श्रावण १४, २०७६
तिमीलाई धार बन्नु भनेर
म आफू बनिदिएथें अचानो
सम्झेथें, खेल यस्तै हुन्छ प्रेमको
आयौ पुतली बनेर
फूलको हाँगा जस्तो हृदय छोडिदिए
बास बस्यौ, तिम्रै आगन हो
नाँच्नु, गाउनु तिम्रो कला
अहो ! जिन्दगी हरियो भैगएथ्यो
नाथे हुरी के नाचेथ्यो, झरी के परेथ्यो
तिम्ले बिर्सियौ, हुरीभन्दा छिटो उड्यौ
मलहम लगाउनु थिएन तिमीलाई
बस् लगाउनु थियो– घाउ
नाथे म पनि उस्तै
तिम्ले लगाइदिएको घाउ
मायाले सुमसुम्याइरहेछु ।