तपाईंको सफलतामा तपाईंको साथीको भूमिका के–कति छ ?

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७६

हरेक व्यक्तिको सफलताका पछाडि कुनै न कुनै व्यक्तिको साथ र सहयोग हुन्छ नै । जीवनका आरोह–अबरोहहरूमा मेरा साथीहरूले मार्गनिर्देशकको भूमिका निभाएका छन् । मेरो सफलतामा उनीहरूले पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनीहरू पर्दा पछाडिका वास्तविक हिरो हुन् । सम्रगमा मेरो सफलतामा उनीहरूकै भूमिका छ । 

रोशन शर्मा

राजनीतिमा साथीहरूले गरेको नैतिक समर्थन मेरो सफलताको महत्वपूर्ण कारक बन्यो । संगठनमा साथीहरूको प्रस्ताव र जोडबलका कारणले गर्दा नै म विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुँदै प्रदेश संयोजकसम्मको नेतृत्व प्राप्त गर्न सफल भएको छु ।

रविकिरण हमाल

जिन्दगीका मोडहरूमा विभिन्न समयमा केही स्वार्थी त केही असल गरेर विभिन्न खालका साथी फेला परे । स्वार्थी सावित भएका साथीहरूले केही नयाँ पाठ सिकाए भने असल साथीहरूले विद्यालयदेखि विश्वविद्यालय हुँदै आजसम्म पनि सहयोग, हौसला र साथ दिइरहेका छन् । 

नरिश्वर गौतम

हरेक मानिसको सफलतामा साथीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ जुन मेरो हकमा पनि लागू हुन्छ । कुन समयमा कस्तो निर्णय लिने भन्ने कुरा साथीहरूसँगको परामर्शबाट नै गर्न सकिन्छ । विभिन्न महत्वपूर्ण निर्णयका लागि मेरा साथीहरूको परिपक्व र प्रभावकारी सल्लाहले गर्दा नै आज म यहाँसम्म आइपुगेको हुँ । 

प्रसन रसाइली

साथीहरूले ममाथि लगाएको गुण अपरम्पार छ जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । जीवनमा साथीको स्थान धेरै माथि हुन्छ । 

विद्या राई 

साथीहरूले मलाई हरेक घटनामा साथ दिएका छन् । हरेक विषयवस्तुका बारेमा जानकारी दिएका छन । असफलताविरुद्ध लड्नदेखि लिएर बिरामी भएका बेला हस्पिटलमा कुरेर साथ दिएका छन् । जीवनका यस्ता क्षणहरूमा साथीहरूले साथ नदिएको भए आज यो सफलताको स्वाद चाख्न पाइँदैनथ्यो । 

बोधनाथ पौडेल 

फूलबारीमा हजारौं भमरा डुल्छन सबै भमरा मिठो रस चुस्न आएका हुन्छन तर माहुरी जस्तो अरू कोही हुँदैनन् । जीवन पनि एउटा फूलबारी हो, फूल फुलाउने र हाँगा झुलाउने अनि वृक्षको सौन्दर्य झल्काउनेमा पनि असल साथीको हात सधैं माथि नै हुन्छ । उतारचढाव र हाँसोको चौतारी भनेको असल साथीको हात र काख हो । मेरा हरेक हाँसो र आँसुमा साथीभाइ नै उत्तम औषधि सावित हुँदै आएका छन् ।

अनिल चौलागाईं

सफलतामा साथीहरूको खासै भूमिका हुन्छ जस्तो लाग्दैन मलाई । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी हो । त्यसैले कसैको प्रगतिमा यदि कसैको भूमिका हुन्छ भने त्यो आफ्नै लगनशीलता र मेहनतको हुन्छ । 

रश्मी तिवारी 

साथी शब्द नै काफी छ जिन्दगीमा उसको भूमिका मूल्यांकन गर्न । एउटा असल साथीको संगत भयो भने जीवन त्यसै सार्थक हुन्छ । 

रोहन राना

सफलता धेरै क्षेत्रका हुन्छन् । अध्ययनको कुरा गर्ने हो भने चाहिँ त्यसमा कुनै पनि साथीको कुनै भूमिका छैन । पढाइमा जे जति गरियो आफैंले गरियो । बरु गर्लफ्रेन्ड मिलाइदिने काममा भने साथीहरूको भूमिका छ है । 

दीपक तामाङ

मेरो सफलतामा मेरो साथीको महत्वपूर्ण भूमिका छ । बीबीएस फस्ट इयरको एकाउन्टको परीक्षामा उसले हिसाब सिकाएर बल्लबल्ल पास गराएको थियो । अहिले सम्झिदा त्यो ठूलो सफलता र सहयोग थियो भन्ने लाग्छ । 

राजन श्रेष्ठ

प्रकाशित :श्रावण १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्