साप्ताहिक संवाददाता
डब्लूआरडब्लूआर अर्थात् वुमेन राइडर्स वर्ल्ड रिले नेपालमा आइपुगेको छ । बेलायतबाट प्रारम्भ भएको उक्त रिले गत जुलाई १४ मा सुनौली हुँदै नेपाल भित्रिएको हो । भारतीय महिला बाइक राइडरहरूले आफुसंग भएको बेटन लुम्बिनीमा एक कार्यक्रमका बीच नेपाली महिला राइडरलाई हस्तान्तरण गरे ।
उक्त रिलेमा नेपालका तर्फबाट हिमालयन जिप्सिजका राइडर अमान्दा लुइस ग्रेगोरी, राइडर्स युनिफाइड/फोर तथा हिमालयन जिप्सिजकी राइडर मेरिना श्रेष्ठ सहभागी छन् । मेरिना र अमान्दा नेपाल लिगका लागि सद्भावना दूत हुन् । उनीहरूलाई अस्ट्रेलियाकी राइडर कोलेटल र स्पेनकी राइडर मारले साथ दिएका छन् ।
टिम नेपाल पहिलो दिन चितवन र दोस्रो दिन लहान पुगेको थियो । उनीहरू इटहरी हुँदै अन्तिम स्टपका रूपमा काँकडभिट्टा पुग्नेछन् । उत्तर पूर्वी भारतका लेडी राइडरहरूले त्यसपछि बेटन प्राप्त गरी बंगलादेश सिमानामा पुग्नेछन् । डब्लूआरडब्लूआरको सुरुवात गत वर्षको अगस्ट महिनामा हेले बेलले गरेका हुन् । मोटरस्पोर्टमा महिलाहरूलाई प्रोत्साहित गर्न यसको स्थापना गरिएको थियो ।
यसलाई सबैभन्दा ठूलो मोटरबाइक रिले पनि मानिन्छ । गत अगस्ट यता यो रिलेले करिव १ सय देशमा पुगेर १५ हजारभन्दा बढी महिलालाई प्रोत्साहित गरिसकेको छ । हाल यो रिलेमा सक्रियतापूर्वक भाग लिन करिब २ सय नेपाली महिलाले अनुरोध गरिसकेका छन् भने यो बढ्दो क्रममा छ ।