साप्ताहिक संवाददाता
तीज आउन करिब डेढ महिना बाँकी छ, तर तीजका गीत बजारमा घन्किन थालिसकेको छ । रेडियो, टेलिभिजनका साथै युट्युब सामाजिक सन्जालहरू तीज गीतका भाका गुञ्जिन थालेका छन् । त्यससँगै लोकदोहोरी क्षेत्रका गायक, गायिकादेखि नर्तक, नृत्यांगनासम्मलाई तीज गीतको चटारोले छोपेको छ । कतिपयले यो वर्षको तीज गीत सार्वजनिक गरिसके भने कोही तयारीमा जुटेका छन् । यद्यपि विगतको वर्षको तुलनामा यसपालि तीजगीतको रेकर्डिङ सुस्ताएको संगीतकर्मीहरु बताउँछन् ।
हरेक वर्षको तीजमा जस्तै राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीले यो वर्ष ‘छड्के तिलहरी’ गीत बजारमा ल्याइसकेकी छिन् । उक्त गीतमा कोमल तथा उनकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर सुन्न सकिन्छ । दिदीबहिनीको सम्बन्धमा आधारित यो गीत यतिबेला चर्चामा छ । विगतका वर्षमा आधा दर्जनजस्तो तीज गीतमा स्वर दिने वलीको स्वास्थ्यमा समस्या आएका कारण यो वर्षको तीजमा यही एउटा मात्र तीज गीत बजारमा आउने भएको हो । वली भन्छिन्, ‘अरु तीज गीत पनि गाउने कुराकानी भैरहेको थियो, तर बिसञ्चोका कारण गाउन सकिनँ ।’ वलीले केही वर्षयता गायक पशुपति शर्मासँगको सहकार्यमा तीज गीत गाउँदै आएकी थिइन्, यसपालि पनि पशुपतिले उनका लागि गीत तयार पारेका थिए, तर स्वास्थ्यमा समस्या आएपछि उक्त गीत गाउन नसकिएको वली बताउँछिन् ।
तीज गीत र गायक पशुपति शर्मा एक अर्काका पर्याय हुन् । त्यसो त उनी अहिले तीज गीतको तयारीमा जुटेका छन् । उनको शब्द, संगीत तथा स्वरको ‘सुहायो चौपट्टै’ तीज गीत सार्वजनिक भैसकेको छ । उक्त गीतमा देवी घर्तीमगर, राजु ढकाल र सुमित्रा घर्तीको स्वर तथा अभिनय छ । आफ्नै शब्द–संगीतमा तीज गीत गाउँदै आएका शर्मा यो वर्ष तीनवटाभन्दा बढी तीज गीत नगाउने सोचमा छन् । शर्मा भन्छन्, ‘परार सालको तीजमा १२ वटा गीत गाएँ, जसमध्ये २ वटामात्र हिट भए, पोहोर ५ वटा गाएँ, एउटा मात्र हिट भयो त्यसैले यसपालि ३ वटामात्र गाउने सोचमा छु ।’ यो वर्ष पशुपतिले सिर्जना गरेको ‘सुहायो चौपट्टै’ गीत देवी घर्तीले आफ्नो लगानीमा निर्माण गरेकी हुन्, भने अरु दुईवटा गीतमा पनि अरु नै गायिकाको लगानी रहनेछ ।
तीजका समयमा थुप्रै गीत सार्वजनिक हुन्छन्, जसमध्ये केही गायक–गायिकको गीतले मात्र लोकप्रियता पाउँछ । ‘त्यसैले तीज गीतमा घाटा छ ।’ शर्मा भन्छन्, ‘तीज गीत हिट भएर गायक–गायिकालाई स्टेज कार्यक्रमको अवसर आयो भने फाइदा हुन्छ, तर तीज गीतको म्युजिक भिडियो मात्र बनाएर कुनै फाइदा हुँदैन ।’ गायक शर्माको सबैभन्दा बढी आम्दानी हुने भनेको यही तीजमा हो । तीजका बेला ऊनी देश–विदेशका स्टेज कार्यक्रममा निकै व्यस्त हुन्छन् । यतिबेला स्टेज कार्यत्रमबाट १० लाखको हाराहारीमा कमाई गर्ने गायक शर्मा बताउँछन् ।
