साप्ताहिक संवाददाता
इंग्ल्यान्डले जसरी यस पटकको विश्वकप जित्यो, त्यसमा धेरैको गुनासो हुनेछ, तर उसले विश्वकप उपाधिसम्म तय गरेको यात्रामा गुनासो गर्ने ठाउँ भने छैन । अझ इंग्ल्यान्डलाई उपाधिको वास्तविक हकदार नै मान्न सकिन्छ । खेलकुदमा दोहोर्याएर भनिन्छ, बहादुरलाई मात्र भाग्यले साथ दिन्छ ।
यसपटकको विश्वकपमा इंग्ल्यान्ड वास्तवमै बहादुर थियो, त्यसैले पनि उसलाई भाग्यले साथ दियो र अन्ततः पहिलो पटक विश्वकप जित्न सफल भयो ।
यो विश्वकपमा इंग्ल्यान्डको चर्चा गर्न चार वर्षअघि फर्कनैपर्छ, जति बेला इंग्ल्यान्ड विश्वकप–२०१५ बाट लज्जास्पद ढंगले बाहिरिएको थियो । टिम नकआउट चरणसम्म पनि पुग्न सकेन । त्यो वास्तवमै बिर्सनलायक फ्रदर्शन थियो । यस्तोमा इंग्लिस क्रिकेटमा निकै लामो बहस चल्यो र सबैले माने, इंग्ल्यान्डले एकदिवसीय त्रिकेटलाई जसरी हेर्छ, त्यो दृष्टिकोणमा ठूलो परिवर्तन आउनैपर्छ र त्यही परिवर्तनको नेतृत्व लिए पूर्व कप्तान
तथा त्यति बेलाका निर्देशक एन्ड्र्यु स्ट्रसले ।
उनले टिमको प्रशिक्षकमा अस्ट्रेलियाली ट्रेभर बेलिसलाई ल्याए जसले इंग्लिस टिममा ब्यापक परिवर्तन ल्याए । परिणामस्वरूप सन् २०१५ को विश्वकप सम्पन्न भएको केही वर्षमै इंग्ल्यान्डले मजबुत एकदिवसीय टिम घोषणा गरिसकेको थियो, जसले कुनै पनि खेलमा आरामले चार सय रन कटाउन सक्थ्यो । त्यही वर्षदेखि सुरु भएको इंग्ल्यान्डको कठिन यात्राले अन्ततः उसलाई यसपटकको विश्वकप दिलाएको छ ।
प्रतियोगिता अघि नै भनिएको थियो, इंग्ल्यान्ड उपाधिको सबैभन्दा बलियो दावेदार हो । फाइनल र सेमिफाइनलमा इंग्ल्यान्डको प्रदर्शन पनि त्यस्तै रह्यो, तर समग्रमा इंग्ल्यान्डले लिग चरणमा धेरै हदसम्म संघर्ष गरेको थियो र जति बेला टिमबाट निर्णायक खेलको अपेक्षा गरिएको थियो, ठीक त्यही बेला टिमले त्यस्तै खाले मजबुत प्रदर्शन पनि गर्यो । टिम मजबुत छ, खेलाडीमाथि विश्वास छ भने उपाधि जित्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण बनेको छ– इंग्ल्यान्ड ।
यसपटकको विश्वकपका क्रममा पनि केही यस्ता मोड आए, जहाँ इंग्ल्यान्डको सेमिफाइनल यात्रा नै कठिन देखिएको थियो । दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा हराएयता इंग्ल्यान्ड पाकिस्तानसँग पराजित भयो । त्यो आफैंमा स्तब्धपूर्ण नतिजा थियो । त्यसयता इंग्ल्यान्डले बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तानलाई हरायो, तर लगतैको खेलमा श्रीलंकाको हातबाट पराजित भयो र उसको बाटो निकै कठिन सावित भयो ।
त्यसपछि इंग्ल्यान्डले खेल्नु पर्ने टिम थिए, अस्ट्रेलिया, भारत र न्युजिल्यान्ड । यी तीन टिमविरुद्धको नतिजा कुनै तरीकाले तलमाथि हुँदा पनि इंग्ल्यान्डका लागि सेमिफाइनलको बाटो बन्द हुन सक्थ्यो, तर यही कठिन मोडमा इंग्ल्यान्डले आफू कस्तो टिम हो भनेर देखायो र ती सबै खेल लगातार जित्यो । लिग चरणमा भारतले एउटै खेल मात्र गुमाएको थियो र त्यो इंग्ल्यान्डविरुद्ध नै थियो । आखिर इंग्ल्यान्ड दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्यो ।
सेमिफाइनलमा उसको प्रतिद्वन्द्वी फेरि एकपटक अस्ट्रेलिया थियो । उक्त खेलमा पनि टिमको प्रदर्शन फेरि एकपटक निकै मजुबत रह्यो । डिफेन्डिङ च्याम्पियनविरुद्ध इंग्ल्यान्डको जित एकपक्षीयजस्तै थियो । यो खेलपछि अस्ट्रेलियाली कप्तान एरोन फिन्चले पनि माने, इंग्ल्यान्ड फाइनलका लागि पूरा हकदार छ ।
न्युजिल्यान्डविरुद्धको फाइनलमा इंग्ल्यान्डको प्रदर्शन कस्तो रह्यो, त्यो सबैका सामु छ र भन्न कर लाग्छ— इंग्ल्यान्डले पछिल्ला चार वर्षमा गरेको मेहनतले नै यो टिमलाई उपाधिको हकदार बनाएको हो ।