विराट आदर्श साहित्यिक मञ्चको पाँचौं प्रस्तुतिका रूपमा नाटक ‘मुनामदन’ आज साउन १० गते शुक्रबारदेखि पोखरामा मञ्चन हुँदैछ । सविन कट्टेलको निर्देशनमा तयार भएको यो नाटकमा सरु कटुवाल, लकेश दंगोल, अनु श्रेष्ठ, निराशा ढुंगेल, सन्देश बाराकोटी, नवराज नेपाल, मिलन चाम्लिङ, नवराज गिरी, एन्जल बस्नेत, नुना कट्टेल तथा आशुतोष कोइरालाको अभिनय रहनेछ ।
यो नाटकको नाट्य रुपान्तरण कटुवाल दीपकले गरेका हुन् । १ घण्टा २० मिनेट लामो नाटक मुनामदन साउन १८ गतेसम्म पोखरामा मञ्चन हुने बताइएको छ । नियमित शो हरेक साँझ ५ बजे मञ्चन हुने नाटक शनिबार अतिरिक्त शो मार्फत दिउँसो १ बजे र बुकिङ शोमार्फत थप मञ्चन हुने नाटक युनिटको भनाइ छ । यो नाटक पोखरा थिएटरको गर्न्धव नाटकघरमा मञ्चन हुनेछ ।
हालसम्म ८६ शो मञ्चन भैसकेको नाटक मुनामदनलाई दर्शकको सकारात्मक प्रतिक्रियाका प्राप्त भएकाले नाटक युनिट उत्साहित देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित भएकाले यो नाटकमा विद्यार्थीहरूको विशेष चासो हुने सम्बद्ध रंगकर्मीहरूको अनुभव छ । महाकवि देवकोटाले लेखेको यो नाटक हेर्दा दर्शकले प्रस्तुतीमा फरकपन पाउनेछन् ।
प्रस्तुतीमा केही तोडमोड गरी नाटकलाई आर्कषक बनाउने प्रयास गरिएको विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दिपकले बताए । यो नाटक यसअघि विराटनगर स्थित आरोहण गुरुकुलमा दुई पटक तथा मोरङको विराटचोकका साथै काठमाडौंमा समेत मञ्चन भैसकेको छ । विराटनगरको विराट आदर्श साहित्यिक मञ्च नाटक मञ्चनका लागि पहिलोपटक पोखरा पुगेको हो ।