साप्ताहिक संवाददाता
सुगम पोखरेल, गायक
आफ्नै यूट्युब च्यानलको अवधारण कसरी आयो ?
स्रष्टाहरूको आफ्नै च्यानल हुनुपर्छ भन्ने विश्वव्यापी धारणा बिस्तारै नेपालमा पनि प्रारम्भ भएको छ । मैले त्यसैलाई अपनाएको हुँ ।
आफ्नै नामको च्यानल खोल्ने योजना कसरी बन्यो ?
तीन वर्षअघि मैले ‘अवस्था...’ शीर्षकको गीत गाएको थिएँ । पार्टी थिमको उक्त गीतको म्युजिक भिडियो आफ्नै च्यानलबाट सार्वजनिक गरौं भन्ने उद्देश्यले २०१६ को मार्च १६ का दिन च्यानल खोलें । त्यसको छ दिनपछि उक्त भिडियो अपलोड गरें ।
त्यसपछि भिडियो अपलोडलाई निरन्तरता दिनुभएन नि ?
सांगीतिक व्यस्तता कारण आफ्नो च्यानलमा नियमित रूपले भिडियो अपलोड गर्न भ्याइन् । तीन वर्षको अवधिमा १५ वटा भिडियो अपलोड गरेछु । अहिले आएर मनमा आफ्नो पूर्ण अधिकार भएका आफ्ना पुराना गीत किन आफ्नै च्यानलबाट अपलोड नगर्ने भन्ने सोच आयो । फलस्वरुप पछिल्लो एक महिनामै मैले छ वटा भिडियो अपलोड गरिसकें, अब यो क्रम निरन्तर जारी रहनेछ ।
अरू नै कम्पनीसँग रहेका पुरा गीत कसरी फिर्ता पाउनुभयो ?
मेरा अघिल्ला पाँचवटा एकल एल्बममध्ये तीनवटा म्युजिक डटकमसँग थिए भने दुईवटा सम्झना अडियो भिडियोसँग । म्युजिक डटकमसँग भएका एल्बमका गीत म्युजिक नेपालको च्यानलबाट अपलोड भएका रहेछन् । मैले दुवै कम्पनीसँगको सहमतिमै ती गीत फिर्ता लिइसकेको छु । सम्झनाले भने मेरो गीत कहीं पनि अपलोड गरेको रहेनछ, त्यसैले फिर्ता पाउन खासै असजह भएन । ती कम्पनीलाई मैले बढीमा डिभिडीसम्मको अधिकार दिएको थिएँ, त्यो पनि निश्चित अवधिका लागि । अहिले ती सबै समयसीमा पूरा भएकाले आफ्ना सिर्जना आफैंसँग ल्याएर आफ्नै च्यानलबाट अपलोड गर्न थालेको हुँ ।
यो सोच चाहिँ कसरी पलायो ?
अहिले हामीले गाएका गीत अनुमति बिना कभर समेत गर्न नपाइने कानुन बनेको छ । आफूले दुःख गरेर सिर्जना गरेको सम्पत्तिमा स्रष्टाकै अधिकार हुन्छ भन्ने कुरा बुझेपछि म अहिले जागरुक भएको हुँ । म यहींबाट अन्य संगीतकर्मीहरूलाई समेत जागरुक हुन अनुरोध गर्दछु । मेरो जागरुकता देखेरै गायक नविन के भट्टराईले पनि आफ्ना पुराना गीतबाट न्याय पाउन थालेका छन् ।
प्रसंग बदलौं, यो वर्षामा जारी एकल गायन कार्यक्रम कस्तो भैरहेको छ ?
वन एमबी फेरि त्यो दिन शीर्षकको मेरो एकल गायन कार्यक्रम सफलतापूर्वक अघि बढिरहेको छ । पोखरा, नारायणगढ, इटहरी तथा धरानको सफल प्रस्तुतिपछि यो कन्सर्ट आज शुक्रबार साँझ काठमाडौंमा आएर टुंगिदैछ । कन्सर्टको दोस्रो सिजन भदौको दोस्रो सातापछि पुनः अघि बढ्नेछ ।
कन्सर्टबाट कस्तो फिडब्याक पाइरहनु भएको छ ?
जहाँ–जहाँ पुगेर कन्सर्ट दिएँ, सबैतिरबाट सकारात्मक फिडब्याक पाइरहेको छु । यसपटक म ब्याकअप ब्याण्डसहित प्रस्तुत भएको छु । मैले पाँच जना संगीतकर्मीको ब्याकअप ब्याण्ड नै तयार पारेको छु । ब्याण्डसँग सांगीतिक प्रस्तुती दिँदा दर्शकहरूले समेत रमाइलो मानेको अनुभव गर्नुभएको छ ।
रेकर्डिङको क्रम कस्तो छ ?
भरखरै दुईवटा चलचित्रको गीत रेकर्ड गराएँ । आगामी साता थप दुई चलचित्रको गीत गाउँदैछु । यद्यपि अहिले म चलचित्रभन्दा पनि सिंगल ट्रयाकमा बढी ध्यान दिँदैछु ।