संस्कृतिमा गथामुगल चह्रे अर्थात् घण्टाकर्णको आफ्नै मौलिक महत्त्व छ । श्रावण कृष्ण पक्ष चतुर्दशीका अवसरमा नेवार समुदायले घण्टाकर्ण राक्षसको पूजा गर्दै गथामुगल पर्व मनाउँछन् । कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गरिने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुरको युद्ध हुन्छ । त्यतिबेला वाणासुरले कृष्णलाई हराउन महादेवको सहयोग माग्छ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन्, तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूपधारण गरेको पौराणिक कथन रहेको इतिहासविद् एवम् संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
नेवार बाहुल्य भएको उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न टोलमा गथामुगल चह्रे मनाइन्छ । किसानले गथामुगल अघि नै रोपाइँ सक्नुपर्छ भनी रातदिन मेहनत गरेर रोपाइँ गर्छन् । रोपाइँ सकेपछि पहिलो पटक आउने चाड भएकाले यो चाडलाई ‘काय् मचा नखः’ (छोरो मान्छे चाड) पनि भनिन्छ । यो पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र सोही दिनदेखि नै वार्षिक चाडपर्वहरू सुरुवात भएको सङ्केत पर्वका रूपमा पनि लिने गरिन्छ । गथामुगल (घण्टाकर्ण) मनाउनुको कारणबारे एउटा प्रचलित कथा ः
पहिले–पहिले काठमाडौँ उपत्यकामा जनसंख्या निकै कम भएकाले खेतीपातीको काम गर्न ज्यादै कठिन हुन्थ्यो । उक्त समस्यालाई एक जना तान्त्रिक गुरुजुले तन्त्रमन्त्रले भूतप्रेतलाई ल्याई उपत्यकाका विभिन्न स्थानमा रोपाइँ गराइसकेपछि भूतप्रेतलाई बिदा गरी पठाउने कामअनुसार गथामुगल अर्थात् घण्टाकर्ण चतुर्दशी मनाउन थालिएको विश्वास रहँदै आएको छ । यससम्बन्धमा गोपालराज वंशावलीमा समेत उल्लेख गरिएकोले यो पर्व १४ औं शताब्दीदेखि सुरु भएको संस्कृतिविद्हरू बताउँछन् । नेवार समुदायमा गथामुगल अर्थात् घण्टाकर्ण पर्व प्राचीनकालदेखि नै प्रचलनमा रहेको संस्कृतिविद् डा. श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब २ हजार वर्षअघिदेखि प्रचलनमा रहेको छ ।
घण्टाकर्णका बारेमा अनेक किंवदन्तीहरू जोडिएर आएको पाइन्छ । परापूर्वकालमा एक तान्त्रिकले भ्यागुताको रूप धारण गरी दुबै कानमा बडेमानका घण्टाहरू झुन्ड्याएर मानिसहरूलाई दुःख दिने मार्ने समेत गर्दै हिंड्न थालेपछि सोही घण्टाकर्ण नाम गरिएको राक्षसलाई छल गरेर हिलोमा धसाएर सबैले ढुङ्गामुडा गरी मारे । यसरी घण्टाकर्ण राक्षसको भय र क्रासबाट समाजलाई मुत्त गरे भन्ने प्रचलित कथन छ । अर्को कथाअनुसार— घण्टाकर्णको आतङ्कले मानव बस्ती त्रसित थियो । एकदिन घण्टाकर्ण भोकले चुर भएर आहाराको खोजीमा चौबाटोका निस्कियो, तर बाटो भुलेकाले एउटा भ्यागुतोसँग मानव बस्ती जाने बाटो कुन हो भनेर सोधेछ ।
भ्यागुतोले घण्टाकर्णलाई चिनिहाल्यो अनि त्यसले ठूलो धाप (भासभएको जमिन) भएतिर बाटो देखाएर पठायो, भोकले चुर भएर एकसुरमा हिँडेको घण्टाकर्ण धापमा गाडियो र त्यो धापबाट उम्कनै सकेन । भोलिपल्ट भ्यागुताको अक्कलको खूब सराहना गरेर धापमा गाडिएका घण्टाकर्णलाई ढुङ्गाले हिर्काएर मारियो, त्यो दिन श्रावण कृष्ण चतुर्दशीको दिन परेको थियो ।
