आर्टिस्टिक वेमा देखाउँदा आपत्ति छैन

- राजाराम पौडेल

श्रावण १३, २०७६

शिल्पा मास्केले नेपाली चलचित्रमा काम गर्नुअघि हलिउड चलचित्र डक्टर स्ट्रेन्जमा काम गरिसकेकी थिइन् । उनले नेपाली चलचित्र द ब्रेकअप, कागजपत्र र सानो मनमा अभिनय गरेकी छिन् । मास्केसँग साप्ताहिककर्मी राजाराम पौडेलले पोखरामा गरेको कुराकानी :

पोखरा बसाइ कस्तो भैरहेको छ ?

भ्याली बाहिर निस्किएपछि त्यसै रमाइलो हुन्छ, त्यसमाथि मलाई मन पर्ने ठाउँ पोखरा । पोखरामा त जति दिन बिताउन पाए पनि हुन्थ्यो जस्तो लाग्छ । 

तपाईं त हलिउड चलचित्रमा अभिनय गरेर नेपाली चलचित्रमा आएकी कलाकार, हलिउडमा तपाईंको इन्ट्री कसरी भएको थियो ?

म युके बस्थें, एउटा डान्स ग्रुपमा थिएँ । त्यहाँ मैले ६ महिनाको तालिम लिएँ । त्यहाँ एजेन्सीहरू थुप्रै थिए, म एजेन्सीमा पहिल्यैदेखि रजिस्टर थिएँ । अपरच्युनिटी भनेको आफूले गेन गर्ने कुरा हो भन्ने लाग्थ्यो, त्यसैले काम आउँछ कि भनेर रजिस्टर भैरहन्थे । हलिउड मुभी ‘डक्टर स्ट्रेन्ज’ को अडिसन थियो, त्यसमा पहल गरें अनि सेलेक्टसमेत भएँ ।

हलिउड चलचित्रमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

हलिउडका फिल्म पर्दामा मात्र देखिरहेको, उहाँहरूको सेटमा अनुभव लिन पाउँदा एक्साइटेट थिएँ । त्यो सेटमा, त्यत्रो ठूलो बजेटमा, उनीहरूको काम देख्दा सुरुमा त सरप्राइज नै भए, यसरी काम हुँदो रहेछ, हलिउड मुभी यसरी बन्दो रहेछ, सेटमा यस्तो हुँदो रहेछ भनेर । पहिलो हप्ता म एकदम सरप्राइज भएँ, बिस्तारै बानी पार्दै गएँ । त्यस दौरान मैले धेरै कुरा सिक्न पाएँ, प्रोफेसनालिज्मका बारेमा, सेटको डिसिप्लिनका बारेमा, मानिसहरू चिन्न पाएँ, त्यो अनुभव मेरा लागि धेरै रमाइलो पनि थियो । उक्त चलचित्रमा मेरो भूमिका छोटो भए पनि त्यसबाट मैले धेरै कुरा पाएँ ।

कामको फिडब्याक कस्तो आयो ?

एकदम राम्रो । हामी २० जना कलाकार थियौं, सबै जना हार्ड वर्किङ गर्ने, हप्तामा दुई पटक रिहर्सलका लागि जानुपर्थ्यो । जहिले पनि सेटमा जाँदा सबैले तपाइले राम्रो गर्नुभयो भन्नुहुन्थ्यो, अहिले पनि त्यो टिम सँग कुराकानी भैरहन्छ । मैले अभिनय गरेको सन् २०१६ मा हो । त्यतिबेला चार महिना सुटिङ भएको थियो । मेरो भूमिका लामो थिएन, तर फिडब्याक सकारात्मक आयो । 

युके किन र कहिले जानुभएको थियो ?

सन् २००९ मा, अध्ययनका लागि ।

 

नेपालमा हुँदा चलचित्रमा अभिनय गर्ने प्रयास गर्नु भएन ?

मैले पाँच वर्षको उमेरदेखि नै डान्स गर्न थालेकी थिएँ, तर एक्टिङमा जान्छु भन्ने थिएन । मुड चल्यो, रमाइलो लाग्यो भने एक्सप्रेसनसँग खेल्ने, यता–उता गर्ने काम त गर्थें, अन्य कुरा सिक्न खोज्थे । युकेमा सात महिना तालिमसमेत लिए । हुन त त्यसअघि मैले सुटिङ एन इलाफेन्ट शीर्षकको सर्ट मुभीमा बर्मेली डान्स गरेकी थिएँ । सुटिङको मेरो पहिलो अनुभव त्यही थियो । त्यो युकेबाट सन् २०१३ मा नेपाल फर्किएपछि को कुरा थियो, पछि फेरि युके नै फर्किएँ ।

हलिउडमा पुग्ने धोको धेरैमा हुन्छ, तपार्इंले सुरु नै हलिउडबाट गर्नुभयो, त्यहीँ सेटल हुने सोच्नुभएन ?

