साप्ताहिक संवाददाता
चलचित्र उद्योगमा पाइला चाल्दै गर्दा शिल्पा मास्केलाई लामो दौडको घोडाको रुपमा हेरियो । लण्डन बसाइ छोडेर नेपाल आएकी उनले यसअघि हलिउड चलचित्र ‘डाक्टर स्ट्रेन्ज’ मा समेत काम गरेकी थिइन्, सोहि कारण नेपाली चलचित्र उद्योगमा उनलाई निकै महत्वका साथ हेरिएको थियो ।
नेपालका नाम चलेका निर्देशक हेमराज बिसीको चलचित्र ‘ब्रेकअप’ बाट डेब्यू गरिन् । तर, यो चलचित्र अनमोल केसीको क्याप्टेनसँग जुध्यो, फ्लप भयो । शिल्पाको करिअरको पहिलो यात्रामै ठेस लाग्यो । सानो चोट पनि लाग्यो । उनले त्यसपछि चलचित्र अपिल बिस्टको चलचित्र कागजपत्रमा काम गरिन् । यसबाट उनले निकै आशा गरेकी थिइन् । प्रचारप्रसारका हिसावले यो चलचित्रले राम्रै प्रतिक्रिया दिन्छ कि जस्तो लागेको थियो उनलाई । यो चलचित्रले त पोस्टर टाँस्न प्रयोग हुने माडको पैसा पनि उठाएन । तनावले शिल्पाको निद्रा हरायो ।
शिल्पाले अझै आशा मारेकी थिइनन् । यसै क्रममा चलचित्र ‘सानो मन’ले उनको मलिन चेहरामा उज्यालो थपिदियो । पुर्ण प्रेम कथामा आधारित चलचित्र ‘सानो मन’ को प्रमोशन खासै नभएपनि निर्माण पक्षले चलचित्र दमदार बनेको बताएको थियो । तर, यो चलचित्र पनि मज्जाले भुईंमा पछारियो । दर्शकले पत्याएनन् । यो चलचत्रिको ब्यापार पनि शिल्पाका अघिल्ला चलचित्रको जस्तै भो । आखिर कलाकारहरुले जति ठुला गफ गरेपनि दर्शकले नपत्याएपछि केहि नलाग्दो रहेछ नि !
एक पछि अर्को गर्दै सुपर फ्लप चलचित्रमा ह्याट्रिक गरेकी शिल्पा अब के गर्छिन् ? चलचित्र उद्योगमा निरन्तर संघर्ष गर्छिन् त ? कि लण्डन फर्किन्छिन् ? त्यसका लागी भने समय नै कुर्नुपर्ला ।