साप्ताहिक संवाददाता
अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘घर’ आगामी साउन ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् । हरर शैलीको चलचित्रको ट्रेलर तथा पोस्टरमा सुरक्षालाई तर्साउने चरित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक कार्यक्रम वा कहीँकतै भेट्दा सामान्य बोलचाल गर्ने अर्पण र सुरक्षाले यही चलचित्रमा पहिलोपटक सहकार्य गरेका हुन् । झन्डै २५ दिनमा छायांकन सम्पन्न भएको चलचित्र घरमा सँगै काम गरेपछि निर्देशक अर्पणको नजरमा सुरक्षाको काम गर्ने शैली यस्तो छ :
सुरक्षा काममा कटिबद्ध अभिनेत्री हुन् । उनी कुनै चलचित्रको चरित्र जस्तै आफूलाई पनि फिट राख्छिन् । चलचित्र घरमा काम गर्दा नै सुरक्षाको कामका बारेमा अपडेट हुने मौका पाएँ । उनीसँग मेरो व्यक्तिगत ढंगको चिनजानी छैन । यद्यपि उनी काम गर्न सजिली कलाकार हुन् ।
काममा कहिल्यै नाइनास्ती गर्दिनन् । सुरक्षामा पैसा नै ठूलो कुरा हो भन्ने सोच छैन । उनी हरेक चरित्रमा राम्रो अभिनय गर्न सक्छिन् । यद्यपि उनी सबै चरित्रमा राम्रो अभिनय गर्दा पनि त्यसमा भावुक बन्न खोज्छिन् अर्थात् हरेक चरित्रमा इमोसन देखाउन खोज्छिन् । त्यो बानीमा सुधार गरिदिए अझ राम्रो हुन्थ्यो ।