साप्ताहिक संवाददाता
खीर
खीर साउन महिनामा खाइने मुख्य परिकार हो । दूध तथा चामलको समिश्रणबाट तयार गरिने खीर बनाउने विधि विभिन्नमा स्थान र जातिअनुसार फरक–फरक छ । खीर बनाउने विधि फरक भए पनि यसको स्वाद भने लगभग एउटै हुन्छ । साउन महिनामा खीर खाइनुको वैज्ञानिक तथा प्राकृतिक कारण छ । विज्ञान सम्मत मान्यताअनुसार खीरले शरीरमा ऊर्जा वृद्धि गर्छ । साउन महिनामा पानीले भिजेको शरीरलाई तताउन खिरबाट प्राप्त हुने ऊर्जाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । प्राकृतिक मान्यताअनुसार साउन महिनामा खीर खाइनुको कारण दूधको बढी उत्पादन हो । गाईवस्तुले हरियो घाँस बढी खाँदा उनीहरूले दिने दूध अघिपछिको भन्दा पातलो हुन्छ । यस्तो दूध दही जमाएर नौनी निकाल्ने प्रयोजनमा प्रयोग गरिँदैन । त्यसैले दूधको प्रचुरताका कारण खीर खाएर दूधको खपत गरिन्छ ।
आवश्यक सामग्रीः दूध, चामल, चिनी, मरिच, सुकमेल, नरिवल, काजु–किसमिस, ध्यू आदि ।
विधिः सबैभन्दा पहिले दूध उमाल्ने । उम्लिने क्रममा दूधको मात्रा घटेर दुई तिहाई रहेपछि त्यसमा चामल हाल्ने । चामललाई पाक्न दिने । चामल पाकेर दूध बाक्लो हुन थालेपछि मरिच तथा सुकमेलको धुलो हाल्ने । त्यसपछि मसिनो गरी काटिएको नरिवल, काजु, किसमिस आदि मसला हाल्ने भने अन्तमा चिनी हालेर चलाउने । आगोबाट निकाल्नु अघि पाकेको खिरमा माथिबाट ध्यू छर्कने । यसरी तयार भएको खीर तात्तातै वा चिस्याएर खान सकिन्छ । खीरसँग पुरी वा सुक्खा रोटी पनि खाने चलन छ ।
हरियो मकैको रोटी
सामग्री ः हरियो मकै, नुन तथा घ्यू ।
विधि ः सबैभन्दा पहिले अलि–अलि छिप्पिएको, अलि– अलि दूधे मकै छानेर गेडा छोडाउने । त्यसपछि उक्त गेडालाई सिलौटामा मसिनो हुने गरि पिस्ने । यसरी पिसिएको लेदोमा सुकेको मकैको तयारी पिठो मिसाएर रोटी पकाउन योग्य लेदो बनाई आवश्यकताअनुसार नुन हाल्ने । उक्त लेदोलाई तावामा चटामरी वा चाम्रे रोटी जस्तै गरी पकाउने । यस्तो रोटी पकाउँदा स्वादका लागि नुनको ठाउँमा चिनी पनि हाल्न सकिन्छ । यो रोटी कुनै पनि अचारका साथ नास्ता वा खानाका रुपमा खान मिल्छ ।
साँधेको हरियो भटमास
सामग्री ः हरियो भटमास, मसिनो गरी काटिएको अदुवा, लसुन तथा हरियो खुर्सानी, मसिनो गरी काटिएको बियाँ तथा गुदी निकालिएको अधकल्चो गोलभेंडा, नुन, कागतीको रस, तोरीको तेल एवं मेथीको गेडा ।
विधि ः हरियो भटमासलाई पाक्ने गरी उसिनेर छोडाउने । त्यसपछि त्यसमा काटिएको अदुवा, लसुन, खुर्सानी तथा गोलभेंडा मिसाउने । यी सबै सामग्रीमा नुन र कागती स्वादअनुसार हालेर मोल्ने । त्यसपछि तातो तोरीको तेलमा मेथी डढाएर झान्ने । साँधेको हरियो भटमास खाजा वा स्न्याक्सका रूपमा खान सकिन्छ ।
मकैंको फाँडो
सामग्री ः कलिलो दूधे मकै (आवश्यकता अनुसार), घ्यू, हरियो खुर्सानी, लसुन, प्याज, टिम्बुर, नुन ।
विधि ः सबैभन्दा पहिले हरियो मकैको गेडा छोडाएर त्यसलाई सिलौटामा पिसेर दूध निकाल्ने । यसरी निस्किएको मकैको दूध छानेर एउटा भाँडामा राख्ने । फाँडो बनाउनु अघि लसुन, टिम्मुर तथा हरियो खुर्सानी मसिनो गरी पिसेर तयारी अवस्थामा राख्ने । प्याजलाई मसिनो गरी काट्ने । यी सबै तयारी भैसकेपछि फलामको कडाही वा ताप्केमा घ्यू तताउने । त्यसपछि खैरो हुँदासम्म प्याज भुट्ने अनि मकैको दूध खन्याउने । मकैको दूध उम्लिन थालेपछि वाक्लो हुँदै जान्छ । त्यसलाई आवश्यकताअनुसार पातलो बनाउन पानी वा मोही हाल्ने । त्यसपछि पिसेको हरियो खुर्सानी, लसुन तथा टिम्मुर मिसाउने । यी सबै सामग्री उम्लिएर फोका उठ्न थालेपछि स्वादअनुसार नुन हाल्ने । फाडो सुपका रूपमा अथवा दालका रूपमा खान सकिन्छ ।