नयाँ पुस्ताको  मेहनतले खुशी दिन्छ

- साप्ताहिक संवाददाता

श्रावण १७, २०७६

रिमा विश्वकर्मा नेपाली म्युजिक भिडियो तथा चलचित्रमा स्थापित नाम हो । टेलिभिजन प्रस्तोता हुँदै म्युजिक भिडियो एवं चलचित्रमा आएकी रिमा ‘नेपाल आइडल’ को होस्टसमेत थिइन् । रिमा चाँडै नै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको ‘कमेडी च्याम्पियन’ पनि  होस्ट गर्दैछिन् । रिमाले साप्ताहिकसँग आफूलाई खुसी लाग्ने कुरा यसरी साटेकी छिन् :

आफन्तसँग समय बिताउँदा

आफ्ना नजिकका मान्छे, मनपरेका मान्छे तथा परिवारका सदस्यहरूसँग समय बिताउँदा खुसी लाग्छ । उहाँहरूसँग म बाहिर घुम्न पनि जान्छु । सँगै डिनर–लञ्च गर्छु । कुनै फनि व्यक्तिको व्यत्तिगत खुसीमा सहभागी हुन पाउँदा पनि मलाई खुसी लाग्छ ।

साथीभाइहरूसँग बस्दा

नजिकका साथीभाइसँग बस्दा वा घुम्न निस्कँदा पनि म निकै खुसी हुन्छु । उनीहरूसँग घुम्दा नयाँ–नयाँ कुरा सिक्न–जान्न पाइन्छ । रमाइलो कुराकानी हुन्छ ।

सोचेको कुरा पुग्दा

म हरेक काम योजनाबद्ध किसिमले गर्छु । म जुन सोच र उद्देश्यका साथ काम गर्छु अहिलेसम्म ती सबै जसो पूरा भएका छन् । आफ्नो उद्देश्य पूरा गर्न योजनाबद्ध किसिमले काम गर्ने भएकाले पनि सधैं खुसी रहन्छु । 

नयाँ पुस्ताको मेहनत देख्दा 

अहिलेको पुस्ता फेसबुक र इन्टरनेटमा मात्र व्यस्त हुन्छ, उनीहरू रचनात्मक काममा ध्यान दिँदैनन् भन्ने आरोप छ । मैले १८ वर्षका एक जना भाइ भेटेको थिएँ । उनले युट्युबबाट सिकेर आफ्नै नयाँ काम सुरु गरेका रहेछन् । खासगरी अहिलेको नयाँ पुस्ताको रचनात्मक काम देखेर मलाई निक्कै खुसी लाग्छ ।

स–साना कुरामा खुसी

कसैले मलाई उपहार प्रदान गरे भने त्यो उपहारले मलाई खुसी दिन्छ । म पनि अरुलाई उपहार दिन्छु । म प्रति उहाँहरूको मायाले पनि मलाई खुसी दिन्छ । मेरो कामबाट प्रभावित भएर मलाई उपहार दिँदा त्यसबाट बेग्लै खुसी प्राप्त हुन्छ । 

प्रकाशित :श्रावण १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्