रमेश सिलवाल गत सातामात्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका हुन् । नेपाली खेलकुदको मुख्य गभर्निङ बडी खेलकुद परिषद्को नेतृत्वले ल्याउने योजना, कार्यक्रमजस्ता कुराले समग्र देशको खेलकुदको भविष्य निर्धारण गर्छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) को विभिन्न पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका सिलवालसँग जनक तिमिल्सिना तथा महेश तिमल्सिनाले गरेको कुराकानी :
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्त हुनुभयो । के गर्ने योजना बनाउनुभएको छ ?
तत्काललाई मेरो एक सूत्रीय एजेन्डा १३ औं साग गर्ने हो । किनभने, यो हामीले तेस्रो पटक सारिसक्यौं, अब सार्नु हुन्न । अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गर्ने होइन, नेपालको सम्मान बढाउनुपर्छ । त्यसैले यसैलाई आफ्नो मेरो पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको छु । सागपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता छ, त्यसको तयारीमा पनि लाग्नुपर्छ ।
साग तीन पटक सर्नुको मुख्य कारण पूर्वाधारलाई मानिँदै आएको छ । अहिले पनि पूर्वाधार तयार भैसकेको छैन । झन्डै ५ महिनामा साग गर्न सम्भव छ ?
छ, त्यसलाई मैले क्यालेन्डर बनाएरै अघि बढाउन खोजिरहेको छु । सम्भवः नभए म भन्दिनँ । मैले सबै ठाउँ गएर भ्याएको छु । मेरो वर्किङ स्टाइल अरुको भन्दा फरक छ । मैले क्यालेन्डर बनाएर कुन दिन के गर्ने ? कसो गर्ने ? भन्ने कुरा पास गरेर त्यही अनुसार काम सुरु गरेको छु । मैले सबै काम सक्ने अन्तिम समय कात्तिक १५ दिएको छु । त्यसभन्दा पछाडि पनि हामीसँग एक महिना समय हुन्छ । कात्तिक १५ गतेभित्रै यतिका काम कसरी सम्पन्न गर्ने भन्ने सेड्युल बनाएरै हिँडेको छु । त्यसैले सकिदैन भन्ने मलाई लाग्दैन । यदि कुनै कारणवश कात्तिक १५ भित्र सकिएन भने १५ दिन बढेर मंसिरसम्म सकियो भने हाम्रो गेम त मंसिर १५ देखि हो । हामी त्योबीचको समय पनि उपयोग गर्न सक्छौं । यद्यपि चुनौतीपूर्णचाहिँ छ, वर्षा छ, मैले चाहेर पनि पानीलाई डाइभर्ट गर्न सक्दिनँ । दसैं, तिहारजस्ता चाडबाड छन्, त्यसलाई इग्नोर गर्न सकिँदैन । यी पक्षमा पनि विचार पुर्याउनुपर्छ, होइन भने सम्भव छ ।
सागका मुख्य चुनौती के छन् ?
एउटा मात्र चुनौती छैन् । एउटा पूर्वाधार विकासको चुनौती छ । अर्को खेलाडीलाई विकास गर्नुपर्ने, खेलाडीलाई स्वदेश तथा विदेशमा प्रशिक्षण दिनुपर्ने, क्लोज क्याम्पमा राख्नुपर्ने आदि चुनौतीहरू छन् । अहिले प्राक्टिस गर्ने ठाउँ पनि छैन । आर्थिक एवं प्रशासनिक व्यवस्थापनको अर्को चुनौती छ । यो त पहिलो चरणका चुनौतीहरू हुन् । दोस्रोमा हामीले सुरक्षा, होटल व्यवस्थापनलगायतका सबै चुनौती फेस गर्नुपर्नेछ । यो प्रतियोगितामा झन्डै–झन्डै १० हजार जनाको इन्भलमेन्ट हुन्छ । खेलाडी, प्रशिक्षक, अफिसियल, पत्रकार, दर्शक आदि सबैको व्यवस्थापन मिलाउनुपर्ने चुनौती छ । यससँगै गासिएको समारोह (उद्घाटन र समापन)को सुरक्षा व्यवस्थापन पनि सँगै गासिएर आएको छ । ७ दिनअघि के साग हुन्छ र भन्ने अवस्था थियो, अहिले साग हुन्छ कि भन्ने अवस्थामा मिडियाहरू पुगेका छन्, यो पनि त उपलब्धि नै हो ।
भनेपछि अबका पाँच महिना तपाईं मिसन सागमै लाग्नुहुन्छ ?
