साप्ताहिक संवाददाता
अभिनेता भुवन केसीले आजका मितिसम्म जुँगा फालेका छैनन् । न त उनले झ्पाप्प दाह्री पालेर सार्वजनिक समारोहमा उपस्थिति नै जनाएका छन् । यद्यपि, यसै साता काठमाडौंमा आयोजित ‘मिस्टर नेपाली’ चलचित्रको इन्डक्ल्याप समारोहमा उपस्थित भएका अभिनेता केसीको गेटअप देखेर सबै छक्क परे ।
प्रायः काला सिरुपाते जुँगामा मुसुक्क मुस्कुराउने अभिनेता केसी यसपटक फुलेका जुँगामात्र होइन, सेतै भएका दाह्रीसहित प्रस्तुत भए । झट्ट हेर्नेहरूले भुवनको सेतै फुलेका दाह्री–जुँगासहितको गेटअपलाई नौलो माने । सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेकाले उनीहरूले भुवनसँग सेतै फुलैका दाह्रीको बारेमा जिज्ञासा राखिहाले ।
भुवन पनि के कम, घुमाउरो पाराले दाह्री पाल्नुको रहस्य खोलिदिए । भुवनका अनुसार उनी आफ्नै ब्यानरको आफैले निर्देशन गर्ने नयाँ चलचित्रमा खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन्, जसमा अनमोल केसी अभिनेता छन् । उक्त चलचित्रमा खलनायकको चरित्रले केही डरलाग्दो देखिनुपर्नेछ । त्यसैका लागि उनले अहिले दाह्री पालेका हुन् ।
‘मेरो दाह्री अझ लामो हुनेछ, भुवन भन्छन्— चलचित्रको उक्त चरित्रले नै सेतै फुलेको दाह्री मागेपछि उनी अचेल त्यही गेटअपमा देखिन थालेका हुन् । यसबीच भुवन मिस्टर नेपालमार्फत झन्डै सात वर्षपछि अभिनयमा फर्किएका छन्, जसमा उनी सकारात्मक तथा नकारात्मक गरी दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् ।