साप्ताहिक संवाददाता
वर्षा मौसमसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्ले नेपाली जनतालाई समेत सताएको छ । यो मौसममा सकेसम्म बाहिर कतै ननिस्कने, निस्कनैपरे उक्त स्थानको मौसमसम्बन्धी पूर्वजानकारी लिनु उपयुक्त हुन्छ । यही कार्यका लागि हाल सरकारी र गैरसकारी क्षेत्रबाट विभिन्न प्रविधि प्रयोग भैरहेको छ ।
टोल फ्री नम्बर– ११५५
वर्षातमा कतै बाहिर हिडडुल गर्नु छ र त्यहाँको मौसमका बारेमा जानकारी लिनु छ भने टोल फ्री नम्बर–११५५ मा सम्पर्क गर्न सकिन्छ । यसबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो एवं डुबान जोखिम क्षेत्रको जानकारी सहजै प्राप्त गर्न सकिन्छ ।
नेपाल फ्लड अलर्ट
फेसबुक पेज र ट्विटर
नेपाल फ्लड अलर्ट नामक फेसबुक पेज तथा ट्विटरमा पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्थासम्बन्धी जानकारी पाइन्छ ।
हाइड्रोलोजीको वेबसाइट
हाइड्रोलोजी डट जीओभी डटएनपी वेबसाइटमा पनि मौसमसम्बन्धी विस्तृत जानकारी हुन्छ । यसमा विभिन्न स्थानको मौसम अध्ययन गर्न सकिन्छ । वेबसाइटमा कुन खोलाको सतहको अवस्था कस्तो छ भनेर थाहा पाउन रातो, हरियो, पहेंलो, नीलो आदि रङ प्रयोग गरिएको छ । खोलामा उच्च बहाव भएपछि वेबसाइटमै साइरन बज्छ । त्यसैगरी जोखिम बढेको क्षेत्रमा तत्काल मोबाइलबाटै म्यासेज पठाउने व्यवस्था छ । यसका लागि जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकम तथा एनसेलसँग सहकार्य गरिरहेको छ ।
म्यासेजमार्फत बाढीको पूर्वसूचना
बाढीसम्बन्धी जानकारी अर्थात् बाढी पूर्वानुमानका लागि छुट्टै महाशाखा गठन गरिएको छ । महाशाखाले बाढीका कारण नदीको बहाव, वर्षाको खतरा, पहिरो एवं डुबान हुन सक्ने उच्च जोखिम रहेका २ सय २४ क्षेत्रको पहिचान गरेको छ । जोखिम क्षेत्रलाई प्राथमिकतामा राख्दै ती क्षेत्रमा सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति रोक्न पूर्वसूचना प्रदान गरिरहेको बताइएको छ । बाढीको पूर्वसूचना दिन देशका १ सय ३० स्थानमा स्वचालित बाढी–मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा रहेको राडारले हरेक मिनेटमा नदीको सतह बढे–घटेको जानकारी दिन्छ ।
चौबीसै घण्टा अवलोकन गर्ने प्रणालीका कारण ठूलो पानी परेको र बाढी आएको समयमा खतराको घण्टी बजाउँछ । खतरा र सतर्कताको तह पहिचान गरेर तटीय क्षेत्रमा मोबाइलमार्फत म्यासेज फठाइन्छ । जोखिमयुक्त क्षेत्रमा रहेका ब्यत्तिहरूका मोबाइल नम्बर अघिल्लो रात नै सिस्टममा राखिने हुँदा म्यासेज पनि त्यही नम्बरमा पठाइन्छ ।
त्यसैगरी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट सिस्मोनेपाल डटजिओभी डटएनपी, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाको वेबसाइट एमएफडी डटजिओभी डटएनपी तथा त्यसको ट्विटर एकाउन्ट डीएचएम वेदर र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको वेबसाइट एनईओसी डटजिओभी डटएनपी एवं यसको फेसबुक तथा ट्विटर एकाउन्ट एनईओसी अफिसियल, राष्ट्रिय विपत् व्यवस्थापन केन्द्रको वेबसाइट डीआरआरपोर्टल डटजिओभी डटएनपीमार्फत पनि विपद् सम्बन्धी सूचना–जानकारीहरू लिन सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले हालै सञ्चालनमा ल्याएको मोबाइलबाट सूचनाको सञ्चार नामक सेवाका लागि ३२१०० मा कल गरेर प्राप्त निर्देशन अनुसार मौसम तथा विपद् व्यवस्थापनलगायतका विषयमा जानकारी लिन सकिन्छ ।