हो, तर यतिमात्र गरेर सुख पाइँदैन । मेरो प्रमुख लक्ष्य मिसन साग नै हो । बाह्य कारणले रोकिएन भने म यसलाई सम्पन्न गर्नेमा दृढ छु ।
यो त खेलकुद प्रतियोगिता सम्बन्धी कुरा भयो । अरु के–के गर्ने योजना छ ?
हाम्रो पूर्वाधार मेचीदेखि महाकालीसम्मै एकदम कमजोर छ । मेरो ध्यान पूर्वाधार निर्माणमा पनि छ । निर्माणमात्र होइन, कतिपय पूर्वाधारको संरक्षण एवं संवर्द्धन गर्न पनि जरुरी छ । त्यतिन्जेलसम्म खेलकुद ऐन पनि आउँछ । ऐन आइसकेपछि ती पूर्वाधारहरू केन्द्रले समातेर बस्नु हुँदैन, पूर्वाधारहरू प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको संरक्षण–संवर्द्धन गर्ने दिशामा उहाँहरूको ध्यान केन्द्रित गराउनुपर्छ । त्यसबाहेक खेलकुदभित्र प्रशासनिक सुशासन प्रदान गर्ने, पारदर्शिता एवं स्वच्छतामा पनि जोड दिनुपर्ने आवश्यकता छ । यसका साथै खेलकुदमा लागेका मानिसहरूको सम्मान कसरी अभिवृद्धि गर्ने भन्ने कुरामा पनि हामीले ध्यान दिनु जरुरी देखिन्छ । अहिले विस्तारै खेल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदैछ ।
खेलकुदलाई अनुत्पादन क्षेत्र मानिएको छ, खेलकुद अनुत्पादक क्षेत्र होइन, उत्पादक क्षेत्र हो । त्यसका दुई कारण छन्, एउटा यो आमजनताका लागि पनि प्रोडक्टिभ सेक्टर हो, किनभने ऊ फिजिकल्ली फिट हुनुपर्यो । शारीरिक रूपमा फिट भए मात्र मानसिक रुपमा फिट हुन सकिन्छ । आमजनतालाई खेलकुदसँग कसरी जोड्ने भन्दा योग, व्यायाम, प्राकृतिक चिकित्सा, खेलकुद र संगीत, खेलकुद र जीवनजस्ता माध्यमबाट यसलाई जोड्नुपर्छ । पदक ल्याउन मात्र खेल्ने होइन, शारिरीक स्वस्थताका लागि पनि अब हामीले खेलकुदको विकास गर्नुपर्छ । अर्को कुरा यो क्षेत्रमा लागेर मेरो जिन्दगी सम्मानपूर्वक रुपमा बिताउन सक्छु भन्ने स्थिति सिर्जना हुनुपर्छ । यसलाई अर्को हिसाबले भन्ने हो भने व्यवसायिकताको विकास गर्नुपर्छ । म यो पक्षमा पनि योजना बनाउँदैछु ।
विगत चार वर्षदेखि जारी नेपाल क्रिकेट संघ (क्यान)को विवादलाई कसरी सल्टाउनुहुन्छ ?