तीजका बेला गायक खुमन अधिकारीका गीतले पनि सर्वाधिक चर्चा पाउँछन् । यो वर्ष अधिकारीकै शब्द संगीत तथा स्वरको ‘सरर बतास’ तीज गीत सार्वजनिक भैसकेको छ । यो गीतले चर्चा कमाइरहेको छ । त्यसबाहेक उनकै शब्द तथा संगीतको ६ वटा तथा अरूको सिर्जनाका करिब ४ वटा गीत सार्वजनिक हुने क्रममा छन् । खुमनको शब्द संगीत तथा स्वरको पैसा मागौं कि, लेउ लाग्यो तथा शीर्षक राख्न बाँकी तीनवटा गीत सार्वजनिक हुने तयारीमा रहेको अधिकारी बताउँछन् । गत वर्ष २६ वटा तीज गीतमा स्वर दिएका अधिकारी यो वर्ष भने १० वटा गीतमा सीमित हुँदैछन् । अधिकारी भन्छन्, ‘यो वर्ष क्वान्टिटीभन्दा पनि क्वालिटीमा बढी जोड दिदैछु । गत वर्ष २६ वटा तीज गीत गाए पनि २ वटा मात्र हिट भए, त्यसैले यसपालि थोरै गीत गाउँछु, सबै हिट गराउने प्रयत्न गर्नेछु ।’
तीजमा गायक रामजी खाँडका गीत पनि त्यत्तिकै घन्किन्छन् । यो वर्ष खाँडका तीज गीत सार्वजनिक भएका छैनन् । यद्यपि उनले मोडलिङ गरेका केही गीत भने सार्वजनिक भएका छन् । रामजीले अहिलेसम्म १२ वटाभन्दा बढी तीज गीतको भिडियोमा अभिनय गरिसकेका छन् भने आफ्नो स्वरको २ वटा तीज गीत ‘तीजैको खजना’ र ‘तीजै आयो बरिलै’ सार्वजनिक हुने क्रममा छन् । गायनमा भन्दा मोडलिङमा बढी व्यस्त हुँदै गएका खाँड आफूले एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत २५ हजार र गीत गाएबापत १५ हजार पारिश्रमिक लिने बताउँछन् । विगतका वर्षहरूमा खाँड देश तथा विदेशका तीज विशेष कार्यक्रमहरूमा व्यस्त हुन्थें । यद्यपि यो वर्ष उनी आइएमई लोक स्टारको निर्णायकको भूमिकामा व्यस्त रहने भएकाले तीजमा नेपालमै रहने बताउँछन् । खाँड भन्छन्, ‘तीजका बेला नै लोक स्टारको सुटिङ पर्ने भएकाले यसपालि नेपालमै हुन्छु ।’ नेपालमै रहे पनि देशका स्टेज कार्यक्रम, गायन एवं मोडलिङबाट यसपालिको तीजमा करिब १० देखि १२ लाखको हाराहारीमा कमाइ गर्ने उनको लक्ष्य छ ।
गायिका राधिका हमाल तीजको रंगमा नरंगिने कुरै भएन । यद्यपि विगतको तुलनामा यसपालि उनको पनि गीतको संख्या घटेको छ । हमालले यसपालि आफ्नै शब्द तथा संगीतको २ वटा गीत तथा अन्य सर्जकको ७ वटा गरी ९ वटा गीत गाएकी छिन् । उनको स्वरको दुपट्टा सारी र टिकटक गीत सार्वजनिक भैसकेको छ, भने उनकै शब्द संगीतको म त भाग्यमानी र जीवनसाथी सार्वजनिक हुने क्रममा छन् । त्यसबाहेक चरी, हे दिदीबहिनी हो, हाम्रो नेपालमा, गाना बजाना, जापानको सारी आदि गीत सार्वजनिक हुने तयारीमा छन् । हमाल एउटा गीतमा स्वर दिएबापत २० हजार पारिश्रमिक लिन्छिन् । तीजताका देश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त हुने हमाल यसपालि अस्ट्रेलिया, दुवई, जापान आदि देशमा प्रस्तुति दिँदैछिन् । तीजको समयमा करिव चार देखि पाँच लाखको हाराहारीमा कमाई हुने उनको अनुमान छ ।
विगतका वर्षहरूमा जस्तै गायक बद्री पंगेनीले यो वर्ष दुईवटा मात्र गीत सार्वजनिक गर्ने तयारी गरेका छन् । उनको तीजको दर र अर्को एउटा गीत सार्वजनिक हुने तयारीमा छन् । त्यसबाहेक पंगेनी तीज विशेष कार्यक्रमका लागि अस्ट्रेलिया, जापान, भारत आदि देश पुग्दैछन् ।
