सम्बन्ध अर्थात् समान तरिकाले अनुबन्ध भएको वा जोडिएको कुरा । कसको कोसँग कतिखेर सम्बन्ध जुट्छ र कसको कतिखेर के भएर सम्बन्ध टुट्छ दैवलाई पनि थाहा हुँदैन । अक्सर मानिसहरू समान स्वार्थका कारण नजिक हुन्छन् । आपसी फाइदा र विश्वास छउन्जेल मानिसको सम्बन्ध सुमधुर नै रहन्छ । सम्बन्धमा आर्थिक कुराको पनि उत्तिकै महत्व हुन्छ । जे पाउनका लागि सम्बन्ध बनाइएको थियो त्यो नपाएपछि सम्बन्ध टुट्छ ।
सम्बन्ध साथी–साथीको, पति–पत्नीको, बा–आमा र छोरा–छोरीको, आफन्तसँगको, साझेदारको, प्रेमी–प्रेमिकाको, दाजुभाइ–दिदीबहिनीको अनेकन हुनसक्छ । सबै सम्बन्ध विश्वासमा चल्छन् । सधैं काम गर्ने कुरा आदानप्रदान गर्ने साथीले घात गर्यो भने, नराम्रो कुरामा फसायो भने साथी–साथीबीचको सम्बन्ध बिग्रन्छ । अनावश्यक शंका, हेपाहा व्यवहार, माया नगर्ने, व्यक्तिगत स्वतन्त्रताको अभाव, यौन असन्तुष्टि र बाह्य सम्बन्ध, आर्थिक कुरामा किचकिच आदि कारणले पति–पत्नीको सम्बन्ध बिग्रन्छ । अक्सर आर्थिक लेनदेनका कारण आफन्तसँगको सम्बन्ध बिग्रन्छ । एक–अर्कालाई दोषारोपण, बेइमानीका कारण साझेदारबीच दरार आउँछ । आफ्ना कुरा मात्र लाद्न खोज्ने, हेरचाह नगर्ने, काम र पढाइ तथा जीवनसाथी रोज्ने मामिलामा स्वतन्त्रता नदिनुका कारण अभिभावकहरूसँगको सम्बन्ध बिग्रन्छ । धन–सम्पत्तिको बाँडफाँडका कारण दाजुभाइको सम्बन्ध बिग्रन्छ । आपसी विश्वास एवं चाहना, अनावश्यक महत्वाकांक्षा तथा स्वार्थका कारण प्रेमसम्बन्ध समाप्त हुन्छ ।
कुनै दिन तिमीबिना बाँच्न सक्दिन भनेको मान्छे अचानक अब म तिमीसँग बाँच्न सक्दिनँ भन्ने मोडमा कसरी पुग्छ ? झट्ट हेर्दा एकैदिनमा एकैछिनमा सम्बन्ध बिग्रियो, सक्कियो भनेजस्तो लाग्छ तर निर्णायक मोडमा आउनुअघि अनेकन् घटना घटिसकेका हुन्छन् । अरूले हेर्दा केही नदेखिए पनि दुई जनाको हृदयमा अनेकचोटि बाढी–पहिरो गैसकेको हुन्छ ।
थाम्नै नसकेपछि, बाँध्नै नसकेपछि एक दिन अचानक त्यो विस्फmोट हुन्छ र आवरणमा सुमधुर देखिएको सम्बन्छ अनायास टुक्रा–टुत्रा हुन्छ । कहिलेकाहीँ अरूको लहैलहै र बहकाउमा लाग्दा पनि राम्रो सम्बन्ध बिग्रन्छ । सम्बन्धमा टकराव आएपछि अरूको कुराको पछि लाग्नुभन्दा पहिले दुई जना आपसमा बसेर दिल खोलेर कुरा गर्नु हितकर हुन्छ । तेस्रो व्यक्तिले वातावरण मिलाइदिन सक्छ तर दुई जनाको अन्तरंग कुरा र सम्बन्धका अनेक अवयव र आयाम उसलाई थाहा हुँदैन । दुई जनाबीच खास के भएको थियो भन्ने कुरा दुई जनालाई मात्र थाहा हुन्छ ।