मेरो पहिलो चरणको कुरा भएको छ । त्यसको परिणाम के आउँछ, आइसीसीको यो बैठकमा हेर्नेछु । क्रिकेट विवादमा आउनुपर्ने विषय थिएन तर विवादमा आइदियो । क्रिकेट विवादमा आउनुको पहिलो कारण हामीले मुद्दा–मामिला बढी रुचाउनु पनि हो । हामी नियमसंगत, कानुनसंगत ढंगमा जाँदैनौं, मुद्दा–मामिला धेरै गर्छौं । सर्वोच्च अदालत पुग्नेबित्तिकै स्टे अर्डर दिने तर मुद्दा फैसला नगरिदिने समस्या छ । ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । त्यसो हुँदा सर्वोच्चमा जानै भएन, गैसकेपछि छिटो फैसला गर्ने अवस्था सिर्जना गर्नुपर्छ । छिटो फैसला भएको भए अहिलेसम्म यो विवाद रहँदैनथ्यो । अहिले म आइसीसीले गर्ने निर्णय कुरेर बसेको छु । दोस्रो कुरा आइसीसीको निर्णय यदि सकारात्मक आयो भने हामी त्यो दिशामा अघि बढ्छौं । यदि आएन भने त्यहीअनुसार हामी अर्को चीज गर्छौ । अबको ६ महिनाभिक्र यो विवाद सल्टिएर त्रिकेटले एउटा ट्र्याक लिन्छ । मैले ६ महिनाभित्र किन भनेको भने ४ महिना मैले सागमा केन्द्रित हुनुपर्छ, यदि सम्भव भयो भने म यही बीचमा पनि कुनै न कुनै सोलुसन निकाल्छु । विवाद गरेर हुँदैन, सोलुसन निस्कन्छ पनि । जो–जो विवादित पक्ष छन्, उहाँहरूलाई राखेर समस्याको समाधान निकाल्न म प्रयासरत छु । उहाँहरूसँग मेरो कुराकानी पनि भैरहेको छ ।
नेपालमा धेरैतिर अतिराजनीतिकरणले समस्या सिर्जना गरिरहेको पाइन्छ । क्रिकेट संघमा पनि एउटा कारणका रुपमा त्यसैले काम गरेको हो । तपाईंले राजनीतिक पूर्वाग्रहबिना समाधान गर्नुहुन्छ भनेर विश्वास गर्न सकिन्छ ?
म क्रिकेट संघको उपाध्यक्ष, महासचिव भैसकेको मान्छे, म त्यहाँ जाँदा राजनीति भयो र ? हिजो काम गर्दाचाहिँ त्यो राजनीति नहुने, पदमा पुगेपछि राजनीति हुने भन्ने विश्लेषण नै गलत हो । त्यसो भन्ने मानिसहरू नै राजनीति गरिरहेका छन् । मैले नेगेटिभ कुरा कोट्याउन नचाहेको मात्र हो, तर त्यहाँ भित्र हेर्ने हो भने हिजो जो–जो क्रिकेट संघमा लागे भनेर भनियो नि, फेरिहस्त हेर्नुहोस् त, अहिलेसम्म उनीहरूले क्रिकेटका लागि के–के गरे ? त्यो भन्दा अघिको इतिहास हेर्नुहोस्, हिजो हाम्रो टिम हुँदाखेरि दुई वटा अन्तर्राष्ट्रिय गेम नेपालमा हुन्थ्यो । त्यो वातावरण दुईबाट बढ्दै थियो, त्यसबीचको पिरियडमा एउटै भयो ? सर्वोच्च अदालतले सुशासन भएन, कारवाही गर भनेर निर्देशन दिएको छ । त्यो राजनीतिक पूर्वाग्रह हो ? सर्वोच्चमा कुनै पार्टीको नेता त गएका थिएनन् होला । संसद्को समितिले निर्देशन दिएको छ । त्यसमा साझा निर्देशन छ, यो वा त्यो पार्टीको होइन । भनेपछि, हामीले यी कुरामा पनि ध्यान पुर्याउनुपर्छ । यद्यपि अब हामीले यो पाटो छोड्नुपर्छ, एजेन्डासहित आउनुपर्छ । मैले संघलाई के दिए भन्ने मान्छे आउनुपर्छ, संघबाट मैले कति पाएँ, के पाउँछु भन्ने मान्छे होइन । जो अहिले विवादका कुरा गरिरहेका छन् ती धेरै छैनन्, ४–५ जना छन्, तिनलाई क्रिकेटका अपराधी भन्छु म ।
तिनीहरूकै कारण क्रिकेट ध्वस्त भएको हो । अपराध गर्न पाइन्छ ? खेलाडीहरूको भविष्य बन्धकी राख्न पाइन्छ ? मेरो पालामा पनि मैले आइसीसीसँग सिधैं भनेको थिए, म बाधक हो भने बसौं छलफल गरौं योजना र कार्यक्रमसहित कुन मान्छे, कुन टिम उपयुक्त हुन्छ छलफल गरेर राखौं, मेरो यति जना उति जना पनि भन्दिन, मेरो मान्छे नपर्दा पनि मेरो कुनै गुनासो छैन । म त्यहा दरखास्त हालेर गएको होइन, सरकारका तर्फबाट तपाईंले राइट ट्र्याकमा लगिदिनुहोस् भनेर अनुरोध आयो, त्यसलाई स्वीकारेर गएको हुँ ।
भनेपछि क्रिकेटको धुमिल वातावरणलाई राम्रो बनाउन जुनसुकै त्याग गर्न पनि तयार हुनुहुन्छ ?
