साप्ताहिक संवाददाता
असार १५ गते नेपालमा जसरी घुमघामका साथ दही–चिउरा खाइयो त्यसरी नै साउन १५ गते खीर खाने चलन छ । यो चलन अहिले खेती किसानीमा लाग्नेहरूबीच मात्र नभएर अन्य पेसामा रहेका व्यक्तिहरूमा समेत लोकप्रिय हुँदै गएको छ । साउन १५ गते नेपालमा विशेषत चामल, दूधका साथ अन्य सुक्खा फलहरूको मिश्रणबाट तयार पारिएको खीर खाइन्छ । दूधलाई उमालेर विभिन्न किसिमका अन्न, फल आदि खानेकुरा मिसाई तयार पारिने खीरका पनि विविध रुप एवं स्वाद छन् ।
गढवाली खीर
भिजाइएको चामल दूधमा पकाउने, उम्लिएपछि सुकमेलको धूलो हाल्ने अनि अर्को कराहीमा काजु र किसमिसलाई हल्का रातो हुन्जेल घिउमा पकाउने । यस्तै अर्को भाँडोमा सख्खरको धूलोमा पानी हालेर बाक्लो घोल बनाउने । दूध र भात पकाइएको भाँडोमा हल्का रातो भएको आधा भाग काजु र किसमिस हालेर पकाउने अनि सख्खरको बाक्लो घोल दूध र भात भएको भाँडोमा हालेर राम्रोसँग चलाउने । यसलाई सर्भ गर्दा बाँकी रहेको काजु र किसमिसले गार्निस गर्नुपर्छ । चिनी रहित यो खीर मधुमेहको समस्या भएकाहरूले पनि खान मिल्ने किसिमको हुन्छ ।
मिक्स फ्रुट खीर
नासपति, आरु बखडा, स्ट्रबेरी तथा आरुलाई स–साना टुक्रा पारी बटर तथा चिनीसँगै पकाउने । पाकेको भातलाई कराहीमा बटर हालेर चलाउँदै मिसाउने । त्यसमा दूध हाल्ने र कर्नस्ट्राचलाई पानीमा घोलेर दूध र भात सँगै मिसाउने अनि चलाउँदै बाक्लो हुन्जेल पकाउने । त्यसमा आवश्यकताअनुसार चिनी पनि हाल्ने । अन्त्यमा तयार पारेर राखिएको फ्रुट हाल्ने । यो खीर तातोभन्दा पनि चिसो बनाएर खाँदा स्वादिष्ट हुन्छ ।
स्याउको खीर
स्याउलाई स–साना टुक्रामा काटेर चिनी पानीमा पकाउने र अर्को भाँडामा दूधमा घोलेर दुई चम्चा कर्नफ्लोर पकाउने । दूध उम्लिएपछि चिसो बनाउने र त्यसमा पकाइएको स्याउको टुक्रा हालेर चलाऊने अनि ओखरको टुक्रा छर्केर सर्व गर्ने ।
लौकाको खीर
हरियो लौकाको बोत्रा र गुदी हटाएर कोरेसोमा कोर्ने । यसरी कोरिएको लौकालाई हल्का पानी हालेर पकाउने र पानी निथारेर राख्ने । अर्को भाँडामा दूध उमाल्ने । उम्लिएको दूधमा भिजाइएको साबुदाना पकाउने । केही बेर चलाएर पकाएपछि उमालिएको लौका हालेर थप पकाउने । त्यसमा खुवा हाली चलाउँदै पकाउने । यसरी पकाउने क्रममा सुकमेलको धूलो, काजु, किसमिस तथा पेस्ताको टुक्रा पनि हाल्ने र काजु पिँधेर तयार पारिएको घोल मिसाई चलाउँदै पकाउँदै जाने । जब खीर बाक्लो हुन थाल्छ त्यसपछि चिनी हालेर केहीबेर चलाएर झिक्ने । अन्त्यमा काजु र किसमिसको टुक्रा गार्निस गरी सर्भ गर्ने । यो खीर विशेषतः हैदरावादमा खाइने हुनाले यसलाई हैदरावादी खीर पनि भनिन्छ ।