साप्ताहिक संवाददाता
यो साता चलचित्र घरले सोलो रिलिज हुने मौका पायो । हरर जनरामा निर्माण भएको यो चलचित्रले दर्शक पाउला वा नपाउला भन्ने धेरैको जिज्ञासा र चासो थियो । चलचित्र घर निर्माण टिमले चलचित्रको ओपनिङ् निक्कै सुखद रहेको बताएको छ ।
शुक्रबारदेखि रिलिज भएको चलचिक्रले शुत्रबार र शनिबार राम्रो व्यापार गरेको यसको निर्माणपक्षको दाबी छ । चलचित्र ‘सुनकेशरी’ बनाएर बिगारेको हररको बजार ‘घर’ले सुधार्ने अर्पण थापाको अपेक्षा छ ।चलचित्रको निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार, शुक्रबार र शनिबार चलचित्रले ५० लाख माथिको ग्रस कलेक्शन गरेको छ ।
डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालले भने–‘हरर चलचित्रमा जुन तरिकाको दर्शकको चाप देखिएको छ यसले हामीलाई हौस्याएको छ । सिंगल र मल्टिप्लेक्स दुबैमा चलचित्रको व्यापार सुखद छ ।’ दिपेन्द्रले चलचित्रलाई अपुरो शैलीमा सकेको बताउादै दर्शकले ‘घर २’ बनाउन माग गरेको समेत बताए । उनले नेपालमा पनि हरर चलचित्रमा दर्शकको चाप राम्रो रहेकाले ‘घर २’ बन्नेतर्फ संकेत गरे ।
६० लाख रुपैयााको लगानीमा बनेको चलचित्रले हल र डिजिटल राइट्सबाट लगानी उठाएको निर्माण कम्पनीले दाबी गरेको छ । शर्मिला पाण्डेको लगानीमा बनेको चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले रुचाएका छन् ।