यो त्याग नै होइन, यो गर्नुपर्ने काम हो । त्याग, तपस्याका भन्ने गफ छोडिदिए हुन्छ, जसले सिन्को भाच्दैन, त्यो मान्छेले त्यागको गफ गर्छ, मैले त्यागे भन्छ । म त्यसका पछाडि गए भने यो विवाद लम्बिन्छ । म त्यता जान नचाहेको हुँ, उहाँहरूसँग छलफल गरुँला । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको नाताले यो विवाद हल गर्ने जिम्मेवारी र दायित्व मेरो हो । म त्यो जिम्मेवारी निर्वाह गर्छु । जो विवाद समाधान गर्न चाहँदैनन्, अर्थात् विवाद उल्झाउनेहरूलाई क्रिकेटका अपराधी हुन भनेर घोषणा गर्छु म । त्यसपछि म अनुरोध गर्छु, यिनीहरूलाई सामाजिक बहिष्कार गरौं भनेर ।
तेक्वान्दो संघ र कराँते संघमा पनि विवाद छ नि ?
कराँतेको विवाद समाधान भैसक्यो । अरू सबै विवाद समाधान भैसके । क्यानको विवाद भनेको प्रतिबन्ध कसरी हटाउने भन्ने मात्र हो । अब क्यानमा अरु विवाद छैन । त्यसैगरी तेक्वान्दोको एउटा समस्या बाँकी छ, त्यसमा पनि वार्ता र छलफल भैरहेको छ, छिट्टै त्यसको निकास निस्कन्छ भन्नेमा म विश्वस्त छु ।
संघहरूको निर्वाचनमा पनि राखेपको हस्तक्षेपको कुरा उठ्छ । स्वतन्त्र रुपमा काम गर्ने वातावरण कसरी तयार गर्नुहुन्छ ?
राखेपको हस्तक्षेप हुँदैन । संघको निर्वाचन गर्दा नै राखेपको प्रतिनिधिको मातहतमा, रोहवरमा मात्र चुनाव सम्पन्न हुन्छ । राखेपले हस्तक्षेप गर्ने होइन, राखेपले त उहाँहरूले गरेको कुरा ठीक वा कानुनसम्मत छ कि छैन भनेर न्युट्रल भूमिका खेल्ने हो । न्यायाधीशले हस्तक्षेप गर्यो भन्न मिल्छ र ? हस्तक्षेप त वकिलले गर्छ, आफ्नो मुद्दाको पक्षमा बहस, पैरवी गर्छ । न्यायाधीसले त न्याय दिने हो । त्यसैले न्यायाधीसले हस्तक्षेप गर्दैन ।
राखेपले ठूलो बजेट पाउँछ, तर पूर्वाधार छैन । बजेट फ्रीज हुन्छ । यो विरोधाभास कसरी हल गर्नुहुन्छ ?
