साप्ताहिक संवाददाता
नेपालमा भूतका चलचित्र बिरलै निर्माण हुन्छन् । अघिल्लो वर्ष निर्देशक अर्पण थापाकै निर्देशनमा भूतको चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको थियो । यद्यपि, उक्त चलचित्रले दर्शकलाई डर देखाउने भन्दा हँसाउने काम बढी गर्यो भन्ने टिप्पणी गरियो । यसपटक तिनै निर्देशक अर्पणले लामो होमवर्कपछि दर्शकलाई वास्तविक रूपमै डराउने शैलीको ‘घर’ निर्माण गरेका छन् । निर्देशक दीपेन्द्र के खनाल तथा शर्मिला पाण्डेले यसपटक निर्देशक थापालाई दर्शकलाई आतंकित बनाउने जिम्मा दिएका थिए । आफूले पाएको जिम्मेवारीमा निर्देशक थापा सफल देखिएका छन् । चलचित्रको प्रारम्भदेखि अन्त्यसम्मै दर्शकहरूमा अब के हुन्छ भन्ने कौतुहलता पैदा भैरहन्छ भने डरलाग्दो पृष्ठभूमि संगीतले हरेक दोस्रो दृश्यमा दर्शकलाई मज्जाले तर्साउँछ ।
चलचित्र घरको कथा निकै सरल छ । एउटा मध्यमवर्गीय दम्पती (अर्पण र सुरक्षा) ले काठमाडौंको भंगालमा निकै सस्तो मूल्यमा घर पाउँछन् । घर किन्नु अघि नै उनीहरूले उक्त घरमा एउटी किशोरीले आत्महत्या गरेको तथा एउटी वृद्धाको निधन भएको कुरा सुन्छन् । उनीहरूले बेला–बेलामा घरमा तर्साउने घटना समेत भैरहन्छ भन्ने कुरा पनि थाहा पाएका हुन्छन् ।
यद्यपि, आधुनिक समाजका ती दम्पत्ति भूत–प्रेतमा विश्वास गर्दैनन्, घर सरेर पूजा लगाएपछि सबै कुरा ठीक हुन्छ भन्ने सोच्छन् । काम विशेषले श्रीमान् काठमाडौं बाहिर जान्छन्, घरमा भएकी श्रीमती तथा उनकी बहिनी (बेनिशा हमाल) लाई पहिलो रातदेखि नै प्रेतात्माले तर्साउन थाल्छ । तर्साउने क्रम यसरी बढ्छ कि श्रीमतीमा वृद्धाको आत्मा प्रवेश गर्छ भने बहिनीमा किशोरीको । दुई अलग–अलग प्रेतात्माले दुई शरीरमाथि कब्जा गरेर एक–अर्कालाई सिध्याउने प्रयास गरिरहन्छन् । जम्मा दुई रातको घटना समेटिएको यो चलचित्रको अन्त्य समेत अब के हुन्छ ? भन्ने प्रश्न दर्शकहरूमै छाड्दै हुन्छ । चलचित्रको अन्त्यमा ‘समाप्त’ को स्थानमा ‘क्रमशः’ लेखिएकाले कतिपय जिज्ञासा अब अर्को चलचित्रमा प्रस्तुत गरिने लगभग तय जस्तै लाग्छ ।
चलचिक्रमा दैवी शत्तिविरुद्ध भूतको शक्तिलाई प्रतिस्पर्धा गराइएको छ तर चलचित्रको अन्त्यसम्म आइपुग्दा समेत दर्शकहरूले ऊक्त घरमा ती सबै डरलाग्दा घटनात्रम किन घटिरहेका छन् भन्ने कुराको जवाफ पाउँदैनन् । चलचित्रको दोस्रो भाग निर्माण गर्ने उद्देश्यका साथ यो चलचित्रमा प्रयोग गरिएका द्वन्द्व तथा निष्कर्ष अपूरै छाडिएका छन् । त्यसो त चलचित्रमा भूत र मानवबीचको द्वन्द्वमात्र छैन, साली र भिनाजुबीचको यौनिक आकर्षकदेखि बहिनीले दिदीसँग लिएको बदला समेत प्रस्तुत गरिएको छ । यद्यपि, वास्तविक जीवनका दिदी–बहिनीको बदला समेत भूतमार्फत लिइएको देखाइएको छ ।
चलचित्रमा नीरज कँडेलको छायांकनलाई सशत्त मान्न सकिन्छ । कँडेलले क्यामेरामार्फत नै कतिपय दृश्यलाई जीवन्त बनाएका छन् । अधिकांश दृश्य राति खिचिए पनि प्रकाश संयोजन उत्कृष्ट लाग्छ । सुरक्षा पन्तको अभिनय बेजोड छ भने बेनिशाले टिनएजरको भूमिकाप्रति न्याय गरेकी छिन् । अर्पणको खासै लामो भूमिका छैन, यद्यपि उनी आफ्नो भूमिकामा फिट छन् । हरर चलचित्रका पारखीहरूका लागि घर राम्रो बिकल्प हुन सक्छ । काठमाडौंका मल्टिप्लेक्समा गत बुधबारसम्म देखिएको युवापुस्ता (टिन एजरदेखि ३० वर्षसम्मका) को भीड हेर्दा घर सफल भएको संकेत मिल्छ ।
करिब ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको यो चलचित्रले मंगलबार साँझसम्म करिब ८० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माताहरूको दाबी छ । माउथ पब्लिसिटीका कारण सिनेमा हलमा दर्शकको संख्या बढिरहेकाले एक साताको अवधिमा चलचित्रले १ करोड रुपैयाँ ग्रस कलेक्सन गर्ने अनुमान गरिन्छ ।