म २० वर्षीया अविवाहित महिला हुँ । २ वर्षअघि मेरो केटासाथीसँग यौनसम्पर्क हुन्थ्यो तर आज–भोलि हुँदैन । यौन सम्पर्क बन्द भएपछि अहिले मेरो यौनांग चिलाउँछ, योनि पनि केही खुकुलो भएको अनुभव गर्छु । यसले भविष्यमा समस्या निम्त्याउँछ कि जस्तो लाग्छ । यो समस्याबाट सहज निकास पाउने उपाय बताइदिनु अनुरोध छ ।
– पी.
तपाईं भर्खरै किशोरावस्था पार गरेर युवावस्थामा प्रवेश गर्नुभएको छ । तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ तर ती केटा साथीसँग तपाईंको कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख गर्नुभएको छैन । अहिले तपाईंको सम्बन्ध त्यही रूपमा नभएकाले त्यो सम्बन्ध पक्कै पनि गहिरो थिएन ।
युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमा भएका यौनसम्पर्कका पनि समस्या हुन्छन् । त्यसैले जोशमा होस गुमाउनु हुँदैन । तपाईंमा गर्भको भय भएको देख्दिन, सम्भवतः तपाईंले गर्भ निरोधको उपाय अपनाएको हुनुपर्छ । यौनांग चिलाउने कुराले यौनरोगको समस्यामा केही चासो भएको देखिन्छ । सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् भन्ने पनि तपाईंलाई थाहै होला । गहिरो वा प्रेममय सम्बन्ध बिना यौनसम्पर्कसम्म पुग्दा हुने समस्या अझ असजिलो किसिमको हुनसक्छ ।
खुकुलोपन
यौनसम्पर्क र योनिको खुकुलोपनको सम्बन्धको कुरा गर्नुभन्दा पहिले योनिको संरचनाका बारेमा कुरा गरौं । तपाईंले बुझ्नु पर्ने तथ्य के हो भने योनि मांसपेशीले बनेको एकदमै तन्कन सक्ने गुण भएको नली आकारको अंग हो । एक छिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा मुख खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? उदाहरणका लागि ठूलो लड्डु खाँदैमा हामी ओंठले सियो समात्नै नसक्ने हुन्छौं र ? त्यस्तो पक्कै पनि हुँदैन । योनिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । त्यसैले तपाईंको चासो वास्तबिक समस्या नभएकाले त्यसको खासै आधार भने छैन । तैपनि योनिको मांसपेशीलाई कसिलो बनाउन केगेल कसरत गर्न सकिन्छ ।
कसरी कसिलो बनाउने ?
केगेल(Kegel) यौनाङ क्षेत्रको मांसपेशीलाई वलियो बनाउन गरिने कसरत हो । यसका लागि तपाईंले सबैभन्दा पहिले pubococcygeus भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ । त्यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्याइ, तेहर्याइ उक्त मांसपेशी पहिचान गर्नुपर्छ । यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशी नै उक्त मांसपेशी हो । यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ । अब यसको कसरत गर्न थाल्नुपर्छ । सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात खुकुलो बनाउने । विस्तारै यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ । विस्तारै अझ बढाउँदै १० देखि १५ सेकेन्डसम्म संकुचित गर्ने र छोड्ने । यो क्रम बढाउँदै दिन भरीमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्याउने । यसरी ६ हप्तासम्म नियमित रूपमा यो कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ । यो मांसपेशीलाई संकुचित गरेर यौनसम्पर्कका बेला लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई मात्र होइन तपाईंको यौन साथी र भविष्यमा श्रीमान्लाई पनि यौनसुख प्राप्त गर्न मद्दत गर्छ । अनि यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा विभिन्न आसन जस्तो कि तीघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सजिलै सिर्जना गर्न सकिन्छ ।
चिलाउने कुरा
तपाईंको कुराले योनिमा संक्रमण भएको संकेत गर्छ । यौन रोग वा फ्रजनन् अङ्गको संक्रमण त्यसको कारण हुनसक्छ । संत्रमणले योनिको शोथ गराउन सक्छ र त्यस्तो हुँदा अस्वाभाविक योनि श्राव हुने, चिलाउने तथा दुख्ने हुन्छ । अस्वाभाविक योनिस्राव हुँदा सामान्य रूपमा योनिबाट आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको हुन्छ । यस्तो समस्या व्याक्टेरियल भ्याजिनोसिस वा ट्राइकोमोनियासिसका कारण भएको हुनसक्छ । त्यसबाहेक अन्य कतिपय यौनरोगले पनि योनिमा संक्रमण गराउन सक्छ । कारक तत्वको पहिचान पछि त्यसै अनुरूप औषधि सेवन गर्नुपर्ने हुन्छ । यसका लागि स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
भविष्यमाके असर गर्ला ?
छोटकरीमा भन्नु पर्दा यो विषयमा धेरै कुरा तपाईंकै हातमा छ । गर्भ रहेको स्थितिमा कसैले पनि यौनसम्पर्क भएको सजिलै थाहा पाउन सक्ने भयो । तपाईंको गर्भ रहेको स्थिति छैन तर अन्य स्थितिमा भने यो सजिलो छैन । यी कुरा कति गोप्यताका साथ गरिएको छ भन्ने कुरामा भर पर्छ । पहिलेको केटासाथीसँगको सामीप्यताका सम्बन्धमा चर्चा गरिएन भने तपाईं त्यस्तो परिस्थितिबाट गुज्रनु भएको होला भन्ने थाहा पाउन कसैलाई सजिलो हुँदैन । महिला यौनाङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने जानकारी हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो ।
अर्कातर्फ घर परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि चासोका साथ नियालिरहेको हुन्छ । गोप्यता वा गोपनियताको कुरा वास्तवमा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र त्यो कुरा सार्वजनिक हुनसक्छ । अन्त्यमा उक्त कुरा श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुन्छ । अर्को विचार गर्नुपर्ने कुरा तपाईंको केटासाथी के–कस्तो स्वभावको हुनुहुन्छ ? तपाईंको केटासाथीसँग किन सम्बन्ध अघि बढेन भन्ने त जानकारी भएन तर उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले भविष्यमा तपाईंहरू बीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । कतिपय स्थितिमा उसले भयादोहन (blackmail ) गर्न पनि सक्छ । त्यस्तो भयादोहन नहोस् भनेर मन बलियो बनाउनु पर्छ । तपाईंले परिस्थिति खुलस्त भएको अवस्थामा पनि जीवनलाई अघि बढाउने अठोट गर्नुभयो भने तपाईंलाई भयोदोहन गर्न सजिलो हुनेछैन ।