साप्ताहिक संवाददाता
प्रकाश केसी, मिक्सिङ इन्जिनियर, ड्रिम्स स्टुडियो
म्युजिक एरेन्ज के हो ?
संगीतकारको कम्पोज (संगीत) को भाव बुझेर त्यसलाई पूर्णता दिन अरू पनि बाजाको सही संयोजन गरेर नयाँ धुन सिर्जना गरी एउटा पूर्ण गीत बनाउने काम नै म्युजिक एरेन्ज हो ।
यो काम कसरी गरिन्छ ?
शब्दको भाव र कम्पोजरको संगीतको भावअनुसार म्युजिक बनाउने काम सफ्टवेयरमा गरिन्छ भने कतिले नोटेसन लेखेर गर्छन् ।
एरेन्ज सिक्न के गर्नुपर्छ ?
पहिलो कुरा त संगीत सिक्नुपर्यो । त्यसका लागि पूर्वीय र पाश्चात्य संगीत सिक्नुपर्छ भने बाजाहरूको ज्ञान पनि अत्यावश्यक छ । आधुनिक प्रविधिमा काम गर्न कम्प्युटरको ज्ञान पनि आवश्यक छ ।
यो काम कत्तिको झन्झटिलो छ ?
निकै गाह्रो छ । यसमा समय खर्च गरेर मात्र हुँदैन । भावनामा डुब्न आवश्यक छ ।
संगीतमा एरेन्जको महत्व कति छ ?
धेरै नै छ । यसले कुनै पनि गीतलाई पूर्णता दिन्छ ।
एरेन्जरले जान्नुपर्ने आधारभूत कुराहरू के–के हुन् ?
पहिलो कुरा संगीतको अध्ययन गर्नुपर्छ । कुनै पनि कुरालाई हृदयदेखि नै महसुस गर्ने क्षमता हुनुपर्छ । कम्प्युटरको ज्ञान पनि आवश्यक छ । बाजाहरूको ज्ञान पनि हुनुपर्छ भने म्युजिक सिर्जना गर्ने सफ्टवेयरका बारेमा समेत अध्ययन गर्नुपर्छ ।