एकसरो कपडामा लुके नाटकका कलाकार 

- राजाराम पौडेल

श्रावण ४, २०७६

विभिन्न कार्यक्रमको बहानामा विदेश हुइँकने अनि विदेश पुगिसकेपछि उतै लुक्ने क्रम नौलो होइन । कतिपय स्थितिमा आयोजक तथा संयोजक नै त्यस्तो कार्यमा संलग्न रहेको समेत पाइन्छ भने कतिपय अवस्थामा कलाकारको गलत नियतकै कारण आयोजक तथा संयोजकहरूलाई तनाव हुने गरेको छ । त्यतिमात्र होइन, कार्यत्रमको नाममा विदेश जाने र उतै लुक्ने प्रवृत्तिका कारण राम्रो नियत झएका कलाकारलाई समेत समस्या हुने गरेको छ । 

यही क्रममा हालै जर्मनीमा युथ त्रिएसन थिएटरको प्रस्तुतिमा निर्माण भएको नाटक घेरो प्रदर्शन गर्न गएका तीन जना कलाकार जर्मनीमै लुकेका छन् भने कलाकारले गरेको गल्तीका कारण युथ क्रिएसन थिएटर समस्यामा परेको छ । विभिन्न टीकाटिप्पणी तथा आलोचनाका कारण यो विषयमा उनीहरूले पत्रकार सम्मेलन नै गरेर आफ्नो पक्ष आयोजना गरेरै प्रस्ट पार्ने प्रयास गरेका छन् । थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनले कलाकारहरू भागेको कुरा पुष्टि भएको छ भने त्यसमा आफmूहरूको कुनै सम्लग्नता नरहेको युथ क्रियशन थिएटरको दाबी छ । 

युथ त्रिएसन थिएटरका अध्यक्ष कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरू सम्झना अधिकारी शर्मा, अञ्जना पौडेल संरचना, मधुसुदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारी, सरोज अर्याल, सन्दिप डंगोल गरी १२ जना असार १८ गते जर्मनीतर्फ लागेका थिए । 

उनीहरूमध्ये कलाकारहरू मधुसूदन पौडेल, अञ्जना पौडेल संरचना तथा शर्मिला बस्नेत उतै लुकेको बताइन्छ । मधुसूदनले त आफू पोर्चुगल पुगेको जानकारी फेसबुकमार्फत नै गराएका छन् । ‘अहिले पोर्चुगलमा छु, मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन, राजीखुसीले आएको हुँ– पौडेलले लेखेका छन् । जर्मनीमै लुकेका भनिएका अञ्जना र शर्मिला भने यो समाचार तयार पार्दासम्म कसैको सम्पर्कमा देखिएका छैनन् । 

जर्मनी जाँदा सबै कलाकारलाई फर्कने प्रतिबद्धता गराएर लगिएको थिएटरका अध्यक्ष कपिल शर्मा बताउँछन् । सम्पर्कविहीन भएका कलाकारले पहिले सन्चो नभएको भनेर कार्यक्रम स्थलमा जान मानेनन् । पछि उनीहरू होटलमा थिएनन् । उनीहरूका कारण संस्थाको साख गिरेको शर्माको दुखेसो छ । उनीहरू लुकेको विषयलाई मानव तस्करी भन्न नहुने शर्माले बताए । 

उनीहरू भागेको विषयमा आयोजक तथा नेपाली दुतावासलाई जानकारी दिइएको सचिव सौगात पोखरेलले बताए । आयोजकले हामीहरूलाई ३० जना सम्म आउन सक्छौ भनेर निमन्त्रणा गरेका थिए, तर हामीले १२ जनाको मात्र भिसा निवेदन दियौ  । हामीले यहींबाट सबैसँग व्यक्तिगत रूपमा सम्झौता गरेका थियौं, जसरी पनि सबै जना फर्कने भनेर । हामीले त्यहाँ पुगेको पहिलो दिन बेलुका सामूहिक मिटिङ गरेर पुनः प्रतिबद्धता जनायौं अनि सेप्टेम्बरमा क्यानाडा जाने भएकाले कसैले पनि बेइमानी नगर्नेसम्म भन्यौं ।

जर्मनीको कार्यक्रम हामीले सोचेको भन्दा सयौ गुणा भव्य थियो, जहाँ ४३ देशका नाटक तथा सांस्कृतिक टोली सहभागी थिए । पहिलो दिन हामी निकै राम्रो र भब्य तबरले नाटक देखाएर राती होटल फर्कियौं । भोलिपल्ट बिहान सात बजे पुन कार्यक्रममा जानुपर्ने थियो । पूर्वनिर्धारित समयअनुसार हामी बिहान खाजा खाएर राष्ट्रिय पोसाकमा सबै जना एकसाथ जान खोज्दा मुधुसुदन पौडेल, अञ्जना पौडेल र शर्मीला बस्नेतले नुन खान नपाएकाले पेटमा समस्या आयो, आज झाँकी प्रदर्शन मात्र हो । हामी होटलमै रेष्ट गछौं भने । हामीले हुन्छ भन्यौ । त्यसपछि हामी कार्यक्रम स्थलतर्फ लाग्यौ ।

कार्यक्रमको बीच–बीचमा हामी उनीहरूसँग म्यासेन्जरमा कुरा गरिरहेकै थियौं । उनीहरूले स्वास्थ्यमा समस्या आएको भनेकाले उपचारका लागि आयोजकलाई भनेर होटलमै डाक्टर पठायौं । डाक्टर होटलमा पुग्दा त उनीहरू छैनन् भन्ने खबर आयो । हामी झल्याँस्स भयौँ । त्यसपछि हामीले तत्काल उनीहरूसँग सम्पर्क गर्न खोज्यौ तर सम्पर्क भएन । उनीहरू आफ्ना सबै लगेज होटलकै काउन्टरमा छोडेर एकसरो कपडामा भागेका रहेछन् । हामीले उनीहरू भागे भनेर आयोजक तथा जर्मन दुताबासलाई खोजिदिन अनुरोध गर्‍यौं– शर्मा र पोखरेलले भनेका छन् । 

प्रकाशित :श्रावण ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्