साप्ताहिक संवाददाता
अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाबाट भोगेको घरेलु हिंसाको वृत्तान्त सार्वजनिक गरेपछि केहि हप्तादेखि मिडियामा उनिहरुकै समाचारले प्राथमिकता पाएको छ । चलचित्र बजार उनिहरुकै गफगाफले तातेको छ, चिया खाने चियापसल देखि दारु खाने भट्टि र रेष्टुरेन्टसम्म उनिहरुकै बारेमा गफगाफ चल्ने गरेको छ ।
छविसँग झगडा परेपछि झण्डैं १ महिनायता आफन्तको घरमा बस्दै आएकी छिन् शिल्पा । उनले छविविरुद्ध डिभोर्सको प्रक्रिया अगाडि बढाइसकेकी छिन् । पटक पटक कुटपिट, झगडा, अपाच्य रुपमा नानाथरिका कुरा बोल्ने, २४ सै घण्टा घरमा बन्देज बनाएर राख्न खोज्ने छविको व्यवहार सहन नसकेपछि शिल्पाले छविसँग अलग हुने सोच बनाएको बताइन् । पछिल्लो समय असार ८ मा चलचित्र ‘कविर सिंह’ हेर्न जाने निहुँमा उत्पन्न विवादपछि छविले शिल्पालाई कानको जालीमा प्वाल पर्ने गरी कुटपिट गरेको शिल्पाको आरोप छ । तर, छविले भने यो कुरा स्विकारेनन् । यदि कानमा प्वाल परेको थियो भने किन तुरुन्तै उजुरी गरिनन् ? तुरुन्तै किन अस्पताल गइनन् ? छवि भन्छन्, ‘यो सवै आरोप हो ।’
शिल्पाले बिहे गरेको एक महिनादेखिनै छवि ओझाले हिंसा गर्दै आएको बताएकी छिन् । पटक पटक घाँटी च्याप्ने र मार्ने समेत धम्की दिएको शिल्पाले केहि दिनअघि कान्तिपुरसँग बताएकी थिइन् । शिल्पाले भनेकी थिइन्, ‘पछिल्लो समय घाँटी च्यापेर छोड्दै नछोडेपछि लात्तले हानेर हिडेकी थिएँ, अत्ति भएपछि डिभोर्सनै गर्न खोजेकी हुँ ।’
शिल्पाले डिभोर्सको प्रक्रिया अगाडि बढाएपनि छविले भने फर्किन आग्रह गरिरहे, छवि निटक व्यक्तीहरुले शिल्पालाई फकाउन दिनरात लागिरहे । तर, शिल्पा कुनैपनि हालतमा नफर्कने अडान राखेकी छिन् । त्यसपछि उनिहरु दुवै आ–आफ्नै किसिमले मिडियामा अन्तरवार्ता दिइरहे । छविले आफ्नो फेसवुकमा स्ट्याटस लेख्दै घर फर्किन आग्रह पनि गरे । दुवैले आफ्ना गल्ती स्विकारेर फेरी सँगै बसौं भनेका छन छविले । तर, छविले अव शिल्पा नफर्कने अनुमान लगाइसकेका छन् ।
दुवैले एक अर्कालाई दोष थोपर्ने काम मात्रै गरिरहेका बेला केहि दिनअघि आइतबार अचानक अचम्मको खबरले आयो । छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि–शिल्पाविरुद्ध बहुविवाहको उजुरी दर्ता गरिन् । यो घटना मिडियामा सार्वजनिक भएपछि धेरैले अचम्म मानेका छन् ।
शिल्पालाई छविले चौथो श्रीमतीको रुपमा घर भित्राएकी हुन्, तिनवर्षअघि । धेरैलाई छविका विगतका घटनाबारे थाहा भएपनि ति श्रीमतीहरुले छोड्दै गएको मात्रै बुझेका थिए । तर, हेमासँग डिभोर्स नगरेरै छविले अन्य युवतीलाई श्रीमती बनाएको यो घटनापछि बुझ्न सकिन्छ ।
