साप्ताहिक संवाददाता
भनिन्छ– कला, साहित्य, संगीत, अभिनयजस्ता ललितकलाका विभिन्न विधामा नाम र प्रसिद्धि कमाउने हरेक कलाकारसँग नैसर्गिक क्षमता हुन्छ । जोसँग नैसर्गिक क्षमता छ उसले मात्र कलाको क्षेत्रमा प्रसिद्धि कमाउन सक्छ । यद्यपि बलिउडको हकमा यो कुरा कमै लागू हुन्छ । त्यसो त बलिउडमा क्षमता र योग्यताका आधारमा स्थापित भएका कलाकारहरू नभएका होइनन् । आफ्नो क्षमता र संघर्षको बलमा बलिउडमा स्थापित भएर नाम तथा दाम कमाउने कलाकारहरूको कुनै कमी छैन । तैपनि अहिले बलिउडमा जमेका कलाकार तथा प्राविधिकहरूका छोराछोरीले बलिउडमा सहज रुपमा प्रवेश पाउने गरेका छन् ।
आफ्नो समयकी सुपरस्टार श्रीदेवी तथा निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुर (चलचित्र धडक) एवं सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान (चलचित्र केदारनाथ र सिम्बा) ले बलिउडमा दह्रोसँग पाइला टेकेपछि बलिउडको ढोका ढकढक्याउन अन्य स्टार छोराछोरीहरूसमेत तयारी अवस्थामा छन् । यस्ता स्टार छोराछोरीको संख्या दुई दर्जनको हाराहारीमा छ ।
स्टारपुत्रकै कुरा गर्ने हो भने यो सूचीमा सबैभन्दा अगाडि आफ्नो समयका सफल अभिनेता सनी देवलका छोरा करण देवल छन् । निर्माणाधीन चलचित्र पल पल दिलके पासबाट बलिउडमा पदार्पण गर्न लागेका करण देवलको उक्त चलचित्रलाई सनी देवल स्वयंले निर्देशन गरेका छन् । सनी देवलका अनुसार करणपछि उनले करणका भाइ राजविर देवललाई पनि बलिउडमा लन्च गर्नेछन् । उता जावेद जाफरीका छोरा मिजान जाफरी सन्जयलिला भन्सालीको चलचित्र मलालमार्फत् बलिउडमा पदार्पण गर्दैछन् । यही चलचित्रमार्फत् सन्जयले आफ्नी भान्जी सर्मिन सहगललाई अभिनेत्रीका रुपमा प्रस्तुत गर्दैछन् । उता बलवान नायक सुनिल सेट्टीका छोरा आहान सेट्टीलाई निर्देशक मिलन लुथरियाले आफ्नो आगामी चलचित्रमा प्रस्तुत गर्दैछन् । यसैगरी आफ्नो समयकी कामुक अभिनेत्री पूजा वेदीकी छोरी आलिया इब्राहिम फर्निचरवालाले पनि बलिउडमा प्रवेश पाउँदैछिन् । आलियाले अपकमिङ चलचित्र जवानी जानेमनमा सैफ अली खानकी छोरीका रूपमा चलचित्रको मुख्य चरित्र निर्वाह गर्दैछिन् ।
यो सूचीमा रहेका स्टार किड्सहरूमध्ये चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले स्टुडेन्ट अफ दि इयर–२ बाट बलिउडमा पदार्पण गरिसकेकी छिन् भने मोहनिस बहल तथा एकताकी छोरी प्रनुतन बहलले नोटबुकबाट बलिउडको ढोका ढकढक्याइसकेकी छिन् । यो सूचीमा टेलिभिजनका चर्चित अभिनेता राजेश खट्टर तथा नीलिमा अजिमका छोरा इसान खट्टर पनि छन् । इसानले चलचित्र धडकमा जान्हवी कपुरको अपोजिटमा निर्णायक भूमिका निर्वाह गरिसकेका छन् ।
अब कुरा गरौं, निकट भविष्यमा देखा पर्न सक्ने स्टार किडहरूको । यो सूचीमा सबैभन्दा अगाडि गोविन्दाका छोरा यशवर्द्धन आहुजा छन् । यशवर्द्धन आहुजालाई डेभिड धवनले आफ्नो आगामी चलचित्रमार्फत् बलिउडमा इन्ट्री गराउने वचन दिएका छन् । उता चंकी पाण्डेका भतिजा आहान पाण्डे, साहरूख खानका छोरा आर्यन खान, अक्षयकुमारका छोरा आरब भाटिया, सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खान, आमिर खानका छोरा जुनेद खान पनि बलिउडमा इन्ट्रीका लागि आवश्यक तयारी गरिरहेका छन् । उनीहरूले अभिनय गर्ने चलचित्रको घोषणा कुनै पनि बेला हुनसक्ने बलिउड सूत्रको दावी छ ।
निकट भविष्यमा बलिउडमा इन्ट्री गर्ने स्टार किडहरूमा छोराहरू मात्र नभै छोरीहरू पनि छन् । यस्ता छोरीहरूमा श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर, निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप, साहरूख खानकी छोरी सुहाना खान, आमिर खानकी छोरी इरा खान, दीपक तिजोरीकी छोरी समारा तिजोरी तथा जावेद जाफरीकी छोरी आलाभिया जाफरी अग्रस्थानमा छन् । त्यसैगरी अभिताभ बच्चनकी छोरीतिरकी नातिनी तथा श्वेता नन्दाकी छोरी नब्या नवेली नन्दा तथा सञ्जय कपुरकी छोरी शनाया कपुरले भने पर्दामा नभै पर्दा पछाडि चलचित्र निर्माणको प्राविधिक पक्षमा आफूलाई स्थापित गर्ने योजना बनाएका छन् ।