सोचेकी थिएँ, तर मैले नेपाल आउने निधो गरे । नेपाल फर्केर केही गर्ने कि भन्ने भयो । यो बढी च्यालेन्जिङ थियो, तर रिस्क लिएँ मैले । रिस्क नलिई लाइफमा अघि बढ्न सकिँदैन । त्यहाँ बसेको भए केही न केही हुन्थ्यो होला । चार–पाँच वर्ष मैले मेहनत गर्नुपर्थ्यो होला । नेपालमा इन्डस्ट्रिज एकदम बुम भैरहेको छ, अफर पनि आइरहेको थियो, राम्रा फिल्म बनिरहेका छन्, मैले एक्सपोज पाइहाल्छु, कमाउन सक्छु, फ्रिडम हुन्छ आफ्नो देशमा, आफ्नै देशका मानिसहरूको माया पाइन्छ आफ्नै देशमा बस्न पाइन्छ, नट अ ब्याड आइडिया, रिस्क लिम न त भनेर आएँ । 

नेपालमा कस्तो भैरहेको छ ?

अहिलेसम्म त राम्रो भैरहेको छ, फिल्म पाइरहेकी छु, काम पाइरहेकी छु, अडियन्सले रुचाइदिनुभएको छ, अझ मेहनत गर्नुपर्छ भन्ने लागेको छ ।

तपाईंको बाल्यकाल कसरी बित्यो ?

म जन्मिएको विराटनगरमा हो, आमा–बुबा जागिरे भएकाले मैले बाल्यकालमै देशका विभिन्न ठाउँमा पुग्ने अवसर पाएँ । बाल्यकाल नयाँ–नयाँ ठाउँ घुम्दै बित्यो ।

तपाईंले नेपाली चलचित्रमा आफ्नो खुबी देखाउन पाइरहनुभएको छ ?

मलाई त अझै बाँकी छ जस्तो लाग्छ । आफ्नो कुनै पनि फिल्म हेर्दा म अझै गर्न सक्छु जस्तो लाग्छ, अझै राम्रो गर्ने चाहना छ, कागजपत्र अलिकती भिन्न थियो, द ब्रेकअप र सानो मन लभस्टोरी विधाका चलचित्र हुन् । मलाई सिरियस क्यारेक्टर निर्वाह गर्न मन छ । क्यारेक्टर बेस मुभि गर्न मन छ, नेपालका कुना–कुनाको, लुकेर बसेको विषयमा बनेको कथामा अभिनय गर्न मन छ, ग्ल्यामरसभन्दा पनि क्यारेक्टर बेस फिल्म गर्ने मेरो रहर हो ।

तपाईंमा भएको फरक विशेषता ?

हलिउडको अनुभव छ, काम सिकेकी छु, क्यारेक्टरप्रति न्याय गर्न सक्छु ।

कमजोरी ?

म आफ्नो भोकलमा सुधार ल्याउन खोजिरहेकी छु । डबिङमा राम्रो गर्ने प्रयास गरिरहेकी छु । भाषामा कहिलेकाहीं समस्या हुन्छ, सुधार गर्दैछु ।

तपाईंको दैनिकी कसरी बित्छ ?

बिहान उठेर कफी पिउँछु, जिम जान्छु, वर्क आउट गर्छु, कहिले मिटिङ हुन्छ, कहिले म्युजिक भिडियो, कहिले फोटो सुट गर्छु, त्यो सब नहुँदा घरमै बस्न मन लाग्छ, बुक पढ्छु, साथीहरूसँग गफ गर्छु, परिवार तथा फ्रेन्ड्सहरूसँग बस्छु । सुटिङमा लामो समय छुट्टिनुपर्ने भएकाले सुटिङ नहुँदाको समय साथीभाइ एवं परिवारलाई दिन्छु ।

ड्रेसअप कस्तो मन पर्छ ?

क्याजुअल मनपर्छ, जिन्स, टिसर्ट तथा कुर्थाहरू मन पर्छन् । आफूलाई कम्फर्टेबल हुने उठ्दा–बस्दा पनि कम्फरटेबल फिल हुने खालका पहिरन मन पर्छन् ।

ग्ल्यामर कत्तिको आवश्यक छ ?

ग्ल्यामर महत्वपूर्ण छ, अहिलेको व्यवसायिक चलचित्र ग्ल्यामरका कारण पनि चलिरहेका हुन्छन् । अहिले प्रतिस्पर्धात्मक समयमा ग्ल्यामर सहित ट्यालेन्ट पनि हुनुपर्छ । आफ्नो प्रतिभा देखाउने हो, चलचित्रबाट शिक्षा पनि दिन सक्नुपर्छ । ग्ल्यामरका साथमा ती सबै खुबी पनि आवश्यक छन् ।

तपाईंले किस अनि बोल्ड सिन यसअघि नै दिनुभएको छ । यसमा तपाईंको कुनै मापदण्ड वा मान्यता छ ?