२०४१ सालमा हेमासँग बिहे गरेका छवि र हेमा कहिले छुट्टिए ? कसरी छुट्टिए ? त्यो पत्तो छैन । दुई छोरासँग छुट्टै बस्दै आएकी हेमापछि गीताञ्जली सुनुवारसँग दोस्रो बिहे गरे छविले । तर, गीताञ्जलीले आत्महत्या गरिन्, उनका एक छोरा छन् । त्यसपछि छविले अभिनेत्री रेखा थापालाई घर भित्राए, तेस्रो श्रीमतीको रुपमा । तर, यो सम्वन्ध पनि धेरै अघि बढ्न सकेन । १२ बर्षपछि उनिहरु अलग भए । अनि, चौथो श्रीमतीको रुपमा छविले शिल्पा पोखरेलसँग बिहे गरे, तिनवर्षअघि ।
तिनवर्षको प्रेम सम्वन्धपछि बिहे गरेका छविले शिल्पासँग विहे गरेको कुरा भने गसिपको रुपमा मात्रै बाहिर आएको थियो, आधिकारिक रुपमा भने आएको थिएन । आधिकारिक रुपमा भने शिल्पाले डिभोर्स माग्दै प्रहरीकोमा उजुरी गरेपछि मात्रै थाहा भयो । घटना डिभोर्सको बिन्दुतर्फ अघि बढिरहेका बेला एक्कासी छविको पहिलो श्रीमतीको तर्फवाट बहुविवाहको मुद्धा दर्ता भएको छ ।
यसअघि दुई श्रीमतीसँग वर्षौवर्ष बस्दा कहिल्यै मुद्धा दर्ता नगरेकी हेमा शिल्पाले डिभोर्स माग्ने बेलामा किन मुद्धा दर्ता गरिन् ? अहिले यो प्रश्नको जवाफ दिने बेला भएको छैन । तर, छवि र शिल्पा सँगै बस्दै आएको हेमाले थाहा पाएको र अन्तिममा शिल्पाले डिभोर्स दिन खाजेपछि हेमाले वहुविवाहको उजुरी दिन आएको बताइन्छ । शिल्पा र छवि निकट एक चलचित्रकर्मी भन्छन्, ‘डिभोर्स दिने क्रममा आधा सम्पत्ती शिल्पालाई दिनुपर्छ । यो उजुरीले शिल्पालाई तर्साएर सामान्य किसिमले छुट्टिने छविको ग्राण्ड डिजाइन हो, त्यसका लागी सहयोगीको रुपमा छविले हेमालाई भित्राएका हुन् ।’
छवि निकट अर्का एक चलचित्रकर्मी भन्छन्, ‘सम्पत्ती जोगाउन छविले ठुलो खेल रचेको कुरा अनुमान गर्न गाह्रो पर्दैन ।’ अचम्मको कुरा के हो भने छविले यसअघिका श्रीमतीसँग डिभोर्स गर्ने क्रममा कसैलाई एक पैसा दिएका थिएनन् । रेखाले त घर र गाडि समेत फिर्ता दिएर हिडेकी थिइन् । घटनापछि शिल्पासँगै बस्न खोजेजस्तो पनि गर्ने र अघिल्ला श्रीमतीले एक रुपैँया पनि नलगेको कुरा छविको बोल्दै आएका छन् । शिल्पा राम्रो सम्पन्न परिवारको युवती भन्दै उनको पक्षमा बोलेजस्तो पनि गरिरहेका छन् ।
कानुन अनुसार बहुविवाहको मुद्दा लाग्यो भने पाँच वर्षसम्म जेल सजाय हुन सक्छ । अब कथाले के मोड लिन्छ यसै भन्न सक्ने अवस्था छैन, तर छविले जुन खेल रचेका छन् यो सफल भयो भने शिल्पालाई जसरी घर भित्राएका थिए त्यसै गरेर खाली हात फर्काउन सक्नेछन् । हेमाले आफ्नो दिमागवाट यो काम नगरेको र यसका लागी छविले हेमाको सहयोग लिएको चलचित्र शहरमा निकै हल्ला फैलिएको छ । यद्यपी, पछिल्लो समय हेमाको जुन उजुरी आएको छ यसले भने छवि–शिल्पालाई अफ्ट्यारो पर्ने निश्चित छ ।