रुद्रयामल तन्त्रमा उल्लेख भएअनुसार, नेपालमण्डललाई ध्वस्त पार्न कण्टाकर्ण नाम गरेको एउटा राक्षस आएर उत्पात मचाउन थाल्यो । त्यसलाई मार्न कसैले पनि सकेनन् । अन्त्यमा एकजना तान्त्रिकले भ्यागुतोको रूप लिई त्यो राक्षसलाई मारी यमलोक पुर्याइदिए, त्यो श्रावण कृष्ण चतुर्दशीको दिन परेकोले राक्षससँग मुक्ति पाएको खुसीयालीमा यो दिन उत्सवको रुपमा मनाइन्छ । जनश्रुतिअनुसार घण्टाकर्ण कुनै देवताको नाम सुन्न मन नपराउने हुँदा तिनले आफ्नो कानमा घण्टा झुण्ड्याइराखेका थिए । घण्टाकर्णको एक शिला मूर्ति ललितपुर कुम्भेश्वरमा प्रतिष्ठापित छ जुन प्रारम्भिक मध्यकालको मानिन्छ । यही नै गथेमुगल चह्रेको ऐतिहासिकता र विशेषता हो ।
घण्टाकर्णको सम्झनास्वरुप बिहानै टोल–टोलको दोबाटो चौबाटोमा हाँगाबिँगापात सहितको हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाई मुठ्ठा बनाएर भुइँमा उभ्याएर खुट्टाझैँ तीनखुट्टे बनाएर उभ्याइन्छ अनि नाङ्लो वा कागजमा डरलाग्दो राक्षसको मुखाकृति बनाएर सो नर्कटमा राखिन्छ । कतै–कतै पुरुष गथामुगल उभ्याएको हुन्छ भने कतै–कतै स्त्री गथामुगल उभ्याएको हुन्छ । पुरुष–महिला छुट्टिने आकृति बनाएर नै राखिएको हुन्छ । मुलतः गथामुगल राक्षस स्वरुपमा भएकाले घर–घरबाट कपडाको स–साना पुतली बनाएर झुन्ड्याउन ल्याउँछन् भने दुइटा भोगटे झुन्ड्याएर पुरुष यौनाङ्गको प्रतीकको रुपमा गथामुगललाई सजाइएको पाइन्छ ।
यसदिन बिहानदेखि केटाकेटीहरू घण्टाकर्णको नाममा जगात भन्दै बटुवाहरूसँग चन्दा माग्ने गर्छन् । साँझ गथामुगल बनाएको टोलटोलमा एकजना व्यक्तिलाई उसको स्वेच्छामा एउटा कट्टुमात्र लगाई नाङ्गै राखेर शरीरभरी रङ्गीचङ्गी चित्र कोरेर बेरुप बनाई हातमा दहीको कतारो समाउन लगाएर ‘आजु जय’ भन्न लगाई त्यसका पछिपछि जानेहरूले ‘हा.......’ भन्दै घरैपिच्छे जगात माग्ने चलन छ । यसरी दान दिंदा ग्रहशान्ति भई दशा हटेर जान्छ भन्ने जनविश्वास रही आएको छ ।
यसरी माग्ने काम सकिएपछि राति गथामुगल ठड्याइराखेको दोबाटोमा सो व्यक्तिलाई पलेँटी कसेर बसाएर दहीको कटेरामा राखेर दही चिउरा, मिठाई लगायत फलफूल आदि खुवाउँछन् सो खाइसकेपछि उक्त कटेरा भुइँमा बजारेर फुटालिन्छ । त्यसपछि एक मुठा छ्वाली बालेर ऊक्त व्यत्तिलाई समाउन लगाएर तीनपटक गथामुगलमा परिक्रमा गरी दागबत्ती दिएपछि केटाहरूले नर्कटबाट बनाइएको घण्टाकर्णको प्रतिमूर्तिलाई ढाल्छन् र दागबक्ती दिने व्यत्तिलाई घण्टाकर्णको प्रतिमूर्ति (नर्कट)मा चढाएर अनेक नारा लगाउँदै सो नर्कटको प्रतिमूर्तिलाई डोरीले तानेर टोलको बाहिर रहेको खोलामा विर्सजन गर्न लैजान्छन् ।
गथामुगललाई विसर्जन गरिसकेपछि नेवारहरूको घरमा राति विशेष बौ वाय् ज्या (भूत मन्छाउने कार्य) हुन्छ । काँचो माटोको दहीको कतारो वा पालामा भूस, कनिका, चिउराको धुलो, जाँडको कट, काँचो फोक्सो, रगत, रातो खुर्सानी, कालो भटमास, छ्यापी, लसुन, काँचो अण्डा, बौ फूल, रङ्गीचङ्गी ध्वजा कपडा, तिं मत (सिन्कामा बेरेको बत्ती) बालेर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ । यसका साथसाथै घरको मूल ढोकाको शिरमा मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ । यस्तै सो दिन केटाकेटीलाई फलाम वा तामाको औंठी लगाइदिने गरिन्छ ।