साप्ताहिक संवाददाता
वर्षातमा स्मार्टफोनका साथै अन्य ग्याजेटहरू भिज्ने खतरा प्रबल हुन्छ । त्यसैले यो समयमा चिसो हातले स्मार्टफोनको प्रयोग गर्नु हुँदैन । हातलाई सुकाएर मात्र स्मार्टफोन प्रयोग गर्नुपर्छ । घरबाहिर निस्कनुपरे आफ्नो स्मार्टफोन सुरक्षित राख्न बजारमा उपलब्ध वाटरप्रुफ पाउच प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी यसलाई ब्यागमा पनि राख्न सकिन्छ । पानीले टाउको भिजेको छ भने मोबाइल फोन प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा कान हुँदै पानी मोबाइल फोनसम्म पुग्न सक्छ र मोबाइल खराब हुने सम्भावना हुन्छ ।
पानी परिरहेको समयमा इयरफोन वा ब्लुटुथ प्रयोग गरेर सहज तरिकाले कुराकानी गर्न सकिन्छ । यदि मोबाइल फोन पानीले भिजिहाल्यो भने कल गर्ने वा कल रिसिभ गर्ने प्रयास गर्नु हुँदैन । त्यसो गरे सिग्नल क्याच गर्ने प्रयासमा मोबाइलभित्र समस्या सिर्जना हुनसक्छ । मोबाइल भित्र पानी पस्यो भने त्यसलाई स्वीच अफ गरेर ब्याट्री, सिम तथा डाटा कार्ड निकाल्नुपर्छ ।
त्यसपछि यसलाई चामलमा राखेर सुकेपछि सफा सुती कपडाले पुछ्नुपर्छ । भिजेको मोबाइल फोन पूर्ण रूपमा नसुकेसम्म अन गर्न हुँदैन । धेरैले हेयर ड्रायर प्रयोग गरी मोबाइल फोन सुकाउने प्रयास गर्छन् । त्यसबाट मदर बोर्ड बिग्रने डर हुन्छ । भ्याकुम क्लिनरले पनि मोबाइल फोन सुकाउने प्रयास गर्नु हुँदैन ।