साप्ताहिक संवाददाता
नेपाली सुगम संगीतमा चिनिएको नाम हो – गायक कन्हैया सिंह परियार । उनले थुप्रै गीतमा आफ्नो गला भरेका छन् । ‘तिम्ले भूल्न सके पनि मैले भूल्न सकिन भो’ जस्ता लोकप्रिय गीतका गायक कन्हैया सिंह परियारले केहि राष्ट्रिय तथा पप गीतमा समेत स्वर दिएका छन् ।
गायक कन्हैया सिंह परियारले नेपाली गीत/संगीतमा लामको समय बिताएका छन् । हाल अमेरिकाको न्यूयोक शहरमा बस्दै आएका कन्हैया सिंहले नेपाली गीत/संगीतलाई बिस्तार गर्नका लागि पनि महत्वपूर्ण भूमिका खेलेका छन् । अर्न्तराष्ट्रिय विभिन्न संघ–संस्थामा रहेर नेपाली गीत/संगीत र कलाका निम्ती काम गर्दै आएका गायक सिंहलाई स्वदेशमा रजत सम्मान प्रदान गरिएको छ ।
सुन्दरादेवि सन्देशले आयोजना गरेको ‘सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड’मा सिंहलाई यो वर्षको ‘सुन्दरादेवी सन्देश रजत सम्मान’ प्रदान गरिएको हो । शुक्रबार थाइल्याण्डको पताया शहरमा सम्पन्न अवार्ड कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो । नेपाली गीत संगीतका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सिंहलाई यो अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
कामको सिलसिलामा परिवार सहित अमेरिका बस्दै आएका गायक सिंह केहि दिन अघि मात्रै स्वदेश फर्किएका हुन् । गायक सिंहको परिवारनै सांगीतिक परिवार भएकाले पनि गीत/संगीत प्रति अझैं धेरै हौसला र केहि गरौं भन्ने कर्तव्य बोध भैरहने सिंह बताउँछन् । विदेश बसेरै पनि हरेक वर्ष देश आएसँगै गीत संगीत रेकर्ड गर्दै आएका सिंहले अमेरिकामै पनि गीत/संगीतका विविध कार्यक्रम गर्दै आएका छन् ।
चर्चित गायिका अञ्जना गुरुङ् गायक कन्हैया सिंहकी श्रीमती हुन् । उनीहरुकी छोरी अपेक्षा सिंह पनि कला क्षेत्रमा प्रवेश गरिसकेकी छिन् । केहि समय अघि एक गीतको म्यूजिक भिडियोमा अभिनय गर्दै कला क्षेत्रमा देखा परेकी सिंहकी छोरी छिट्टै एक तीज गीतको म्यूजिक भिडियोमा देखिदै छिन् ।