बाहिरबाट हेर्दा मात्र ठूलो बजेट देखिन्छ, भित्र बजेट पुग्दैन । कर्मचारीको तलब सुविधा कसैले काट्न मिलेन । सामान्य प्रशासनको बजेट एउटा छ, निर्माणको खास–खास समयबाहेक बजेट ठूलो छैन । खासखास समय भन्नाले अहिले सागका बेलामा निर्माणको काम गर्नुपर्ने भएकाले बजेट आएको छ । हिजो राष्ट्रिय खेलकुद गर्नुपर्यो त्यसका लागि बजेट बढेको छ । अरु सामान्य समयमा बजेट बढेको छैन । प्राप्त बजेटलाई आन्तरिक र बाह्य दुवै स्रोत मोबिलाइज गरेर अति उत्तम रिजल्ट निकाल्नुपर्ने स्थिती छ ।
खेलाडी बिमाको कुरालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यो बहसको विषय नै होइन । बिमाबिना म कुनै पनि प्रतियोगिता सञ्चालन गर्नै दिन्न । खेलाडीमात्र होइन, प्रशिक्षक र अफिसियलको पनि अनिवार्य बिमा हुनुपर्छ । बिमा गरिसकेपछि मात्र खेल सञ्चालन गर्नुपर्छ । मैले त्यो निर्देशन दिइसकेको छु, त्यसको कार्यान्वयन पनि सुरु भैसकेको छ ।
खेलाडीको जीवन निर्वाहको कुरा पनि एकदम टड्कारो रूपमा उठ्छ । यसलाई कसरी समाधान गर्नुहुन्छ ?
यसलाई दुई तरिकारले समाधान गर्नुपर्छ । सबैको जीवन निर्वाहको जिम्मेवारी राज्यले लिन सक्दैन । त्यसका लागि उत्कृष्ट खेलाडीहरूलाई प्राइभेट सेक्टर, सरकारी सेक्टर अथवा संस्थान आदिबाट प्रायोजन गर्नुपर्छ । खेलाडी भनेर आम खेलाडीमा गयौ भने फेरि हामी चुक्छौं । हामीले गर्ने भनेको के हो भने अन्तर्राष्ट्रिय खेल खेल्ने राष्ट्रियस्तरका खेलाडीहरू जसले स्वर्णपदक, रजत पदक तथा कास्य पदक जितेका होलान, उहाँहरूले सम्मानपूर्ण जीवन जिउने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । अरुलाई टाइअप गर्न सक्नुपर्छ–स्कुलबाट, कलेजबाट, क्लबहरूबाट, डोजोहरूबाट । यिनीहरूलाई कसरी टाइअप गर्ने, त्यसैगरी संस्थानहरूसँग कसरी टाइअप गर्ने, विभिन्न उद्योग–व्यवसायको सेक्टरमा कसरी टाइअप गर्ने त्यो पक्षमा हामीले ध्यान दिनुपर्छ ।
नेपालमा खेलकुद कल्चर पनि बसिसकेको देखिँदैन । खेल संस्कार निर्माण गर्ने सन्दर्भमा कसरी काम गर्नुहुन्छ ?
त्यो एकदिनमा बस्दैन । भत्किएको चीजलाई क्रमसः बनाउँदै जानुपर्छ । विस्तारै खेलकुद कल्चरको विकास भैरहेको छ । पहिलो कुरा त लिडरसीप इमान्दार हुनुपर्छ, त्यसपछि प्रशिक्षक, प्रमुख प्रशिक्षक आदि इमान्दार हुनुपर्छ । खेल क्षेत्रमा लागेका, अन्तर्राष्ट्रिय खेल खेल्नेहरू इमान्दार हुनुपर्छ । सबै इमान्दार भए भने त्यसको सकारात्मक परिणाम निस्कन्छ । हाम्रोमा त जो अगुवा हो, उसलै अनुशासन भंग गर्यो, कल्चर भंग गर्छ भने उसबाट सिक्नेले के सिक्छ ? यद्यपि हामीकहाँ खेल संस्कृति ध्वस्तै भएको होइन, कमजोर छ । यसलाई ट्र्याकमा ल्याउन सकिन्छ ।
राखेपको नेतृत्व राजनीतिक हुन्छ । सरकारले आफू निकटलाई यसमा नियुक्त गर्छ । त्यसैले राखेपमा बढी राजनीति हुन्छ ? तपाईं राजनीति गर्दिनँ भनेर कसरी विश्वस्त तुल्याउनुहुन्छ ?