गायिका देवी घर्तीले यसपालि गायक पशुपति शर्माको सहकार्यमा ‘सुहायो चौपट्टै’ गीत सार्वजनिक गरिसकेकी छिन् । यो गीत उनले आफ्नै लगानीमा निर्माण गरेकी हुन् । उक्त गीत निर्माणमा करिब १ लाख ५० हजार खर्च भएको घर्ती बताउँछिन् । आफ्नै लगानीबाहेक घर्तीले यसपालि १५ वटा गीतमा स्वर दिएकी छिन् जसमध्ये मसान, चरी बस्यो, चर्तिकला मायालु, क्या राम्री देखियौ सार्वजनिक भएका छन् भने बाँकी गीत सार्वजनिक हुने तयारीमा छन् ।
गत वर्ष ८३ वटा तीज गीतमा स्वर दिएकी गायिका पूर्णकला बिसीले यसपालि १० वटामात्र तीजगीत गाएकी छिन् । उनको स्वरमा सजिएको हत्तेरी, टिकटक, झन्डुबाम, बाबाको बारी आदि गीत सार्वजनिक भैसकेका छन् भने बाँकी गीत सार्वजनिक हुने तयारीमा छन् । बिसी एउटा गीतमा स्वर दिएबापत १० हजार पारिश्रमिक लिन्छिन् ।
गायक प्रकाश सपूत यसपालि तीज गीत नल्याउने मनस्थितिमा छन् । केही समयअघि मात्र गलबन्दी आएपछि देश–विदेशका कार्यक्रममा व्यस्त हुनु परेकाले तीज गीतका लागि समय दिन नपाएको सपुत बताउँछन् । प्रकाश भन्छन्, ‘गलबन्दीपछि बाहिरका कार्यक्रममा व्यस्त भएँ साथै गलबन्दीको विषयलाई लिएर सीर्जित खटपटले पनि रचनात्मक कार्यमा लाग्न पाइनँ, त्यसैले यो वर्ष मेरो तीज गीत आउँदैन ।’ गायनका साथै मोडलिङमा समेत व्यस्त सपूतले यसपालि विगतको जस्तो तीजका म्युजिक भिडियोमा समेत अभिनय गरेनन् । प्रकाशका अनुसार गत वर्ष उनले ३० वटाभन्दा बढी तीज गीतमा अभिनय गरेका थिए, तर यसपालि ५/६ वटामात्र गीतको भिडियोमा मात्र अभिनय गरेका छन् । प्रकाश एउटा म्युजिक भिडियोमा अभिनय गरेबापत ४० देखि ५० हजार पारिश्रमिक लिन्छन् । गायक सपूत यो वर्षको तीज विशेष कार्यक्रमका लागि अष्ट्रेलिया, साइप्रस, कतार, हङकङ, कोरिया आदि देश पुग्दैछन् ।
करोडौं लगानी, आशा स्टेजको
नेपाली सांगीतिक क्षेत्रमा कति गीत रेकर्ड भए, कति सार्वजनिक भए, कुन गीतले राम्रो गरे अथवा कुन गीत असफल भए भन्ने लेखाजोखा राख्ने कुनै निकाय छैन । तैपनि तीजमा भने अरू बेलाको तुलनामा बढी गीत रेकर्ड हुने रेकर्डिङ स्टुडियो सञ्चालकहरू बताउँछन् । यो वर्ष ५ सयजति तीज गीत युट्युबमार्फत सार्वजनिक हुन सक्ने संगीतकार बिनोद बाजुरालीको अनुमान छ । एउटा गीत रेकर्ड भएर भिडियो निर्माण हुँदासम्म करिब १ लाख ५० हजारदेखि २ लाख रुपैयाँ खर्च हुने गायक पशुपति शर्मा बताउँछन् । यसरी एउटा तीज गीतको निर्माण खर्च १ लाख ५० हजार नै राख्दा पनि ५ सय गीतका लागि ७ करोड ५० लाख खर्च हुन्छ । यद्यपि त्यसको प्रतिफल भने नगण्य हुने संगीतकार बाजुराली बताउँछन् । गायक–गायिकाले गीतमा लगानी गर्छन्, तर त्यसबाट प्रतिफलको आशा नभएर स्टेज कार्यक्रमको आशाले गीतमा लगानी गरिने संगीतकर्मीहरू बताउँछन् ।
रेकर्डिङ घट्यो
विगतको तुलनामा यो वर्ष तीज गीतको रेकर्डिङ घटेको गायक–गायिका तथा रेकर्डिङ स्टुडियो सञ्चालकहरू बताउँछन् । पहिले तीजका गीत रहरले निकाल्थे, तर यो खर्च मात्र हो भन्ने कुरा बुझेपछि अहिले धेरैजसोले तीज गीत निर्माण गर्न छाडेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तथा गायक बद्री पंगेनी बताउँछन् । अध्यक्ष पंगेनी भन्छन्,‘पैसा भएका तर कला नभएकाहरूले पनि गीत तयार गर्थे, तर यो क्रम बिस्तारै घट्दै गएको छ, यो लोकदोहोरी क्षेत्रका लागि राम्रो कुरा हो ।’