मानिस मानिसबीच हुने कुनै सम्बन्ध सामान्य भैकन पनि अचम्मका हुन्छन् । सबैका हुन्छन् यस्ता चिनजान, स्थान र पात्र फरक भए पनि यस्ता घटना घटिरहेका हुन्छन् । यस्ता कुरा जो–कसैले भोगे पनि कसैलाई भनिँदैन । धेरै अघि मेरा एक शिक्षक थिए । खासै राम्रो पढाउँदैनथे । धेरै विद्यार्थी फेल भएपछि आक्रोशमा उनको नाम के–के मात्र राख्न भ्याएनन् विद्यार्थीहरूले । मेरो भने उनीसँगको सम्बन्ध मध्यम नै थियो ।
जीवनमा धेरै उतारचढाव आयो । कसैबाट सुनेथेँ, उनका लागि बितेका वर्षहरू त्यति राम्रा रहेनन् । करिब १२–१३ वर्षपछि उनी एक दिन कामविशेषले म काम गर्ने अफिसमा आए । म भएको ठाउँमा आएर सिधै भने– कति पैसा दियो भने यो जागिर पक्का हुन्छ ? मेरी वाइफलाई लगाउनुपर्यो । श्रीमतीका लागि जागिरको आवेदन दिन आएका रहेछन् । मैले यहाँ खुला प्रतिस्पर्धा हुन्छ, यहाँ दायाँबायाँ हुँदैन भनेँ । उनले अझै जिद्दी गरे । क–कसलाई कतिकति दिनुपर्ने हो देऊ, काम मिलाएबापत तिमी पनि राख तर जसरी नि मिलाऊ । म पन्छिन खोजेपछि उनी हतोत्साहित हुँदै जोडजोडले कराउन र गाली गर्न थाले । मैले पनि जवाफ फर्काएँ । केही बेरको चर्काचर्कीपछि मैले यही दिन देख्न तिमीहरूजस्ता चेलालाई पढाएछु, धन्यवाद भन्दै बाहिरिए । कोहीकोही मानिस शत्रु भएकै राम्रा हुन्छन्, त्यसपछि हामी खुसीराजी एक–अर्काका शत्रु भयौँ ।
विडम्बना, जिन्दगी त्यति छोटो पनि छैन कि आफूलाई मन नपर्ने मानिस दोहोर्याएर कहिल्यै नभेटिऊन् । त्यसो हुन यो विश्व त्यति विराट पनि छैन । केही वर्ष बिते । प्रायःजसो, खास भन्नुपर्दा दिनमा दुई पटक उनको र मेरो बाटो काटिन्छ । भन्नुपर्दा उनीसँग अब मेरो कुनै वैरभाव छैन तर म कामना गर्छु कि हामी नभेटिएकै राम्रो । म बिहान अफिस जाँदा बाटोमा उनलाई भेट्छु । फर्कंदा पनि जम्काभेट हुन्छ । उनको घर र मेरो अफिस अनि उनको अफिस र मेरो घर लगभग एकै ठाउँमा छ । दुईमध्ये कुनै एकले समय, डेरा वा जागिर बदलिएन भने बाँचुञ्जेल हाम्रो भेट निश्चित छ ।
जब उनले मलाई देख्छन् तुरुन्त नजर परिवर्तन गरेर अन्तै कतै हेरेजस्तो गर्छन् अनि म पनि भुइिँतर हेरेर बेवास्ता गरेको छनक दिन्छु । हामी दुवै एक अर्कालाई मन पराउदैनौँ साँचो हो तर त्यति धेरै घृणा पनि गर्दैनौँ कि कानुनी राज्य नभएको भए एक–अर्काको ज्यान नै लिऊँ । एक दिन मेरो मोटरसाइकल दुर्घटना हुँदा उनी केही मिटर पर थिए । म हिलोमा जाकिएर थल न बल भएको थिएँ । उनी सहयोग गर्न पनि आएनन् न त हाँसे नै, तर आँखाको कुनाबाट म अन्दाज गर्न सक्थेँ कि उनको ओठमा नजाँनिदो मुस्कान फैलिएको थियो । म यो कुरामा पनि ढुक्क थिएँ कि यदि मेरो दुर्घटना गम्भीर भएको भए उनी हेरेर मात्र त पक्कै बस्दैनथे । किनभने यदि म उनको ठाउँमा भैदिएको भए पनि आपत्कालिन अवस्थामा जरुर अस्पताल लान सहयोग गर्थे ।