मेरो एउटा पक्ष खुला छ, राजनीतिक पार्टीहरूले खेलकुदमा चासो दिनुपर्छ तर खेलकुदभित्र राजनीति गर्नु हुँदैन । विगतमा राजनीतिक पार्टीहरूले चासो कम दिने, खेलकुदमा बढी राजनीति हुने कारणले बिग्रियो । मलाई चाहिने कर्मचारी, प्रशिक्षक फिट छन् कि छैनन्, रिजल्ट ओरेन्टेड छन् कि छैनन् मैले हेर्ने हो । कुन पार्टीको के कसो छ भनेर मैले हेर्ने पनि होइन, त्यो मेरो जिम्मेवारीभित्र पर्दैन । त्यसैले मैले सबैलाई भनेको छु, मैले सबै पार्टीका मान्छेसँग भेटेको छु, सबै खेल संघहरूलाई भेट्ने क्रममा छु । अहिलेसम्म लगभग ५० वटा जति संघका पदाधिकरीसँग भेटिसके । १ सय ५६ वटा संघ छन्, एक हप्तामै मैले सबैलाई भेटेर साध्य पनि हुँदैन । मेरो अधिकतम समय युटिलाइज गरेको छु । यो एक हप्ताको अवधिमा म ३–४ घण्टाभन्दा बढी सुतेको छैन र साग नहुन्जेल म सुत्दा पनि सुत्दिन । मेरो एक सुत्रीय अर्जुनदृष्टि सागमा छ । त्यो गरेरै छाड्छु भनेर नै म यहाँ आएको हुँ । हिजो पनि २७ वटा खेलकुद संघसँग लामो अन्तक्रिया भयो । यसले सागको तयारीलाई तीब्रता दिनेछ ।
कर्मचारी व्यवस्थापनको पनि समस्या छ नि ?
यतिबेला खेलकुद परिषद्मा एक हजारमा दरबन्दी सिर्जना भएको छ, तर २०६१ सालयता कुनै प्रमोसन भएको रहेनछ । यसका लागि मैले केही दिनअघि मात्र मन्त्रालयसँग समन्वय गरेको छु । छिटोभन्दा छिटो यसको दरबन्दी र पाठ्यक्रम तयार गरेर लोकसेवा आयोगबाट सूचना निकाल्ने । त्यसो भयो भने पारदर्शिता र स्वच्छता हुन्छ, त्यसमा कसैले पनि मेरो मान्छे भन्न पाउँदैन, जो सक्षम हुन्छ ऊ आउँछ । यसो गर्दा नयाँ मान्छे पनि आउँछ । यसरी नयाँ र पुराना मान्छे हुने हुँदा यसले एउटा ट्र्याक समाउँछ । अर्को कुरा लामो समयदेखि करार, अस्थायी वा ज्यालादारी रूपमा काम गरिरहेका कर्मचारी पनि छन्, त्यो पाटोलाई पनि यसले एकहदसम्म सम्बोधन गर्छ । शत्प्रतिशत नै सम्बोधन हुन्छ त म भन्दिनँ तर ठूलो हिस्सा त्यसमा समावेश हुन्छ । त्यसबाहेक मैले कर्मचारीतन्त्रमा गर्ने अर्को काम भनेको कोचहरूको सन्दर्भमा स्थायी पदपुर्ती हुँदैन । संसारभर यस्तै चलन छ । हामीले फुटबल–क्रिकेट आदि हेर्ने हो भने पनि जित्दा कोचलाई रिवार्ड गरिन्छ, रिजल्ट राम्रो दिएन भने बरखास्त गरिन्छ, होइन भने कतिपय अवस्थामा आफैंले राजीनामा दिन्छन् । यसो भयो भने प्रतिस्पर्धी वातावरण सिर्जना हुन्छ । अर्को कुरा असल र राम्रा कर्मचारीहरू अघि बढ्छन् । त्यसैले म प्रत्येक कर्मचारीको फाइल मूल्यांकन गर्ने काम पनि अघि बढाउँदैछु ।