साप्ताहिक संवाददाता
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘गुड मर्निङ नेपाल’का सञ्चालकमध्ये एक समीर दीक्षित यसै साता प्रदर्शनमा आएको चलचित्र ‘न यता न उता’को प्रमुख भूमिकामा प्रस्तुत भएका छन् । चलचित्र ‘हाइवे’बाट निर्माताका रूपमा चलचित्रमा डेब्यु गरेका समीर थिएटर कलाकार पनि हुन् । यो चलचित्रमा उनी ४० वर्ष कटेको चरित्रमा छन् । अर्का कलाकार मिराज रोशसँगै प्रमुख भूमिकामा देखिने समीरलाई चलचित्रमा मिराजले नै निर्देशन गरेका छन् ।
समीरका अनुसार चलचित्रमा उनले अहिलेको उमेरभन्दा निकै पाको भूमिकामा अभिनय गरेका छन् । ‘म दाह्री–कपाल फुलेको, ठूलो भूँडी भएको चरित्रमा प्रस्तुत हुँदैछु । मिडलाइफ क्राइसिसमा केन्द्रित यो चलचित्रले दर्शकलाई जबरजस्ती हँसाउँदैन । चलचित्र मनोरञ्जक छ, यसमा कथाअनुसार दर्शक हाँस्छन् । हामीले नेपाललाई चिनाउने किसिमको चलचित्र बनाएका छौं’, दीक्षित भन्छन्, ‘मलाई बाल्यकालदेखि नै चलचित्रमा अभिनय गर्ने खुब रहर थियो । त्यो आज आएर न यता न उताले पूरा गरिदिएको छ ।
चलचित्रमा हृष्टपुष्ठ शरीर, राम्रो अनुहार भएकाहरूले मात्र चलचित्रमा अभिनय गर्न सक्छन् भन्ने तथ्यलाई चुनौती दिँदै म आफैं हिरो भएको छु । यो चलचित्र लामो समय विदेश बसेर पनि केही गर्न नसकेका दुई लुजर नेपाल फर्किएपछिको कथामा केन्द्रित छ ।’
निर्देशक मिराजले यो चलचित्रले सामाजिक सन्देश दिने कुरा बताए । ‘जो–कोही मानिस आफूले देखेको सपना पूरा नहुँदा निराश हुन्छ, तर यो चलचित्रले यस्ता सपना पूरा नभए पनि प्रयास जारी राखे लक्ष्यमा पुग्न सकिने सन्देश दिन्छ । म १० वर्षदेखि जर्मनीमा बस्दै आएको छु । जर्मनीमा मैले ४० कटेपछि घरजम गरेका धेरै दृश्य देखेको छु ।
नेपाली समाजमा पनि कतिपय महिला–पुरुषले ४० वर्षपछि विवाह गर्न थालेका छन्’, मिराज भन्छन्, ‘४० वर्षसम्म काम गर्ने, पैसा कमाउने अनि विवाह गर्ने चलन हामीकहाँ पनि चलिसकेको छ । यस्तै कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ । हाम्रो चलचित्र पूर्ण रूपमा व्यवसायिक छ । हामीले एवार्ड प्राप्त गर्न चलचित्र बनाएका होइनौं ।’ यो चलचित्र लमजुङ, काठमाडौं तथा लन्डनमा ४० दिन लगाएर छायांकन गरिएको हो ।
ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्र न यता न उतामा ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, किरण राई आदिले समेत अभिनय गरेका छन् ।