साप्ताहिक संवाददाता
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनी तस्बिरको चर्चा सेलाउन नपाउँदै अभिनेत्री सुष्मा कार्की पनि त्यस्तै पहिरनमा प्रस्तुत भएर चर्चामा आएकी छिन् । सुष्मा आफैंले ग्ल्यामरस स्वीमिङ कस्टुम लगाएको तस्बिर फेसबुकमा अपलोड गरेपछि केही अनलाइनमा ती तस्बिरसहित समाचार प्रकाशित भए । तस्बिर प्रकाशित भएलगत्तै नकारात्मक चर्चा चल्न थालेपछि सुष्माले फेसबुकबाटै आफ्नो आक्रोश पोखेकी छिन् । सुष्माको भनाइ छ— ‘स्वीमिङ पुलमा कुर्ता लगाएर स्वीम गर्नु पर्ला अब ।’
उनको आक्रोश यतिमै सीमित छैन । कार्कीले थपेकी छिन्— ‘काम नपाएकाहरू पैसा कमाउन अरूको फेसबुकबाट फोटो तान्दै न्यूज बनाउने...भिखारीहरू अर्काको फोटो युज गरेर पैसा कमाऊ...।’ उक्त स्टाटस लेखेको केही समयपछि नै उनले स्वीमिङ कस्टुमकै अर्को तस्बिर सार्वजनिक गर्दै लेखिन्— ‘यो पिक्चर पनि अब भाइरल...।’ सुष्माको पछिल्लो स्टाटस हेरेपछि के अनुमान लगाउन सकिन्छ भने उनले अनलाइन तथा युट्युब च्यानलहरूलाई चिढाउनैका लागि त्यस्ता तस्बिर अपलोड गरेकी हुन् ।