साप्ताहिक संवाददाता
कान्तिपुर टेलिभिजन आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरिसकेको छ । सन् २००३ मा टेरिस्टेरियल र सेटलाइट ट्रान्समिसनको अनुमति लिएर सञ्चालनमा आएको यो टेलिभिजनले स्थापनाको छोटो समयमै चर्चा पाएको थियो । कान्तिपुर टेलिभिजनले सन् २०१७ को डिसेम्बर १४ देखि एचडी प्रसारण शुरु गरेको हो । टेलिभिजनका आगामी योजनाका बारेमा टेलिभिजनका प्रधानसम्पादक प्रशान्त अर्याल, एजीएम भूषण दाहाल तथा कार्यकारी निर्माता सुरजसिंह ठकुरीसँग साप्ताहिकको कुराकानी :
फरक कन्टेन्टमा ध्यान दिँदैछौं
म कान्तिपुर टेलिभिजनमा आएको एक वर्ष पूरा भएको छ । यो अवधिमा हामीले समाचारको प्रस्तुतीकरणमा उल्लेखनीय काम गरेका छौं । गएको वर्ष हाम्रो मुलुक संघीयतामा गयो । त्यही कुरालाई मध्यनजर गर्दै हामीले गत वैशाख १ गतेदेखि प्रदेश विशेष भनेर आधा घन्टाको प्रदेश समाचार नियमित प्रसारण गरिरहेका छौं । केन्द्रीय टेलिभिजनमा प्रदेशका समाचारले पनि स्थान पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले अनलाइन र युट्युब च्यानलको वृद्धिले टेलिभिजनमा चुनौती थपिएको छ । दर्शकलाई कसरी टेलिभिजनमा टिकाइरहने भन्ने अर्को चुनौती पनि छ । हामीलाई अहिले दर्शक टिकाउने र समाचारका विषयबस्तुलाई कसरी नयाँ रूपमा प्रस्तुत गर्ने भन्ने चुनौती छ । यसमा अन्य टेलिभिजनसँग प्रतिस्पर्धाको कुरा त छँदैछ । अहिले संसार डिजिटल युगमा आएको हुनाले हामीले कन्टेन्टलाई कसरी फरक किसिमको बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिइरहेका छौं । त्योसँगै प्रविधिको प्रयोगको कुरा पनि जोडिन्छ । त्यसकारण टेलिभिजनमा प्रयोग भएका उपकरण तथा प्रविधिलाई कसरी थप अत्याधुनिक बनाउने भन्ने विषयमा छलफल भैरहेको छ । एचडी प्रविधिमा गएपछि हाम्रो ध्यान प्रविधिको भरपुर उपयोगमा केन्द्रित छ ।
प्रशान्त अर्याल, प्रधानसम्पादक
फिल्म घोषणा गर्दैछौं
हामीले कान्तिपुर टेलिभिजनलाई समयनानुकुल परिवर्तन गर्दै लगिरहेका छौं । कान्तिपुर टेलिभिजन भन्नासाथ यसले प्रसारण गर्ने समाचारमा सबैको ध्यानाकर्षण हुन्छ । हाम्रो टेलिभिजनको नेचर इन्फोटेन्टेमन्ट नै हो । यो वर्षदेखि हामीले इन्टरनल प्रोडक्सनको प्रारूप परिवर्तन गरेका छौं । टेलिभिजनको इन्टरनल स्टुडियोमा फायरसाइड, कान्तिपुर समाचार, कान्तिपुर सरोकारजस्ता कार्यक्रम उत्पादन भैरहेका छन् । अबदेखि कमेडी शोज, टेलिफोन कार्यक्रम तथा इन्फोटेनमेन्ट, गेम आदिलाई पनि इन्टरनल स्टुडियोमै उत्पादन गर्ने योजना बनाएका छौं । अहिलेसम्म कान्तिपुरको स्टुडियोमा उत्पादन झएका कार्यक्रम आन्तरिक जनशत्तिबाट नै निर्माण भैरहेको थियो, तर अब यसको दायरालाई फराकिलो बनाएका छौं । नेपालमा रहेका अडियो भिजुअलमा काम गर्ने प्राविधिकहरूका लागि कान्तिपुर स्टुडियोको ढोका खुल्ला भएको छ । हामी कान्तिपुर स्टुडियोलाई फक्स स्टुडियोजस्तै बनाउन चाहन्छौं । जोकोहीले पनि राम्रो कार्यक्रमको प्रपोजल लिएर आए हामी कार्यक्रम उत्पादन गरिदिन्छौं भने प्राविधिक सुविधा पनि उपलब्ध गराउँछौं । स्टुडियोमा अडियो भिज्युअल, म्युजिक भिडियो, टिभि कमर्सियलको काम गर्न मिल्छ । कार्यक्रमवापतको पारिश्रमिक पनि दिनेछौं । हामी भारतीय रियालिटी शोको फ्रेन्चाइजभन्दा पनि नेपालमै राम्रो कार्यक्रम उत्पादन गरेर भारतीय कार्यक्रमसँग प्रतिस्पर्धा गर्न चाहन्छौं । हामी चाँडै फिल्मको घोषणासमेत गर्दैछौं । अहिलेसम्म जति कार्यक्रम प्रसारण भैरहेका छन् सबैबाट सन्तुष्ट छौं ।
भूषण दाहाल, एजीएम
कमेडीमा फोकस
हामी कमेडी जनरामा फोकस भैरहेका छौं । यही वर्ष कान्तिपुर टेलिभिजनमा कमेडी च्याम्पियन सुरु हुँदैछ । अन्य नयाँ कमेडी कार्यक्रमसमेत सञ्चालन गर्ने योजनामा छौं । ‘इट्स माइ शो’को नयाँ सिजन पनि सुरु हुँदैछ । अब केही पृथक् कार्यक्रम लिएर आउने योजना छ ।
सुरजसिंह ठकुरी, कार्यकारी निर्माता