हामी एक–अर्कालाई घृणा गर्छौं तर त्यति धेरै पनि गर्दैनौँ कि आफ्नै आँखाअगाडि अर्कोले मृत्युवरण गरेको देख्नु परोस् । मानिसको जातको खासियत के छ भने ऊ आफ्नो शत्रुका बारेमा खुबै चासो राख्छ । बरु उसलाई आफ्नो घनिष्ठ भनिने मित्रका बारेमा त्यति कुरा थाहा हुँदैन जति शत्रुका बारेमा थाहा हुन्छ । उसले हरतरह र स्रोतबाट आफ्नो शत्रुका बारेमा जानकारी बटुलिरहेको हुन्छ । मलाई उनको सबै नालिबेली थाहा छ ः उनी कहाँ के काम गर्छन्, छोराछोरी कहाँ के पढ्दै छन्, उनी कहाँ गएर अधिकांश समय बिताउँछन् इत्यादि । म निश्चिन्त छु कि उनलाई पनि मेरो बारेमा केही बढी नै जानकारी छ । कसैको बारेमा प्रचुर जानकारी पाउन उसँग वर्षौंसम्म नबोले पनि केही फरक नपर्ने रहेछ । हामी दुईबीच वैरभावको सीमा यतिसम्म छ कि उहासँग यदि कोही बोल्यो भने म त्यो ब्यक्तिसँग सम्भव भएसम्म नबोल्ने वातावरण सिर्जना गर्न लागिपरेको हुन्छु अर्थात् निरर्थक भए पनि हामी दुई आफ्नो वरिपरि एकअर्का बिनाको छुट्टै संसार बनाउन चाहन्छौँ ।
हाम्रा बाटाहरू एक–आपसमा दिनहुँजस्तो काटिए पनि हाम्रा जिन्दगीहरू भने समानान्तर भएर अघि बढिरहेका छन्, तसर्थ म जब मलाई मन पर्ने एउटा पसलमा किनमेल गर्न जाँदै थिएँ, मैले उनलाई केहि कुरा किन्न बार्गेनिङ गरिरहेको देखेँ । मैले त्यहाँ जानुको सट्टा अर्कै पसलमा गएर सब्जी किनें । त्यस्तै एक दिन म केही साथीसँग मुभि हेर्न सिनेमा हल गएको थिए । मेरो हातमा टिकट देखेपछि ती सरले काउन्टरमा गएर जबरजस्ती टिकट साटे अनि अर्कै मुभि हेर्न हल ‘बी’ मा छिरे । तसर्थ हामी एक अर्कालाई यतिसम्म मन पराउँदैनौँ कि सिनेमाको असली आनन्द लिन हामी कम्तीमा एक हल पर अर्कै मुभि हेरिरहेको हुनुपर्छ । त्यसै पनि उनी कसरी निर्धक्कसँग चलचित्रको आनन्द लिन सक्छन् र जब आफूले मन नपराएको मानिसपनि त्यहीँ कतै बसेर सोही फिलिम हेरिरहेको छ भन्ने थाहा छ । हामी दुईको जिन्दगी यस अर्थमा समानान्तर छ— परबाट देखिए पनि हामी आपसमा कहिल्यै बोल्दैनौँ । एक–अर्काको सबै कुरा थाहा पाए पनि थाहा नपाएजस्तो गर्छौं ।