वाना (संखुवा–सभा) का गणेश ढकालको गिन्ती पौरखी मानिसमा हुने गरेको छ । साँच्चै, उनी दह्रा मानिस हुन् । त्यति दह्रा नभएका भए कान्तिपुरको व्यावसायिकतामा उनी टिक्न सक्ने थिएनन् । एक हल गोरु किन्ने सपना बोकेर सोह्रै वर्षको उमेरमा, संवत् २०४६ मा उनी वानाबाट कान्तिपुर छिरेका थिए । उतिबेला पहिलो राष्ट्रिय जन–आन्दोलनको केन्द्र बनेको थियो– कान्तिपुर । एकातिर जनतामा प्रजातान्त्रिक जोस जागृत भैरहेको थियो भने अर्कातिर भारतीय नाकाबन्दीका कारण सहरमा उपभोग्य सामग्रीको हाहाकार थियो । रासन–पानी किन्न लाइन बसेका जनता देखेर जिल्ल परेका थिए गणेशजी । गणेशजीका दाइ त्यतिबेला पश्चिम नेपालमा थिए । उनी केयर नेपालमा काम गर्थे । तिनै दाइको सहयोगले गणेशजीले ‘जागीर’ पाए– कमलाक्षीको मिड टाउन रेस्टुराँमा, वेटरको जागिर । तलब जम्मा १ सय ५० रुपैयाँ ।
गणेशमा ‘कोकाकोला’ पिउने निकै ठूलो सौख थियो । मिड टाउनमा जागिर खाएको पहिलो दिन उनले एक जना ग्राहकलाई सर्भ गर्ने मौका पाए । उनी ट्रेमा कोक लिएर ग्राहकको टेबुलतर्फ लागे । ग्राहकको अगाडि ग्लास राखे अनि कोक खन्याए । गजजज्ज फिंज आएर, ग्लास भरियो । ग्राहकले भन्यो, ‘पुग्यो अरू नहाल ।’ त्यो कुरा सुनेर गद्गद भए गणेशजी । उनले सोचे, बोत्तलमा बाँकी रहेको कोक त मेरै हो । उनले बाँकी कोक आफैंले घटघटघट पारे । उनको त्यो जागिर त्यही दिन खुस्कियो । त्यसपछि उनले एभरेस्ट मममा जागिर पाए । महिनाको ४ सय तलब, दैनिक एक प्लेट मःम खाजा । उनले यो कुरा सुनाए आफ्ना दाजुका साथी खेमराज लकाईंलाई । खेमराजजीले नै गणेशजीलाई मिड टाउनमा जागिर लगाइदिएका थिए । गणेशजीले सोचेका थिए, उनको कुरा सुनेर खेमराजजी खुसी हुनेछन्, तर भएनन् । खेमराजलाई गणेशजीको भविष्यको चिन्ता थियो । उनले गणेशजीलार्ई फेरी मिड टाउनमै पठाए ।
त्यसपछि उनको तालिम सुरु भयो ।
गणेशजी काममा दक्ष हुँदै गए । उनी मानिस थिए नेता कोटीका, उनका अगाडि–पछाडि हिंड्ने मानिस निकै हुन्थे । मानिस रसिक थिए, मिठासपूर्ण स्वभावका । २०५० देखि २०५२ साल सहर घुमेरै बिताए, खासै काम गरेनन् । सेफको काम सिकिसकेका थिए र ढुक्क थिए । त्यस क्रममा उनले राम्रा–राम्रा कपडा लगाउने र घाँटीमा सिक्री लर्काउने सोख पूरा गरे । २०५३ सालमा ‘फुड डिप्लोमा’ पढन उनी थाइल्यान्डको राजधानी बैंकक पुगे । त्यहाँको आतिथ्यभाव देखेर प्रभावित भएका गणेशजी दस वर्ष उतै रमाए । फर्केर उनी वानथाईमा काम गर्न थाले । साथै, रोयल थाई रेस्टुराँ पनि खोले । पछि वानथाईको स्वामित्व गणेशजीकै हातमा आयो । अहिले वानथाईका तीनवटा आउटलेट छन् । उनको जोड पनि वानथाईकै प्रवर्द्धनमा छ ।
एसियाका भोजन (फुड) उत्पादकमध्येबाट ‘सिइओ अफ दि इयर–२०१८’ को उपाधि जितेका गणेश ढकालले आफ्नो भाग्यको रेखा आफैं कोरे । अहिले उनी आफ्नो व्यापार प्रवर्द्धन गर्ने मनस्थितिमा छन् । अब उनी ठिमीमा थाई शैलीको रिजोर्ट खोल्दैछन् । उक्त रिजोर्टलाई नेपालीका लागि आनन्ददायक स्थान बनाउने उनको योजना छ ।
मीठो र स्वस्थ्यकर थाई भोजन बनाउने कलामा गणेश ढकालजी माहिर छन् । वानथाईको दरबारमार्ग, जावलाखेल र महाराजगन्ज आउटलेटको रेसिपी गणेशजी आफैं तयार गर्छन् । उनी आफैं प्रायः महाराजगन्जमा भेटिन्छन्, तर दरबारमार्ग र जावलाखेल पनि पुगिरहेका हुन्छन् । दरबारमार्गमा उनको अर्को रेस्टुराँ पनि छ– ‘इम्परर ।’
वानथाईले झन्डै ३ सय जनालाई रोजगारी दिएको छ । यो कान्तिपुरका भोजन प्रेमीहरूको लोकप्रिय गन्तव्य पनि हो । विभिन्न रेस्टुराँका सेफहरूले गणेशजीको रेसिपीअनुसार भोजन तयार गर्नुपर्ने भएकाले स्वाद र गुणस्तरको ग्यारेन्टी रहने दाबी छ उनको । वानथाई रेस्टुराँले भोजनमा अजिनोमोटो, तेल र प्रत्यक्ष नुन प्रयोग गर्दैन । त्यहाँ नुन र तेलको स्रोत माछा नै हो ।
तुलनात्मक रूपमा वानथाई ‘अफोर्डेबल’ रेस्टुराँ हो । यहाँको तोमयाम सुप निकै चलेको छ । यो ठाउँ लब्सटर र सालमोन माछाका लागि समेत चर्चित छ । महाराजगन्जको वानथाई पुग्नुहोस्– गणेशजी स्वागतका लागि तयार भेटिन्छन् । आफनो व्यस्त समयबाट अलिकति टाइम निचोरेर ग्राहकसँग रमाइलो कुरा गर्नु त गणेशजीको स्वभाव नै हो ।