जब हामी स्क्रिफ्ट, हेर्छौं, त्यसमा निर्देशकले क्यारेक्टर यस्तो हो भनेका हुन्छन्, सिन यस्तो छ भनिएको हुन्छ । त्यसमा हाम्रो डिसिजन हुन्छ । कहिलेकाहीँ खिचाइमा पनि भर पर्छ, कसरी देखाइन्छ । स्टोरीले कतिको मागेको छ ? एकदम आट्रिस्टिक मुभी छ, जसमा न्युड सिन गर्नुपर्छ भने गर्न सकिन्छ । यसमा रिक्स पनि हुन्छ, नेचुरल तरिकाले फिल्ममा देखाइन्छ भने जस्तैः झोलामा गरिमा पन्तले दिएको दृश्य । सिन के हो ? कसरी देखाइयो भन्ने हो, त्यस्तो खालको फिल्ममा आर्टिस्टिक वेमा देखाइन्छ, खिचाइ राम्रो छ, स्क्रिफ्टले मागेको छ भने मलाई आपत्ति छैन, गर्छु, तर भल्गर वेमा जे पायो त्यही हो भने गर्दिनँ । यसमा म सचेत छु, टेक्निकल हिसाबले मलाई आइडिया पनि छ, यस्तो गर्दा यस्तो आउँछ भन्ने, त्यसमा पनि निर्माता–निर्देशकहरूको ब्याकग्राउण्ड चेक गरेर मात्र फिल्म लिन्छु ।

परिवारमा को–को हुनुहुन्छ ?

बाबा, ममी, एक दिदी, एक बहिनी ।

विवाह गर्ने सोच छैन ?

हालसम्म त छैन ।

 

कति समय लाग्ला ?

प्लानिङ त छैन हेरौ, फ्युचर कसले देखेको छ र ? तीन–चार वर्ष त गरिँदैन जस्तो लाग्छ ।

 

अबको योजना के छ, फेरि विदेश पलायन हुने त होइन ?

अहिलेचाहिँ नेपाली फिल्ममा राम्रै भैरहेको छ, पोजेटिभ रूपमा लिइरहेकी छु, छोडेर जान्छु भन्ने सोचेकी छैन । कहिलेकाहीँ मुड परिवर्तन हुन्छ, जीवनको बाटो बदलिन्छ । कहिले फेरि के कुराले मोटिभेट भइन्छ ? आफूमा प्यासन छ, अझै गर्न सक्छु भन्ने लागेसम्म काम गर्छु, त्यसपछि रिजल्ट अनुसार डिसिजन गर्छु ।

तपाईं केमा सचेत हुनुहुन्छ ?

२०–३० वर्षपछि आफूले काम गरेको चलचित्र हेरेर पश्चाताप नहोस्, गौरव गर्न सक्ने खालको होस् ।

तपाईंका बारेमा दर्शकले अहिलेसम्म थाहा नपाएको कुरा ?

मैले १६ वर्षको हुँदा म्युजिक भिडियोमा अभिनय गरेकी थिएँ, गीतचाहिँ भन्दिनँ ।

कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ?

लन्डनमा दुईवटा भिडियो गरें, नेपाल आएर फेरी म्युजिक भिडियोमा काम गर्न थालेकी छु । अफर पनि आइरहेको छ । 

कस्ता प्रकारका खानेकुरा मन पर्छन् ?

गुलिया खानेकुरा मन पर्छन्, कफी एकदमै पिउँछु । मीठो नै खान रुचाउँछु ।

किचनमा छिरेर खानेकुरा बनाउन कत्तिको जाँगर चल्छ नि ?

विदेशमा हुँदा आफैंले बनाउने भएकाले जाँगर चल्थ्यो— चलाउनै पनि पर्थ्यो, तर नेपाल आएपछि आमाले बनाएर दिने भएकाले अल्छि भएकी छु । किचनमा छिर्ने जाँगर घटेको छ ।

अधिकांश समय तपाईंको साथमा हुने चिज ?

फोन, डायरी, जिम जाँदा ठूलो ब्याग तथा पानी । म अधिकांश समय क्याजुयल वेयरमा हुन्छु ।

जिममा कति समय बिताउनुहुन्छ ?

बिहान दुई घण्टा ।

 

परिवारबाट कत्तिको सपोर्ट छ ?

एकदम सपोर्ट छ । यहीं नेपालमै बस्, विवाह पनि नगर भन्नुहुन्छ, हामी तीन जना छोरी, छोरी घरमै बसेको राम्रो भन्ने बुबा–आमाको सोच छ, आमा सपोर्टिभ हुनुहुन्छ, बाबालाई पनि भिडियोग्राफीमा शोख थियो । मलाई क्यामेरा, टिभीहरूमा हेर्न पाउँदा उहाँ प्राउड फिल गर्नुहुन्छ ।

 

प्रकाशित :श्रावण १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्