साप्ताहिक संवाददाता
अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सांगीतिक प्रेमकथामा आधारित आयुष्मान देशराज जोशी तथा अभिनेत्री शिल्पा मास्के अभिनित यो चलचित्रको कथा दर्शकले रुचाएको पाइन्छ । युवाहरूको मनोविज्ञान प्रस्तुत गरिएको यो चलचित्रले मुख्य रूपमा आयुष्मान र शिल्पाको प्रेमकथामै केन्द्रित छ ।
दर्शकले सुयोग गुरुङको निर्देशनको यो चलचित्रको प्रस्तुति तथा कलाकारहरूको अभिनय पनि प्रशंसा गरेका छन् । निर्देशक गुरुङका अनुसार केही दिनयता निरन्तर पानी परिरहे पनि दर्शकहरू चलचित्र हेर्न आइरहेका छन् । ‘वर्ड अफ माउथ’का कारण थप दर्शकले यो चलचित्र हेर्ने कुरामा निर्देशक गुरुङ विश्वस्त छन् ।
चलचित्रका प्रमुख अभिनेता आयुष्मानको भूमिका बलशाली र अभिनय पनि सशक्त छ । दर्शकले आयुष्मानले ‘सानो मन’मा हालसम्म अभिनय गरेका चलचित्रमध्ये भन्दा राम्रो अभिनय गरेको बताएका छन् । त्यस्तै अभिनेत्री शिल्पाको अभिनय पनि उस्तै राम्रो छ ।
चलचित्र पत्रकार राज श्रेष्ठले चलचित्र राम्रो बनेको बताएका छन् । ‘चलचित्र सानो मन हेरियो । एउटा राम्रो चलचित्र बनेको छ । सानो मनमार्फत नेपाली चलचित्र क्षेत्रमा आएका निर्देशक सुयोग गुरुङको काम तारिफयोग्य छ । आयुष्मानले आफ्नो करियरकै उत्कृष्ट काम गरेका छन् । आयुष्मानले एक्लै बसेर आफ्नो करियरका बारेमा सोच्ने हो भने उनको भविष्य उज्जवल छ । शिल्पाको काम पनि प्रशंसनीय नै छ । प्रेम कथामा बनेको चलचित्र हेर्न रुचाउनेले सानो मन हेर्दा हुन्छ ।’ श्रेष्ठको टिप्पणी छ ।
त्यस्तै अर्का पत्रकार जीवन पराजुलीले पनि चलचित्रको प्रशंसा गरेका छन् । ‘एउटा सफा र सुन्दर नेपाली फिल्म हेरियो । सानो मनमार्फत नेपाली चलचित्रमा आएका निर्देशक सुयोग गुरुङको कामको तारिफ नगरी यो चलचित्रको चर्चा पूरा हुँदैन । आयुष्मानले आफ्नो करिअरकै उत्कृष्ट काम गरेका छन् । प्रेमकथाका चलचित्र हेर्न रुचाउनेले सानो मन हेर्न सिफारिस’ पराजुलीले फेसबुकमा स्टाटस लेखेका छन् ।