साप्ताहिक संवाददाता
वर्षायाममा पानी तथा पसिनाले केशको स्वास्थ्यमा नकारात्मक असर पार्छ । यतिबेला केश तैलीय तथा चिपचिप हुन्छ ।
धेरैले यतिबेला उच्च केमिकलयुक्त तथा अल्कोहलबेस सेम्पु प्रयोग गरेका हुन्छन् । यसले केश थप सुख्खा हुन्छ ।
वर्षामा केश चिलाउने, झर्नेका अतिरिक्त ब्याक्टेरिया तथा फंगल इन्फेक्सनजस्ता समस्या पनि देखा पर्छन् । वर्षातको पानी एसिडिक हुनुका साथै त्यसमा हावामा भएको फोहोरसमेत मिसिएको हुन्छ ।
केशलाई वर्षातको पानीबाट जोगाउनुपर्छ । यसका लागि साथमा छाता राख्नुपर्छ भने टोपी भएको वाटरप्रुफ ज्याकेट प्रयोग गनुपर्छ । केश वर्षाको पानीले भिजिहाले सफा गरेर नुहाइहाल्नुपर्छ ।
यो मौसममा कम्तीमा पनि सातामा दुई पटक नुहाउनुपर्छ । नुहाउँदा स्काल्प तथा केशको जरासम्म सफा हुने गरी राम्रोसँग सेम्पु गरी दुई–तीन मिनेट मसाज गरेर मात्र पखाल्नुपर्छ । माइल्ड, नरिस्ट तथा डिप क्लिनजिङयुक्त सेम्पु छनौट गर्नुपर्छ । यसले केशलाई चाहिने पोषण प्रदान गर्नुका साथै वर्षातको पानीमा जमेर बसेको फोहोर राम्रोसँग सफा गरी ब्याक्टेरिया तथा फंगलको संक्रमणबाट जोगाउँछ ।
स्काल्पमा तैलिय चायाँ छ भने नुहाउनुअघि ५ मिनेट स्काल्पमा छुने गरी राम्रोसँग
केश कोर्नुपर्छ ।
वर्षायाममा केश खुल्ला छोड्नु राम्रो हुन्छ । केश बाट्दा पसिना तथा वर्षातको पानीले लुक्ने ठाउँ पाउँछ । यसले गर्दा केश गन्हाउनुका साथै फंगल तथा ब्याक्टेरिया इन्फेक्सनजस्ता समस्या देखा पर्न सक्छन् ।
यो केश छोटो बनाउने उपयुक्त समय पनि हो । छोटो केश स्याहार्नसमेत सजिलो हुन्छ ।
आइरन, ओमेगा–३, फ्याटी एसिड आदि सेवन गर्दा पनि केश बलियो हुन्छ । सातामा कम्तीमा पनि एकपटक नेचुरल हेयर प्याक तथा दुई हप्तामा एक पटक हेयर स्पा गर्नु लाभदायक हुन्छ ।