राष्ट्रिय कविता महोत्सव–०७६ पनि सम्पन्न भैसकेको छ, तर ०७२ सालका विजेता कविले भने भर्खर पुरस्कार पाएका छन् । कवि प्रोल्लास सिन्धुलीयको कविता ‘गाउँको वृद्धालय’ ०७२ सालको कविता महोत्सवमा प्रथम घोषित भएको थियो, तर लगत्तै नेपाल प्रज्ञा–प्रतिष्ठानले उनलाई ‘पुरस्कार नदिने’ निर्णय गर्यो । अप्रकाशित कविताका लागि प्रदान गरिने उक्त पुरस्कार पहिल्यै प्रकाशित गरी कविले बेइमानी गरेको प्रतिष्ठानको तर्क थियो ।
एउटा लेखकको सम्पत्ति भन्नु नै उसको नाम हो । त्यसमाथि वनावटी आक्षेप लगाएर आफ्नो अपमान गरेको भन्दै कवि सिन्धुलीय अदालत पुगे । आफूले अप्रकाशित कविता नै बुझाएको, असार ९ गतेसम्म कहीँकतै प्रकाशन नगरेको र महोत्सवको पूरै सर्त आफूले पालना गरेको उनको दाबी थियो । गत साल साविकझैँ असार ९ गते कविता महोत्सव हुन सकेन भने सर्दै–सर्दै चैत्र १४ गते मात्र सम्पन्न भयो । त्यसअघि कात्तिकको मधुपर्कमा उक्त कविता प्रकाशित भयो । ‘असार ९ गते हुने महोत्सवका लागि’ भनेर मागिएको र उक्त दिनसम्म उक्त कविता कहीँकतै प्रकाशित नभएको, त्यसपछि प्रकाशन गर्न नपाइने कुनै नियम नै नभएको र तोकिएको समयमा कार्यक्रम गर्न नसक्नुमा कविको कुनै भूमिका नभएको, प्रतिष्ठानले आफ्नो कमजोरी कविमाथि लाद्न खोजेको उनको तर्क थियो जसमा अदालतले पनि सहमति जनायो । ‘कविको सम्मानमा चोट पुग्न गएकै देखिएको हुँदा प्रथम सूचना छापिएकै पत्रिका गोरखापत्रमा सूचना प्रकाशन गरी ससम्मान पुरस्कार दिनू,’ ०७४ पुस ४ मा जिल्ला अदालत काठमाडौंले फैसला गरिदियो ।
यद्यपि प्रतिष्ठानले कविलाई यत्तिकैमा छाडेन । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन पर्यो । उच्च अदालतले ‘प्रज्ञाप्रतिष्ठानकै विश्वसनीयतामा शङ्का’ गर्दै यसलाई एउटा कविमाथि गरिएको अशोभनीय व्यवहार ठहर गरी ०७५ फागुन १३ मा तल्लो अदालतकै फैसला सदर गरिदियो । दुई अदालतले एकै किसिमको फैसला गरेपछि त्यसउपर पुनरावेदन गर्न नपाइने भएपछि बाध्य भएर प्रतिष्ठानले राष्ट्रपतिको हातबाट कविलाई पुरस्कार हस्तान्तरण गर्यो ।
यो लडाइँ पैसाका लागि नभएको कवि सिन्धुलीयको तर्क छ । कविता महोत्सवजस्तो गरिमामय कार्यक्रम गर्न कुनै नीतिनियम, विनियावली नबनाउने, एउटा ठाडो नोटिसको भरमा कार्यक्रम गर्ने प्रतिष्ठानको लापरवाहीविरुद्ध आफूले अदालतको कठघरामा पुगेर प्रश्न उठाएको उनको तर्क छ ।
कवि सिन्धुलीय भन्छन्, ‘मैले यो बयान प्रज्ञामै दिन चाहेको थिएँ, तर उनीहरूले मेरो कुरा सुन्नै चाहेनन् ।’ कवि सिन्धुलीयसँगै द्वितीय घोषित सरस्वती दुमी राईको कविता पनि त्यसबीच ‘सङ्ग्रहमा छापिएको’ भन्दै प्रतिष्ठानले उनलाई समेत पुरस्कार नदिने निर्णय गरेको थियो । सरस्वती अदालत नगए पनि प्रथम कविसँगै उनलाई पनि प्रज्ञाले घोषित पुरस्कार प्रदान गरेको छ ।