारलाई इज्जत दिन जान्नुपर्छ ।

नीलडेबिड कटवाल, 

हेयर स्टाइलिस्ट

पहिलो कुरा राष्ट्रपति निवासमा औपचारिक नृत्य यस्तो नृत्य, त दरबारमा नि हुँदैनथ्यो । उक्त हलमा नाँच्ने–गाउने किसिमको स्टेज, मेकअप रुम, लाइट, पर्दा आदि छैनन् र त्यो राष्ट्रपतिको आग्रहमा नभै चाकडी प्रदर्शनका कारण भएकाले त्यस्तो समस्या सिर्जना हुनु अस्वभाविक भएन । अर्कै उद्देश्यले बनेको सानो कोठामा पुरुष–महिला सबै सेलिब्रेटीलाई भेंडा जस्तो कोच्चिनुमा राष्ट्रपतिको के दोष ? तर सरोज खनाललाई कमोडमा पर्खन कसैले लगाउने कुरा नभई यो एक किसिमबाट आयोजकहरूबाट बिना अग्रिम योजना र बन्दोबस्त हुन गएको अपमानजनक दुर्दशाका विरुद्धमा गरेको विद्रोहको नाटकीयकरण हो । यस्तै, रंगमञ्च नभएको स्थानमा मनोरञ्जक कार्यक्रम राखेर गाईजात्रा गरिसकेपछि गल्तीप्रति माफी माग्ने भद्रताको साटो उपलब्ध सानो टालोले अर्कातिर छोप्न खोज्दा एकतिर झन् उदाङ्गिन त पुगेन ? राष्ट्रपति कार्यालयले पनि कार्यक्रमका लागि रंगमन्च र अन्य सुविधा नभएको स्थानमा राष्ट्र कै उच्चतम कलाकारहरूबाट स्टेज सो गर्न दिने कार्य गलत भयो ।

राजेन्द्र थापा, गीतकार 

कुनै पनि कलाकारले त्यस्तो ठाउँमा गएर आफ्नो बेइज्जत आफैं गर्दैन । सम्भवतः राष्ट्रपतिको बेइज्जत भयो भनेर विकास बोर्डमा फोन आयो । त्यस्तो प्रतिष्ठित ठाउँमा त कलाकारको मूल्य छैन भने अरु ठाउँमा के होला ? सरोज खनालले उठाएको आवाज एकदम सही छ । भोलि अरू कलाकारले पनि त्यस्तो स्थितिको सामना गर्नु नपरोस् ।

कविता रेग्मी, कलाकार

कलाकार सरोज खनालको नियत यथार्थ कुरा बाहिर ल्याउनु नै थियो होला जस्तो लाग्छ । यो प्रकरणले आगामी दिनलाई पाठ दिएको छ । ट्वाइलेटलाई कपडा फेर्ने ठाउँ बनाउनु व्यवस्थापनको कमजोरी नै हो । यो कुरामा चलचित्र विकास बोर्डले पहिले नै राम्रो व्यवस्था गर्न सक्नुपर्थ्यो । पछिल्लो पटक आएको वक्तव्य अलि निष्पक्ष भएन जस्तो लाग्यो । 

सुविन्द्र केसी, गायक 

प्रकाशित :श्रावण ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्