मानिसले अरूलाई कहिल्यै पूरा कुरा सुनाउन सक्दैन, केही न केही लुकाएरै सुनाउँछ, असली पाण्डुलिपि त उसले हृदयमै लुकाएर राखेको हुन्छ । त्यसैले दुई जना आपसमा मन माझेर कुरा गर्दा कतिपय पटक ठूलो लागेको कुरा बाफ भएर जान्छ । लेखेर कुरा गर्नु, फोनमा कुरा गर्नु र भेटेर आँखा जुधाएर कुरा गर्नुमा फरक हुन्छ । भेटेर कुरा गर्दाको आत्मीयता र सद्भाव बेग्लै हुन्छ । एक–अर्कालाई देखेरै, आँखाको भावले वा बोलीले कतिपय कुरा त्यसै दूर हुन्छ ।
आफूले भनेजस्तो मात्र हुनुपर्छ, गर्नुपर्छ भन्ने सोचले धेरै कुरा बिगार्छ । उमेरअनुसार मानिसका इच्छा चाहना हुन्छन् । उमेर अन्तर भएका प्रेमील जोडीले एक–अर्काको उमेरको ख्याल र आवश्यकता विचार गर्ने हो भने समस्या टरेर जान्छ । शंका झगडाको बीउ हो, सकभर उम्रन नदिएकै जाती हुन्छ । शंकाले लंका जलाउन बेर लाउँदैन । अर्काको प्रगति देखेर डाहा गर्दा र त्यस्तै हुनुपर्यो भनेर रातारात उचालिँदा र अनावश्यक दबाब दिँदा सम्बन्धमा तनाव निम्तिन्छ । सकेको मेहनत र इमानले आर्जन गर्दै हैसियत बढाउँदै रमाउँदै अघि बढ्नु बुद्धिमानी हुन्छ । म ठूलो हुँ, तँ सानो होस्, म यस्तो खानदानको, म धेरै पढेको, बुझेको, म धनी भनेजस्ता अहंले पनि सही परिणाम ल्याउँदैन । एक–अर्काको अस्तित्व र प्राप्तिलाई सम्मान गरे कहिल्यै कालो मुख लाउनु पर्दैन । आफ्नो जोडीसँग असन्तुष्ट भएर राखिने बाह्य सम्बन्धले सदैव संकट पैदा गर्छ । एक–अर्कासँग नपाएका कुरा, अपेक्षा, असन्तुष्टि आदिमा खुलेर कुरा गर्यो भने अरुको सहारा लिएर आफनो घरपरिवार बिगार्ने परिस्थित सिर्जना हुँदैन ।
कुनै पनि मानिस सर्वगुण सम्पन्न र पूर्ण हुँदैन । सबै कुरा जिन्दगीमा एकैचोटि कसैले पनि पाउँदैन । कर्म गर्दै गएपछि भाग्यले पनि साथ दिँदै जान्छ र मानिसले आफूलाई चाहिने कुरा जोड्दै जान्छ । मायाप्रेम, विवाह आफ्नै उमेरको सँग, कम उमेरको सँग वा बढी उमेरको सँग पनि हुनसक्छ, त्यो ठूलो कुरा होइन, तर सम्बन्धको सम्प्रभुताचाहिँ समान हुनपर्छ । एउटा आगो हुँदा अर्को पानी हुन सके झगडाको आगो निभ्छ । अरूले सदैव राम्रै सोच्छन् भन्ने हुन्न उचालेर पछारेर सम्बन्ध बिगार्दिन खोज्नेहरू पनि हुन्छन् सचेत रहनेपर्छ ।
आफन्तसँग आर्थिक कारोबार गर्दा सय पटक सोच्नुपर्छ । रकम सानो–ठूलो हुन सक्छ तर परिणाम भयानक आउन सक्छ । पैसाले कसको कतिखेर बोलचाल खुलाउँछ र बन्द गराउँछ, चन्द्रेको बाउ इन्द्रेलाई पनि थाहा हुँदैन । छोराछोरीका कुरा सुनौं, बाबुआमाका कुरा सुनौं, साथीभाइ तथा साझेदारका कुरा सुनौं, कुरा गरौं, सबै समस्याको हल निस्कन्छ ।
आगो जोगाउन र सम्बन्ध जोगाउन प्रेमको हावाले जिन्दगीभर फु–फु गरिरहनेपर्छ । सम्बन्धमा खुसी नभएको मानिस कहिल्यै चैनले कर्म गर्न र निदाउनसक्दैन ।