साप्ताहिक संवाददाता
यो साता चलचित्र ‘एकलव्य’ प्रदर्शनमा आउँदैछ । पारिवारिक प्रेमकथामा आधारित यो चलचित्रको निर्देशन अनमोल शर्माले गरेका हुन् । चलचित्र एकलव्यमा सोनाम थापामगर, ओसन भट्टराई, पुष्कर राउत, सुशील पोखरेल, सुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुन आदिको अभिनय छ ।
एक दर्जनभन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव सँगालिसकेका निर्देशक अनमोलको यो निर्देशकीय ‘डेब्यु’ चलचित्र हो । शर्माका अनुसार चलचित्रले समाजमा बढिरहेको आपराधिक मानसिकता, गुण्डागर्दी, अपहरण, हत्या, भ्रष्टाचारजस्ता सामाजिक एवं राजनीतिक विषय प्रस्तुत गरेको छ ।
राजेन्द्र दुलाल, सोनाम थापामगर एवं अभी मगरले निर्माण गरेको यो चलचित्रमा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत–संगीत, भोजराज देवकोटाको पटकथा–संवाद, कृष्ण श्रेष्ठको छायांकन तथा अर्जुन जिसीको सम्पादन छ । यो चलचित्र उपत्यकामा गोपालकाजी कायस्थले तथा उपत्यकाबाहिर विक्रम पराजुलीले वितरण गर्दैछन् ।