साप्ताहिक संवाददाता
राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा गत साउन १० गतेदेखि मञ्चन भैरहेको नाटक ‘मीमांसा’ एक मनोचिकित्सकले अर्को व्यक्तिको आत्मासम्म पुग्न गरेको प्रयासमा केन्द्रित छ । यो नाटकको प्रारम्भले एउटा लाश, प्रहरीको समूह र अर्का गैरप्रहरीलाई देखाए पनि यही दृश्यबाट नाटकको पृष्ठभूमि खुल्दै जान्छ । नाटकमा मनोचिकित्सक डा. हरिहर सिग्देलको चरित्रमा नाट्यकर्मी सुनिल पोखरेल तथा डा. अतुल चापागाईंको चरित्रमा राजकुमार पुडासैनी छन् ।
यो नाटकमार्फत रंगकर्मी सुनिल पोखरेल झन्डै सात वर्षपछि रंगमञ्च अभिनयमा फर्किएका छन् । नाटकमा सुनिलले आफ्नो प्रस्तुतिलाई सामान्य अभिनयमार्फत न्याय दिएका छन् । उनका सहयोगी राजकुमार पुडासैनीले पनि ज्वलन्त अभिनय गरेका छन् । घटनाको अनुसन्धान अधिकृतका रूपमा देखिएका कलाकार विजय बराल कहिले हँसिलो त कहिले गम्भीर मुद्रामा देखिन्छन् ।
उनको अभिनयमा खोट लगाउने ठाउँ देखिँदैन् । प्रत्येक दृश्यमा देखिने अन्य पात्रको काम सन्तोषजनक नै छ । नाटकको मञ्च सजावट आकर्षक लाग्छ । पृष्ठभूमिमा बज्ने धुनले पनि दृश्यलाई केही हदसम्म न्याय दिएको छ । नाटकमा निशा पोखरेलको अभिनय भनिए पनि उनलाई दृश्यमा देख्न त पाइँदैन, तर आवाज भने सुन्न पाइन्छ ।
सबैथोक राम्रो हुँदा हुँदै पनि यो नाटकका केही दृश्य लामा लाग्छन् भने नाटकमा प्रयोग गरिएका कतिपय वाक्यको अर्थ बुझ्न गाह्रो पर्छ । आरोहण गुरुकुलले निर्माण गरेको यो नाटक साहित्यकार शंकर लामिछानेको कथा ‘आत्माको मीमांसा’मा आधारित छ जुन साउन साउन ३२ गतेसम्म मञ्चन हुने बताइएको छ ।